सम्पादकीय

सम्पादकीय

क्रान्तिकारी ढोंग र झुटको खेती कहिलेसम्म ?

इकागज |
बैशाख ८, २०८० शुक्रबार १८:० बजे

तीस-चालीस वर्षदेखि राजनीतिमा हालीमुहाली उनीहरूकै छ । पार्टी उनीहरूकै कब्जामा छ । संवैधानिक र कानुनी संस्थामा कसै न कसै गरी उनीहरूकै वर्चस्व छ । झन्नै दर्जन पटक सांसद/मन्त्री भइसकेका छन् । दुई, तीन, चार, पाँच पटक प्रधानमन्त्री नै भइसकेका छन् । यो देशको सर्वाङ्गीण विकास होइन, सर्वाङ्गीण विनाशमा उनीहरूकै हात छ । तर, माथिबाट तलतिर फर्केर उनीहरू नै भनिरहेछन्, ‘देश संकटमा छ ।’ 

पुँजीवादको चर्काे विरोध गर्छन् अनि उनीहरूको जीवनशैली नै सबैभन्दा बढी पुँजीवादी छ । बहुराष्ट्रिय कम्पनीको चर्काे विरोध गर्छन्, तिनैले महँगा उत्पादन प्रयोग गरेको स्पष्टै छ । यो संसदीय व्यवस्थाको कामै छैन भन्छन् । सांसद किनबेचमा पुराना दललाई उछिनिसकेका छन् । शिक्षा र स्वास्थ्य व्यापारमा उनीहरू नै संलग्न छन्, अनि भन्छन् आफूलाई कम्युनिस्ट ।


समाजवादमा विश्वास हुनेले त समाजवादी संस्कार र दृष्टान्त देखाउनु नि । आफैँ जग्गा दलाल, मानव दलाल, शासन दलाल, देश दलाल बन्ने अनि कुरा गर्ने समाजवादको ? कम्युनिस्ट शासकहरूको दोगलापन धेरै भयो । अपारदर्शी जीवनशैली हुने कसरी सुशासनवादी नेता ? पदमा बसेका कति जनाले सर्वहारा नेताले हिम्मत गर्छन्– मेरो सम्पत्ति अनुसन्धान गर भनेर ।​

वर्षाैंदेखि पद ओगटेका नेताजीहरू नै भनिरहेछन् : देश खतरामा छ । देश संकटमा छ । देशको अस्मिता लुटिएको छ । देश रणभूमि बन्दै छ । देश भूराजनीतिक खेल मैदान बन्दै छ । देश अगाडि होइन, पछाडि धकेलिँदै छ । देश बर्बाद हुँदै छ । देश टाट पल्टिँदै छ । देश अब बन्न धेरै गाह्रो छ । यस्तो भन्ने नेताजीहरूलाई एकमुष्ठ एक मात्र प्रश्न छ– देश तपाईंले भने जस्तो संकटमा कसका कारणले पर्न गएको हो ? 

कर खाएर पदमा बस्ने तपाईंहरू अनि पदबाहिरबाट देश बिग्रियो ? के देश आम नागरिकले बिगारेका हुन् ? घरमुली बनेको तपाईं अनि घर बिग्रिएको दोष कसको ? घर छिमेकीले बिगारेका हुन् ? हुन् भने छिमेकीलाई छिराउने को ?

आफ्ना कारण घर बिग्रिएपछि घरमुलीबाट राजीनामा नगर्ने ? आफ्नै कार्यकालमा पार्टी खुम्चिएपछि जिम्मेवारी लिने कि नलिने ? मरुन्जेलसम्म पदमा बसेर मर्ने बेलामा पनि देश संकटमा छ भन्ने यो के ताल हो ? आफ्नो अक्षमताको दोष अरुलाई दिने यो कस्तो क्रान्तिकारिता हो ? देशी–विदेशी प्रतिक्रियावादी, षड्यन्त्रकारी, दरबारिया, विस्तारवादी र साम्राज्यवादी दलाल, सामन्ती, दलाल पुँजीवादी, नाफाखोर यस्तो गालीगलौज अब चल्दैन । कृत्रिम शत्रु खडा पनि अलि मौलिक पाराले गर्न सिकेको राम्रो हुन्छ । 

यो देशको अविकास, गरिबी, अशिक्षा, बेरोजगारी, युवा पलायनको सम्पूर्ण जिम्मेवारी पदमा बसिसकेका र बसेकाहरूको हो । असन्तुलित सहरीकरण, प्रदूषण, वातावरण विनाश र जग्गाजमिन बाँझो राख्ने परिणामको कारक तत्व दशकौंसम्म शासन गरेकाहरू नै हुन् । गणतन्त्रयता शिक्षा र स्वास्थ्य मन्त्रालय कम्युनिस्ट अझ माओवादीको कब्जामा छ । थाहै छ सबैलाई अहिले, शिक्षा र स्वास्थ्यको हालत के छ ? अनि सबैभन्दा चर्का कुरा गर्नमा पनि उनीहरू नै अगाडि छन् । गाली, गलौज, घृणा र अहंकारका प्रणेता र सदाबहार प्रयोक्ताहरूलाई नै यहाँ चिन्तक, राजनेता मान्नु परेको छ । उनीहरूलाई लाग्दो हो क्लिष्ट जार्गनहरू हामीलाई मात्र थाहा छ । हामी सब्बै जान्ने, बाँकी पटमुर्ख ।

अस्थायी सरकार चलाउने राजनीतिजीवी र स्थायी सरकार चलाउने प्रशासकहरूले ठन्डा दिमागले सोच्नुपर्छ । यिनलाई सोच्न बाध्य बनाउने काम आम नागरिकको हो । आम मतदाता र करदाता चनाखो र अधिकार सचेत भएको देशमा थिति बस्छ नै । नागरिक यति सशक्त हुनुपर्छ कि पदमा बसेकाहरू मालिक अर्थात् नागरिक–करदातासित थुरथुर गरुन् । प्रश्न सोधेर उनीहरूलाई हैरान बनाउनुपर्छ । सोध्नुपर्छ– देश कसका कारण संकटमा पर्यो ? 


Author

थप समाचार
x