सम्पादकीय
दुनियाँको जुम्रा देख्ने नेपाली किन आफ्नो भैँसी देख्दैन ?
आज २१ मार्च । ५८ औं अन्तर्राष्ट्रिय जाति-रंगभेद उन्मूलन दिवस । विश्वभर मनाइने यो दिवसको एक मात्र सन्देश हो— ‘सबैले सबैसँग मानवीय व्यवहार गरौँ ।’
‘सबैले सबैसँग मानवीय व्यवहार गरौँ ।’ सुन्दा पाँच शब्द मात्र सजिलो छ, व्यवहारमा चाहिँ यो पाँच करोड वर्ष लाग्ने जस्तो जटिल बन्दै गएको छ । विश्वमा, पृथ्वीमा मानव मात्र यस्तो ‘राक्षस’ जनावर हो, जसले अरु जनावरलाई हिंस्रक, बुद्धिहीन, चेतनाहीन भन्ने हक गुमाएको छ । मानवता यदि भाव हो भने त्यो भाव मानवबाहेकका जनावरमा मात्र जीवित छ ।
यसैबीच काठमाडौँको शिल्पी थियटरमा ‘विमोक्ष’ नाटक चलिरहेको छ । घिमिरे युवराजद्वारा लिखित-अभिनीत अनि प्रवीण खतिवडाद्वारा निर्देशित नाटक ‘विमोक्ष’ दुई शब्दमा भन्दा मानवतावादी नाटक हो । यसमा सबै खाले हिंसा अन्त्यको आह्वान गरिएको छ । प्रेममा जात, उमेर, वर्ग, लिंग, धर्महरू नमिसियून् । प्रेम कुनै पनि हिंसामा नपरोस् भन्ने मूल सन्देश छ, नाटकको । सेक्स यस्तो सुन्दर साधना र आराधना होस्, जहाँ पश्चात्तापको आभास कसैलाई कहिल्यै नहोस् ।
महिला र दलित समुदाय दुवै हाम्रो समाजका पीडित–उत्पीडित समूह हुन् । धनी होस् वा गरिब, महिलाको जीवन अस्तित्वहीन छ । पुरुषसत्ताको जाँतोमा पिसिएको छ, जीवन । सगुना शाहले त्यस्तै महिलाको स्वाभाविक अभिनय गरेकी छन् ।
दलित समुदाय त वञ्चितीकरण मात्र होइन, बहिष्करण नै भोगिरहेको समूह हो । उनीहरू पहिचान लुकाएर बाँच्न विवश छन् । बस्नलाई कोठासमेत पाइँदैन । प्रेम गर्नलाई मुटुसमेत पाइँदैन । डेरा सर्न बाध्य पारिन्छ । प्रेम गरेकै कारण अनाहकमा ज्यान लिइन्छ । अहिले पनि शिक्षण अस्पताल महाराजगन्जमा अनाहकमा मारिएका प्रेमीहरूको शव जीवित छन् । जीवन त अन्यायमा छ नै, मृत्युमा पनि सम्मानको कुनै गुञ्जायस छैन । कमल घिमिरे बनेका सागर खाती कामी, दीप दर्नाल बनेका उनै घिमिरे युवराज अनि सगुना शाह र उनको फ्ल्यासब्याक बनेकी पवित्रा खड्काले शिल्पीमा देखाएको नाट्यशिल्प नेपालमा दिनरात देखिइरहेको तर नहेरिएको सवाल हो ।
महिला र दलितका सवालमा ‘विमोक्ष’ नाटक मुखर छ । तर, लामा–लामा संवादप्रधान नाटकले यति मात्र कथा भन्दैन । यसले धेरै विषयमा हात हालेको छ, मुख छोडेको छ, टाउको ठोकेको छ । आफूभित्रको मानवता जगाउन हरेकले यो नाटक हेर्नुपर्छ । थियटरमा यस खाले विचारप्रधान प्रस्तुति हुनु स्वागतयोग्य कुरा हो ।
पीडित–पीडितको संघर्षमा पीडक अनुपस्थित छ । तर, त्यो अनुपस्थित पीडक हरेकजसोको दिल–दिमागमा उपस्थित छ । घरी त्यो मुखर, घरी त्यो मौन रूपमा रहन्छ । यस्तो कलाले दर्शकको सोच परिवर्तन गर्न सघाउँछ । सोचान्तरण सबैभन्दा ठूलो परिवर्तन हो र यो जटिल पनि छ । संविधान र कानुन अनि व्यवहारको रुपान्तरण सोचान्तरणपछि मात्र सम्भव छ ।
कला (नाटक) हाम्रो समाज र समयको कथावाचक–व्यथावाचक हुनुपर्छ । यसले प्रचलित सोचको तलाउमा ढुंगा हान्ने प्रयास गर्नैपर्छ । दिनरात जातीय, लैंगिक हिंसाका घटना भइरहने समाज न न्यायपूर्ण छ, न उन्नत । कलाप्रधान, अमूर्त, ऐतिहासिक, साहित्यिक, भावुक नाटकको पनि महत्व त छ नै । तर, आफू उभिएको जमिनलाई र आफैँलाई प्रश्न गर्ने प्रयासको झन् ठूलो महत्व हुन्छ ।
सयमा एक जना पनि अनाहकमा मारिन्छ, बलात्कृत र बहिष्कृत हुन्छ भने त्यो ‘एक’ होइन, ‘सय’ हो । अन्याय, अपमान, हिंसा, तिरस्कार, शोषण, विभेद, छुवाछूत आदि संख्यावाचक–गणनीय नाम होइनन्, भाववाचक–अगणनीय नाम हुन् ।
बाहिरी दुनियाँका रंगभेदी, लिंगभेदी, धार्मिक संकीर्णताका आपराधिक घटनामा भावुक हुने, प्रोफाइल फोटो त्यस्तै राख्ने हाम्रो समाज आफ्नो समाजका भयानक अपराध किन नदेखेझैँ गर्छ ? उताका घटनाले चिमोट्ने, पिर्ने, आकुलव्याकुल नै बनाउने हो भने यता त्यस्ता घटना हुँदा किन मौन ? किन पीडकको पक्षपोषण ? किन बलात्कृत महिला र बहिष्कृत दलितलाई नै उल्टै दोषारोपण ?
साक्षरता, शिक्षा बढ्दै जाँदा चेतना पनि बढ्नुपर्ने होइन ? किन अमानवीय घटना भइरहन्छन् ? दुनियाँको जुम्रा देख्ने नेपाली किन आफ्नो भैँसी देख्दैन ?
के हाम्रो हुर्काइ नै संकीर्ण, साम्प्रदायिक भइरहेको हो ? हाम्रा परिवार, आफन्तले कस्तो शिक्षा दिन्छन् ? स्कुल–कलेजमा के पढाइन्छ ? रामचन्द्र पौडेल, केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालहरू सामाजिक सरोकारमा कहाँ छन् ? उनीहरू मिडिया–सोसल मिडियाबाट दिनरात कस्तो शिक्षा दिइरहेछन् ? दलित, महिला, मधेसी आदिबारे उनीहरूका अन्टसन्ट र असंवेदनशील महावाणीको सोसल अडिट भइरहेको छ ? मान्छेको फरक पहिचान, रूप, रंग, लिंग, यौनिकता, जातलाई सम्मान र स्वीकार गर्न किन यति गाह्रो भएको हो ?
वास्तवमा ‘विमोक्ष’ नाटकलाई १६ वर्षमुनिकाले पनि हेर्न मिल्ने बनाउन सकेको भए भाइबहिनी र छोराछोरीका प्रश्नले अभिभावकलाई केही चिमोट्थ्यो कि ? हाम्रा शिक्षालयले नानीहरूलाई जात र लिंगको राजनीति राम्ररी पढाइरहेका छैनन् । यस्तोमा ‘विमोक्ष’ शिक्षक हुन सक्थ्यो । स्कुले नानीहरूको सामाजिक शिक्षक हुने अवसर ‘विमोक्ष’लाई मिलोस् । परिमार्जनसहित स्कुल–कलेजतिर यो फैलियोस् ।
हामी जतिसुकै राजनीति र कूटनीति, संवृद्धि र समृद्धि, खुसी र सुखी, २१औँ शदी र २३ औँ साल, ह्यान र त्यानका गफ चुटौँँ, त्यहाँ मानवता मरेको छ भने त्यो ‘उपलब्धि’ केही काम छैन । मानिसले मानिस भएर बाँच्न पाउँदैन भने त्यहाँ खुसी र समृद्धि बाँच्छ र टिक्छ कसरी ? त्यहाँ मुर्दा शान्ति र सुषुप्त विद्रोह मात्र बाँच्छ । विद्रोह विध्वंसकारी पनि हुन सक्छ । त्यसैले पुरुषसत्ता र गैरदलितसत्ता समयमै क्षमाशील र उदार, लोकतान्त्रिक र न्यायप्रेमी भएको राम्रो ।
जन्मकै आधारमा, जन्मिँदै कोही अहंकारी र कोही पीडित बन्नुपर्छ भने त्यो समाजमा गम्भीर समस्या छ । गम्भीर समस्या भएको मान्छे खुसी हुनै सक्दैन, देश समृद्ध पनि हुनै सक्दैन ।
यो मार्च महिना, जसलाई महिला सवालको कुरा गर्ने महिना पनि मानिन्छ । यही दिवस र मासमा बलात्कृतहरूको प्राणहरण गर्ने प्रयास गरिएको छैन र ? अनि केको ठूला कुरा ? राज्यलाई न्यायपूर्ण बनाउने भन्दै नागरिकको कर खाएर कुर्सीमा पुगेका देशाधीश र न्यायाधीशहरूले बलात्कार आरोपितलाई जयजयगान गरिरहेका छैनन् र ? यही हो न्यायको अर्थ र परिभाषा ? किशोरीहरू, अझ शिशु–बालिका र हजुरआमाहरूसमेत हिंसामा पर्ने देशमा न्यायका ठूला कुरा किन ? न्यायालय नै फर्जी कागज र बयानका आधारमा केरमेटमय फैसला सुनाउँछ भने विश्वास र भरोसा कहाँ छ ?
आरोप आउँछ— यदाकदा हुने दुई–चारवटा घटनालाई उचालेर समग्र समाज नै खराब भन्ने ? विदेशमा पनि त छ विभेद र बलात्कार ?
यस्तै यस्तै क्रान्तिकारी र प्रगतिशील कुतर्कले हो हामी सुध्रिन नसकेको । सयमा एक जना पनि अनाहकमा मारिन्छ, बलात्कृत र बहिष्कृत हुन्छ भने त्यो ‘एक’ होइन, ‘सय’ हो । अंश होइन, सर्वस्व हो । अन्याय, अपमान, हिंसा, तिरस्कार, बलात्कार, शोषण, विभेद, छुवाछूत आदि संख्यावाचक–गणनीय नाम होइनन्, भाववाचक–अगणनीय नाम हुन् । भाव एक वा दुई भन्ने हुँदैन । भाव गणित होइन ।
एकातिर हरेकको मोबाइल फोनमा ‘जातका आधारमा हुने छुवाछूतको अन्त्य गरौँ, संविधान र कानुनको पालना गरौँ’ भनेर बजाउने, अर्काेतिर संविधान र कानुनको उल्लङ्घन सर्वोच्च कुर्सीहरूबाटै भइरहने ? यस्तो सन्देश कसलाई हो ? यस्तो समाज र राज्यबाट ‘विमोक्ष’ कहिले मिल्छ ?
(तस्बिर : शिल्पी थियटरमा मञ्चन भइरहेकाे 'विमाेक्ष' नाटकबाट।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया