सम्पादकीय
तटस्थता नीति मुलुकका लागि घातक
प्रधानमन्त्री केपी ओलीले हिजो प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानअनुसार उनी स्वतः पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आव्हान गरेकी छिन् । कतिपय ओली पक्षीय नेताहरुले धारा ७६(३) अनुसार आव्हान हुनुपर्ने माग गरिरहेको बेला राष्ट्रपति भण्डारीले संविधान अनुसार नै गरिन् ।
अब दलहरुले तीन दिनभित्र बहुमतसिद्ध गरी राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबीसहित पुग्नुपर्नेछ । यतिखेरसम्मको दृश्य हेर्दा सहज रुपमा बहुमतसहित दाबी गर्दैनन् कि भन्ने आशंका छ । ओलीको रणनीतिक खेल नै यही हो, जसपाका महन्थ ठाकुर समूहको ‘तटस्थता’को नीतिको आवरणमा । यता आफू विश्वासको मत लिन नसके पनि अन्ततः ७६(३) अनुसार पुनः प्रधानमन्त्रीमा नियुक्त हुने ओलीको दाउ थियो र छ । ७६ (३) अनुसार नियुक्त हुने ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा त्यो लिन नसक्ने पनि उनलाई राम्रोसँग थाहा थियो ।
विश्वासको मत लिन नसकेपछि ७६(५) को सरकार गठन असम्भव जस्तै छ । यसरी अन्ततः ओलीले ७६(७) बमोजिम संविधान विघटन गरेर उनैले चुनाव गराउने परिपञ्चका साथ विश्वासको मत लिने हिम्मत गरेका थिए । नेपालको राजनीतिक कोर्स पनि ओलीको रणनीति दल छिन्नभिन्न भएका हुन् । उनको यो भित्री रणनीतिलाई जसपाको ठाकुर खेमाले साथ दिन खोज्दैछ । ओलीले नै निर्वाचन गराउने कुरा दलहरुलाई अस्वीकार्य हुन सक्छ । किनभने राष्ट्रिय सहमतिविना निर्वाचन हुन सक्दैन । त्यसपछि मुलुकमा पुनः अस्थिरता, अन्यौलता, विदेशी हस्तक्षेप हिजो जे जे भएका थिए ती सबै हुनेछन् ।
हिजो आमजनतालाई ओलीप्रति ठूलो विश्वास र भरोसाा थियो । तर ओलीको आफ्नै व्यक्तिगत कारण दुई तिहाईबाट ९३ मा झर्नुपर्यो । यो भनेको ओलीको गरिमा स्खलित हुनु हो । पार्टीको अध्यक्ष पनि ओली आफै थिए । पार्टीका सहकर्मी र पदाधिकारीहरुलाई किनारा नलगाएको भए, पार्टीको आन्तरिक लोकतन्त्रको सम्मान गर्न सकेको भए ओलीले पाँचै वर्ष शासन चलाउन पाउँथे । यत्रो जिम्मा पाएका ओलीले नागरिकको जीवनसमेत सोचेनन् । केवल देखाउने काम मात्र गर्दै गए । यही देखावटी कामले ओलीको सरकार गिर्न मद्दत पुग्यो ।
अनि शासकीय इतिहासमा बिरलै मात्रै त्यस्तो ‘अवसर’ मिल्छ, जुन ओलीलाई मिलेको थियो । ‘स्थिर शासन’को कल्पनामा एमाले-माओवादी केन्द्रलाई भारी मत मिल्यो, २०७४ को संसदीय निर्वाचनमा । अझ उनीहरुबीच २०७५ जेठमा एकता भएपछि त दुई तिहाई नजिकको संसदीय-गणितीय मतसहित ओली प्रधानमन्त्री हुँदा जुद्ध शमशेरसँग दाँजिएको थियो ।
अहंकार, दम्भ, घमण्ड, उडन्ते-हावादारी गफ, आत्मप्रशंसामा मात्रै रमाए । अर्को चाहिँ ‘उद्घाटन-प्रेमी प्रधानमन्त्री’का प्रस्तुत भए, त्यो पनि ‘मैले गरे’ भन्ने भाषण फेहरिस्त मसलाका निम्ति ।
राणाकालीन प्रधानमन्त्री जुद्ध शमशेर जस्तै ओलीमाथि कतैतिर तरबार थिएन । न तरबारसहितको दरबार नै थियो । राष्ट्रपति विद्यादेवी भण्डारी पनि ओलीले जता चाह्यो उतै चलाउन मिल्ने ‘औजार’ जस्तै थिइन् । अझ ‘चलाउन मिल्ने’ मात्र होइन कि खुला ‘दाउपेच’मै सामेल थिइन् । यति शक्तिशाली प्रधानमन्त्री जहाँनिया राणाकालपछि कहिल्यै मुलुकले पाएको थिएन । तर ओलीले आफूलाई नागरिकबाट प्राप्त ‘अवसर’लाई त्यही रुपमा प्रयोग गर्न चाहेको भए, छेकावट गर्ने ठाउँ कतै थिएन । विपक्षीहरु दलहरु सँधैभरि निस्क्रिय नै थिए ।
संसद् र संसदीय समिति ओली नियन्त्रणमै थियो, तिनले बिरलै मात्रै सरकारलाई अप्ठ्यारो पार्ने काम गरे । तर, त्यस्तो ‘अवसर’लाई सही प्रयोग गर्नेतिर मोहित भएनन्, उल्टो दुरुपयोगको शृंखला चलाए । उनी अहंकार, दम्भ, घमण्ड, उडन्ते-हावादारी गफ, आत्मप्रशंसामा मात्रै रमाए । अर्को चाहिँ ‘उद्घाटन-प्रेमी प्रधानमन्त्री’का रुपमा प्रस्तुत भए, त्यो पनि ‘मैले गरे’ भन्ने भाषण फेहरिस्त मसलाका निम्ति ।
अर्थात्, उनलाई ‘पपुलिज्म’को भोक जागेको थियो । त्यस निम्ति उनले भए/नभएका गफमै रमाए । हो, ओलीमा एउटा गुन प्रयाप्त मात्रामा देखियो कि आफूबाहेक अरु सक्षम छैनन् भन्ने प्रमाणित गर्न । उनले आफ्नो कदममा छेकावट गर्न सक्ने लोकतान्त्रिक संस्थाहरु सिध्याउन कुनै कसर बाँकी राखेनन् ।
त्यो संकटबाट मुक्ति निम्ति राजनीतिक दलहरु सुझबुझपूर्ण ढंगबाट अघि बढ्नुपर्छ । मुलुक स्वास्थ्य संक्रमण र राजनीतिक संटकमा परेको बखत ‘अत्तो’ थाप्नुलाई राम्रो ठानिँदैन । अब संसदीय फाँटमा रहेका राजनीतिक दलहरुले संसद्भित्रै सरकार दिन सक्नुपर्छ ।
तर राजनीतिक खेलमा जनता समाजवादी पार्टीमा त्रिशंकूकालीन राष्ट्रिय प्रजातन्त्र पार्टीको चरित्र देखापर्दैछ । जीवनकालभरि प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका महन्थ ठाकुरजस्तो सिद्धान्त र निष्ठावान् व्यक्ति कम्युनिष्ट नेता ओलीको पछि लाग्नुले उनको सैद्धान्तिक निष्ठामै प्रश्न उब्जिएको छ । यसले ठाकुरको राजनीतिक सिद्धान्तनिष्ठ गरिमा समाप्त पार्नेछ ।
यस्तो बेलामा जसपाको एउटा खेमालाई कुन ललिपपको लालचले डोर्याएर ओलीको समर्थनतिर लगिरहेछ, बुझिनसक्नुछ । जबकि डेलिभर गर्न नसक्ने, जनताको रक्षा गर्न नसक्नेलाई पुनः टिकाइ राख्न उद्यत हुनु जनताप्रतिको अपमान हो । त्यसैले जसपा निर्णायक छ । यतिखेर राजनीतिक अस्थिरताको अन्त्यसँगै कोभिडसँग लड्न सक्ने नेतृत्व चाहिएको छ । त्यसैले राष्ट्रपतिले तोकेको अवधिभित्रै ओली इतर दलहरुले नयाँ सरकार गठनमा अग्रसर हुँदै न्यूनतम राजनीतिक चरित्र प्रदर्शन हुनुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया