सम्पादकीय
आत्मदाहपछिको अभिनय
संघीय राजधानी काठमाडौँको थापागाउँमा मण्डला थियटर छ । त्यहाँ नाटकहरू मञ्चन भइरहन्छन् । यसै सिलसिलामा आज वैशाख १३ गतेसम्म एउटा नाटक मञ्चन भयो, त्यहाँ । प्रसिद्ध लेखक अर्थर मिलरकृत ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली भावान्तरण ‘यौटा सपनाको अवसान’ मञ्चन गरियो । विप्लव प्रतीकको अनुवाद, अनुप बरालको निर्देशन र गोविन्द पराजुलीको उत्पादन रहेको नाटकमा कलाकारहरूले भव्य अभिनय गरेका छन् । नाटक हर हिसाबले उत्कृष्ट छ । थियो ।
नाटकले युवा उद्यमी प्रेमप्रसाद आचार्यको झल्को दिन्छ । संसद् भवनअघिल्तिर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै सामुन्नेमा आत्मदाह गरेपछि उनको दुःखद् निधन भएको थियो । कार्यपालिका प्रमुख र व्यवस्थापिका केन्द्रअघिल्तिर दिउँसै आत्मदाह गरेका प्रेमप्रसाद यसरी गुमनाम छन्, मानौँ उनको आत्मदाह स्वप्नदोष जस्तो मामुली नियमित आकस्मिकता थियो । देहाग्निअघि उनले आफ्नो फेसबुकमार्फत साझा गरेको नोटले धेरैको मथिंगल रिंग्याएको थियो । तर, राज्यका निकाय, ती नोटमा उल्लिखित व्यापारी भने मौन रहे । उनका जायज माग उसै सामसुम भए । तर, आत्मदाह गरेको स्थानभन्दा केही पाइला पर दुई महिनापछि उनै प्रेम मण्डला थियटरमा झुल्किए र हराए ।
आत्मदाह गरेको स्थानभन्दा केही पाइला पर दुई महिनापछि उनै प्रेम मण्डला थियटरमा अभिनयरत भेटिए ।
प्रेमप्रसादको विषय कुनै व्यक्तिगत थिएन । हरेक वाक्यमा राजनीतिक, आर्थिक, प्रशासनिक, कानुनी कुशासनको तीतो यथार्थ थियो । प्रेमप्रसादले भोगेका समस्या व्यक्तिगत थिएनन्, ती राजनीतिक थिए । उनले समाधानका उपाय पनि सुझाएका थिए । ती विषयमा पर्याप्त छलफल नै भएन । नाटककै रुपमा सही उनले फेरि आफ्नो रामकहानी अनुप बरालको कलामार्फत सम्झाएर गएका छन् ।
मार्क्सवाद र माओवाद, पुँजीवाद र समाजवादका रौँचिरामा धेरै बुद्धिविलास हुन्छ तर देशको कठोर यथार्थ ‘यौटा सपनाको अवसान’ नै हो । सरकारी–निजी क्षेत्रको चौतर्फी घृणा र अपमानबाट जन्मेको ‘प्रेम’ आजको फुटेको ऐना हो । प्रेम मरेर गएपछि उनका मागमा टेकेर आन्दोलन हुनुपर्थ्यो । तर, त्यसो हुन सकेन ।
बेइमानहरूलाई जवाफदेही बनाउनतिर लागिएन । बेइमान व्यापारीहरूबाटै पैसा तिर्न बाध्य पार्नुपर्थ्यो । तर, उठन्ते–मगन्ते ‘समाजसेवी’को संक्रमणले गाँजेको देशमा प्रश्न हराए । उठ्नुपर्ने प्रश्न थचक्क बस्यो, ‘सहयोग’ पो जुरुक्क उठ्यो । न्यायको प्रश्नमा ‘राहत संकलन’ थप आहतको विषय हो ।
प्रेमप्रसादको नोटले दुःखी सँगैसँगै धेरै मानिसलाई विद्रोही बनाउनुपर्थ्यो । नेपाली समाज आगै नबल्ने ‘चिसो चुलो’ भएको छ, अगेनोमा चिसो खरानी जो छ । ‘यौटा सपनाको अवसान’ कर्मजीवी पति/पिताको कथा मात्र होइन, यो आजको समयको कठोर यथार्थ हो । तर, प्रशस्त बहस हुनुपर्ने यस्ता नाटक आए, गए हुन्छन् भने भन्नुपर्ने हुन्छ, यो समाजवादको अवसानको कथा पनि हो ।
हाम्रो संविधानको प्रस्तावनामा ‘समाजवादउन्मुख’ लेखिएको छ तर यात्रा ठीक उल्टो छ ।
घृणाको दुनियाँमा जसरी ‘प्रेम’ पराजित भएका छन् । प्रेम नै वीरेनप्रताप हुन् । तर, प्रेम सधैं अजर र अमर अनि शाश्वत छ । प्रेमको आत्माको शान्तिका लागि प्रेमवादका प्रश्नहरूले जवाफ पाउनैपर्छ । प्रेमवादले नेपालको दलाल समाजवाद र घरानियाँ पुँजीवादलाई परास्त गर्नैपर्छ ।
कार्यपालिका प्रमुख र व्यवस्थापिका केन्द्रअघिल्तिर दिउँसै आत्मदाह गरेका प्रेमप्रसाद यसरी गुमनाम छन्, मानौँ उनको आत्मदाह स्वप्नदोष जस्तो मामुली नियमित आकस्मिकता थियो ।
देशमा पुँजी निर्माणका लागि केही गर्छु भन्नेलाई राज्यले सहजीकरण गर्नुपर्ने हो । उत्साह थपिदिनुपर्ने हो । आफू जसको कामबाट अर्बपति भइयो, त्यो मालिकले कामदारलाई इज्जत गर्नुपर्ने हो । दलाल पुँजीवाद (अनुत्पादक क्षेत्रमा लगानी) तिर प्रोत्साहन गर्ने राज्यले आफूलाई समाजवादउन्मुख भन्न सुहाउँछ ?
सर्वहारा किसान, मजदुरको पक्ष लिन्छु भन्ने माओवादी, मार्क्सवादीहरू लगातार सरकारमा छन् । तर, उनीहरूको वर्गीय पक्षधरता निम्नवर्गीय शोषित, पीडिततिर पटक्कै छैन । बरु शोषक र पीडकहरू नै उनीहरूको साझेदार छन् । दाता र सल्लाहकार छन् ।
प्रेमको निधन आत्महत्या हैन, हत्या नै थियो । उनी मानसिक रोगले मरेका पनि हैनन् । न त वीरेन । मानसिक रोग त रुखको पहेँलो पात मात्र हो । पात किन र के कारण पहेँलो भयो भनेर हेर्ने त जरा र जमिनमा हो । राजनीतिक रोग जमिन हो, यसले सब बोटबिरुवालाई जिउँदै मारेको छ ।
राज्यको मूल नीति नै बेथिति मात्र भएपछि मानसिक रोग बढ्छै बढ्छ । मानसिक रोगको ओखती दिएर, बढाएर यो समस्या हल हुँदैन । राज्यकोषबाट तलबभत्ता खाएका र खाइरहेकाहरूले आफ्नो नीति र नियत बदल्नुपर्छ । कर तिर्नेलाई अर्थात् आफूलाई पाल्नेलाई सबैभन्दा इज्जत र मान गर्नुपर्छ । तर, यहाँ पाइलापाइलामा ठीक उल्टो छ, करदाता र कामदारकै सबैभन्दा बढी अपमान छ ।
धनी र पहुँचवालाले कर छलेका छन् । मध्यम वर्गले खुरुखुरु कर तिरेका छन् । निम्न वर्गले मरेतुल्य भएर काम गरेर रेमिट्यान्स पठाइरहेका छन् । तर, सबैभन्दा मोज दरबार–टारहरूमा बसीबसी खानेलाई छ ।
प्रेमप्रसाद देशमा र अब मण्डला थियटरमा पनि छैनन् तर प्रेमप्रसादको नियतिमा पुग्नुअघि हर नागरिकले सोच्नुपर्छ । आफूलाई लुट्ने व्यवस्था र अवस्थाबारे बाठो हुनुपर्छ । मीठो कुरो गर्ने ‘समृद्धिको बतासे बहस’प्रति हामी बाठो हुनुपर्छ ।
प्रेमप्रसादले आत्मदाह गरेको तीन महिना भइसकेको छ । उधारो नतिरेकाहरूले पैसा तिरे त ? अल्टिमेटमसहित खबरदारी गरियो ? उनको उत्पादन फ्रिमा खाएका–पचाएका मालिकहरूको अब सालिक बनाएर पूजा गर्ने ? मालिक र महामालिक (सरकार)हरूलाई जवाफदेही बनाएको खै ? सार्वभौम नागरिक (दर्शक) किन यति निरीह ?
यौटा प्रेमप्रसाद, यौटा वीरेनप्रताप, यौटा सपना, यौटा खुसी, यौटा अभिभावक र यौटा प्यारको अवसान हुनुहुँदैन । अल्जाइमर्सयुक्त अवसानउन्मुख समाजमा अनुप बरालहरू यस्ता नाटक लिएर आइरहनुपर्छ । बिरामी र घाइते चेतनामा कलात्मक प्रहार सदा अपेक्षित छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया