सम्पादकीय
कसले लापत्ता बनायो किशोरको बाबु ?
–तिमी भविष्यमा के बन्छौ ?
म के बन्छु, विदेश जान्छु ।
–तिम्रो बाबा कहाँ हुनुहुन्छ ?
कहाँ हुनुहुन्छ, विदेशमा हुनुहुन्छ ।
–तिमी किन विदेश जाने ?
किन जाने, पैसा कमाउन जाने ।
–देशमा पैसा कमाउन सकिन्न र ?
हामी जस्तोले कहाँ सकिन्छ !
–किन सकिन्न ?
यहाँ हामीजस्तोले कहाँ काम पाउँछ !
–तिमी कतिसम्म पढ्ने ?
हामी जस्तोले किन पढ्ने, पढ्न छोडेँ मैले !
–किन छोडेको त यति सानैमा ?
धेरै पढिसकेछु मैले, सब चिनेछु अक्षर ।
–धेरै पढ्नु पो पर्छ त ?
गरिबले कहाँ पढ्नुपर्छ, काम पो गर्नुपर्छ ।
–घरमा कोको हुनुहुन्छ ?
घर कहाँ छ हाम्रो ?
–परिवारमा को को हुनुहुन्छ ?
परिवार नै कहाँ छ हाम्रो ?
–आफ्नो मान्छे को को हुनुहुन्छ ?
बिरामी आमा, चार जना दाजुभाइ, दिदीबहिनी हुनुहुन्छ ।
–ठूलो परिवार रहेछ !
कहाँ ठूलो छ, सानो छ । अझ धेरै जना भएको भए धेरैले कमाउँथ्यो, हामीलाई खान पुग्थ्यो ।
–आमा केको बिरामी ?
दबाई नगरेर बिरामी कसरी थाहा हुन्छ हँ ?
–किन नगरेको ?
कहाँ छ हामीसँग पैसा !
–बुवाले पठाउनुहुन्न ?
ऊ लापत्ता छ, उसको केही थाहा छैन ।
–तिम्रो भाइबहिनी स्कुल जान्छन् ?
कोही जाँदैन । किन जाने हामी ?
यो संवाद केही दिनअघि पाटन अस्पताल परिसरको हो । १३-१४ वर्षका देखिने रौतहटका किशोर आमाको उपचारमा थिए । उनी पालो पर्खाइमा थिए । संवाद त धेरै भएका थिए । तर, सम्झेर केही मात्र टिप्ने प्रयास गरियो ।
उनका कुराले बताउँछ, नेपालको हालको अवस्था । गरिबको हालत के छ, उनको सोझो उत्तरले बताउँछ । देश र विदेशको विमर्शमा उनीहरू जस्ता कहाँ छन् ? शिक्षाको उज्यालो घाममा उनीहरू कहाँ छन् ? स्वास्थ्य मौलिक अधिकार भन्ने बहसमा उनीहरू कहाँ छन् ? बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणको बहसमा उनीहरू कहाँ छन् ? देश बनाउने हाम्रा नीति तथा कार्यक्रमहरूमा उनीहरू कहाँ छन् ?
गरिब बनाइएको पात्र किन गरिबीको दुष्चक्रको कारक आफू ठान्छ ? यो ‘लोककल्याणकारी’ र ‘समाजवादउन्मुख’ देशमा उनीहरूका लागि सामाजिक सुरक्षा र न्याय भनेको के हो ? देशमा रोजगारीको अवस्था कस्तो छ ? परिवार कसरी भताभुंग भएको छ ? पिताहरू, पतिहरू कसरी गुमनाम बनेका छन्, बन्न बाध्य छन् ?
माथिको संवादका अंशले यो राज्य पूर्णतः फेल भएको स्पष्ट संकेत गर्छन् । निरपेक्ष गरिबीको रेखामुनि रहेका समुदाय, परिवारलाई राज्यको छहारी कहाँ छ ? तिरिएको कर पहुँचवालाको विलासितामा खर्च भएको छ । कर तिर्नेहरू कुपोषण लागेको बालकझैँ खिइँदै गएका छन् । किशोरको उत्तरले बताउँछ, उनीहरूलाई शिक्षा, स्वास्थ्य र राज्य सबै थोकबाट भरोसा उठिसकेको छ । किशोरलाई थाहा छ, उसको पिताजीलाई गायब यही देशले बनाएको हो । तर दिनदिनै गायब हुँदै गरेका किशोरका बाबुहरूसँगै यो देशको भविष्य गायब भइरहेको छ । जीवनमा अरु कुरा भन्दा पनि आश मर्नु, खतरनाक संकेत हो । शाषकहरूले यो संकेत देखेका छैनन् । देखे पनि महसुस गर्न सकेका छैनन् । यो शाषकहरूका लागि पनि निको संकेत होइन ।
गरिबको बिचल्लीमा टेकेर समाजवादको गुड्डी हाँक्नु शाषकहरूको भ्रम हो । यो भ्रमबाट शाषकहरू चाँडोभन्दा चाँडो मुक्त हुन जरुरी छ । नत्र भने त्यो दिन टाढा छैन गरिबको मुर्दा शान्तिले क्रान्तिको बिगुल फुक्छ । यो बेला बिचल्लीमा पर्ने पालो अहिलेका शाषकको हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया