सम्पादकीय
सम्पत्ति छानबिन गरे हजारौँ रघुनाथ भेटिनेछ
संसद्मा प्रस्तुत हुने बजेटमा करकै ‘कर दर’ हेरफेरमा संलग्न एक ‘दुस्साहसी पात्र’ पूर्वनायब सुब्बा रघुनाथ घिमिरेलाई एक किसिमको सजाय मिलेको छ, भ्रष्टाचारमा अभियुक्त बनेसँगै । २०७९–२०८० को बजेटको अन्तिम रूप दिँदै गर्दाको मध्यरातमा अर्थ मन्त्रालयभित्र घिमिरेको चकचकीले करकै दरमा तल–माथि शंका–सन्देह पैदा गर्यो, जसमा गहिरो छानबिन चाहिँ भएन । यद्यपि त्यतिखेर बजेटभन्दा बहुचर्चामा पूर्वनायब सुब्बा रघुनाथ घिमिरे आइपुगे । अझ त्यो मध्यरातको ‘सीसीटीभी फुटेज’ हेर्न र देख्न पाइएन । अर्थ मन्त्रालयले संसद्लाई समेत उपलब्ध नगराएपछि प्रकरणकै रूप लियो ।
उक्त प्रकरणमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रकरण सेलाउँदै थियो । त्यसमा संसदीय छानबिन गर्यो । तर, नाटकीय शैलीमा उन्मुक्ति दिएसँगै शर्मा फेरि अर्थ मन्त्रीकै कुर्सीमा पुगेका थिए ।
उक्त प्रकरणसँगै बहुचर्चामा आएका रघुनाथ घिमिरेको सम्पत्ति जाँचबुझ अख्तियारले गर्यो । आयोगले उनी र उनको परिवारसँग स्रोत नखुलेको गैरकानुनी सम्पत्ति जफत गर्ने उद्देश्यसहित भ्रष्टाचार मुद्दा चलाएको छ । अख्तियारको अनुसन्धानबाट उनी ७ करोड ३९ लाख ६२ हजार रुपैयाँभन्दा बढी सम्पत्तिका मालिक देखिन्छन् । उनको ५ करोड २५ लाख रुपैयाँ सम्पत्तिलाई वैध मानियो । अवैधको कोटीमा २ करोड १४ लाख रुपैयाँ राख्दै अख्तियारले भ्रष्टाचारको मुद्दा लगाएको छ । रघुनाथ र उनको श्रीमतीका नाममा खरिद जग्गा, घर, कम्पनी लगानी, शेयर खरिद र बैंक खाताबाट बिगो, बढे/बढाएको सम्पत्तिको बिगोसहित जरिवानाको माग गरिएको छ ।
जे भए पनि बजेटका करको चलखेलमा संलग्न एक पात्रलाई अभियुक्त बनाउन अख्तियार सफल भएको छ । सँगै घिमिरेको अवैध चलखेललाई मलजल गर्नेहरूविरुद्ध पनि अख्तियारले छानबिन गर्दै छ या छैन भन्ने चासो सर्वत्र बढेको छ । उक्त प्रकरणमा अख्तियारले राजनीतिक र उच्च प्रशासनिक वृत्तसम्म छानबिनको अस्त्र पुर्याउने ‘आँट’ गर्न सक्छ कि सक्दैन भन्ने हेर्न बाँकी छ । अनि अख्तियारले चाह्यो भने पाँच वर्षअघि नै सरकारी सेवाबाट बाहिरिएका कर्मचारीको सम्पत्ति जाँचबुझ गरी मुद्दा चलाउन सक्छ भन्ने तथ्य स्थापित भएको छ, रघुनाथ घिमिरे प्रकरणसँगै ।
पदबाहिर रहँदा करका दर हेरफेर गर्न सक्ने पात्रले पदमै रहँदा के–के गरे होलान् ? अख्तियारले उनीमात्र होइन कि उनीसँग जोडिएका पात्रहरूको सम्पत्ति जाँच गर्नुपर्छ, त्यसपछि मात्रै वास्तविकता उजागर हुन्छ । उनले विगतमा पनि करका दर हेरफेरका सूचना पहिल्यै चुहाउँदै व्यापारी र बिचौलियालाई लाभ पुर्याएका हुन सक्छन् । अनि एयरपोर्ट भन्सार, भन्सार कार्यालय, राजस्व अनुसन्धान विभागमा रहँदा तस्करी र राजस्व छल्नेहरूलाई लाभ पुर्याउँदै आफूले पनि लाभ लिएकै कारण उनीसँग अकुत सम्पत्तिको मात्रा बढेको अख्तियारकै अनुसन्धानमा देखिन्छ । अर्काे त, शासकीय वृत्तका पात्रसँग घाँटी जोड्न र करकै दर हेरफेर गर्ने सक्ने हैसियतमा पुग्न उनले ‘राम्रै खर्च’ गरेका हुन सक्छन् ।
सरकारी संयन्त्रबाट बाहिरिएपछि घिमिरले कम्पनी खडा गरी अख्तियारकै भाषामा भन्दा ‘गैरकानुनी सम्पत्ति’लाई वैध तुल्याउँदै थिए, व्यापार–व्यवसायका नाममा । रघुनाथ जसरी अरु सरकारी कर्मचारीहरू पदबाट बाहिरिएसँगै यसरी नै सम्पत्ति चोखो तुल्याउँदै होलान् । अख्तियारले अलि कति मात्रै सक्रियता प्रदर्शन गर्ने हो भने रघुनाथकै हैसियतमा पूर्व तथा बहालवाला कर्मचारी भेट्टाउन सक्छ ।
मुलुक बिचौलिया पथ हुँदै ‘सेटिङ’को मारमा परेको छ । यसरी नै आर्थिक विवादमा आएका पात्रहरूमाथि तत्कालै अनुसन्धान गर्ने र सजायको भागीदार बनाउन थाल्ने हो भने रघुनाथ जस्ता ‘दुस्साहसी’ पात्रहरूको मनोबल गिर्नेछ । त्यसरी ‘सेटिङ’को अस्त्र प्रयोग गरी संलग्न हुँदै रातारात अथाह अवैध सम्पत्तिका मालिक भएकाहरूमाथि कतैबाट प्रश्न नउब्जिएपछि तिनको मनोबल बढ्दै गएको हो ।
कारोबारीहरूले राज्य संयन्त्रका उच्च पात्र र उच्च अधिकारीहरूसँग ‘सेटिङ’ मिलाउँदै लाभ लिने र दिने दुष्कर्म ह्वात्तै बढ्नुको रघुनाथ घिमिरे शैलीले प्रचूरता पाउनु हो । अख्तियारले सम्पत्ति जाँचकै नीति अपनाउने हो भने अनगन्ती रघुनाथ घिमिरे फेला पर्नेछन् ।
यो प्रकरणमा रघुनाथ घिमिरे मात्र अभियुक्त बनेका छन् । उनको करको दर हेरफेरबाट लाभ लिएका सरकारी संयन्त्रका पात्र र कारोबारी चोखै रहनु ‘दुर्भाग्य’ हो । रघुनाथसँग जोडिएका कारोबारी र निर्णयकर्ता पनि अनुसन्धान दायरामा तान्दै ‘कारबाही’ दिलाएको खण्डमा मात्रै निष्कर्षमा पुगेको मानिन्छ । अर्थात्, घिमिरे त एक पाटो हुन्, अर्काे पाटोमा अख्तियार पुग्नुपर्छ । अनि मात्रै रघुनाथ जस्ता दुस्साहसीहरूको मनोबल खस्किनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया