सम्पादकीय

सम्पादकीय

महावीर पुनका माग पूरा गर

इकागज |
बैशाख १७, २०८० आइतबार १७:३१ बजे

महावीर पुन धेरै नेपालीले सुनेकै नाम हो । नसुकेको भए पनि सबैले उनको नाम र काम सुन्नुपर्छ । उनको जीवन र कर्मलाई नजिकबाट बुझ्ने प्रयास गर्नुपर्छ । 

महावीर पुन एक यस्ता स्वप्नजीवी र कर्मजीवी हुन्, उनको शब्दकोशमा थकाइ भन्ने शब्द छैन । उनी उपदेशक मात्र पनि होइनन्, स्वयं उदाहरण हुन् । उनको जीवनशैली अति साधारण छ । म महान् मान्छे हुँ यस्तो त बोल्नुहुँदैन भनेर उनले कृत्रिम भाषा पनि प्रयोग गर्दैनन् । वाक्कदिक्क उनी पनि हुन्छन् र बोल्छन् पनि कहिलेकाहीँ त्यस्तै ठेट । हर मान्छे कमजोरीसहितकै हुन्छ अर्थात् हरेकको स्वभाव निजी हुन्छ । उनमा पनि केही कमजोरी होलान् । तर, महावीर आम नेपालीभन्दा माथिल्लो कोटिको चेतना, सपना र अठाेट भएका सत्पात्र हुन् । यदि महावीर ‘मूर्ख’ र ‘पागल’ हुन् भने नेपालका हर गाउँ–सहर ‘पागल बस्ती’ बन्नुपर्छ ।


महावीर पुनले प्रतिष्ठित रामोन म्यागसेसे अवार्ड पाए । यो अवार्ड हजार जनालाई शीतल निवासमा लाइन लगाएर दिने चाकडी वा बक्सिसबापत प्राप्त पदक वा विभूषण होइन । यो गोरखा दक्षिण बाहु पनि होइन । नेपालमा कुनै व्यक्तिले के उत्पात-उत्पादन गर्‍याे , केही थाहा छैन तर उसले दर्जनौँ अवार्ड, पुरस्कार, सम्मान पाइसकेको छ । तर, महावीर जस्ता महान् कर्मीहरूको कर्म पहिला दुनियाँले चिन्छ, अनि बल्ल यता । 

स्वदेशमा उनलाई अझै चिनिएको छैन । शासकहरू त उनका लागि साधकभन्दा सधैँ बाधक नै बनेका छन् । आविष्कार केन्द्रकै लागि जग्गा पाउन उनले कति दुःख पाउनुपर्‍याे । 

महावीर कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र खोलेर आफ्नो बर्कतले भ्याएसम्म रातदिन खटिरहेका छन् । शुभेच्छुकहरूले दिएको सरसहयोगमा काम गरिरहेका छन् । ससाना बालबालिकाले आफ्नो जन्मदिनमा र युवाहरूले विवाहमा त्यहाँ पुगेर आफ्ना खुत्रुके फुटाएका छन् । तर, राज्य चलाउनेहरूलाई यसले छुँदैन । 

महावीरले आफ्नो कमाइ पनि त्यहाँ लगाएका छन् । आफ्ना अवार्ड र जग्गा उनले बिक्रीमा राखेका छन् । त्यो बिकेपछिको पैसा उनले आविष्कार केन्द्रमा लगाउँछु भनेका छन् । उनी सहकर्मी-स्वयंसेवीहरूसँगै त्यहीँ खान्छन्, बस्छन्, सुत्छन्, नाच्छन्, रमाउँछन् । 

उनमा म ठूलो मान्छे हुँ, हाकिम हुँ, निर्देशन दिने मात्र मेरो काम हो भन्ने ठालुपन रत्तिभर छैन । उनको हरहिसाब, रहनरहन, कामकाज सबै पारदर्शी छ । उनी सधैँजसो साधारण चप्पल र हाफपेन्टमा हुन्छन् । लवाइखवाइकै आधारमा उनी महान् हुन् भन्न खोजिएको होइन । तर, नौटंकी नै सही साधारण जीवनशैली होस् न त, समाजवादी, क्रान्तिकारी, गान्धीवादीहरूको ।

उनले कसैबाट जबर्जस्ती पैसा उठाएका पनि छैनन् । तर, कतिपय मानिसहरू उनी र उनको टिमलाई हतोत्साहित गर्न लागिपरिरहन्छन् । ‘आविष्कार’ नाममा अल्झेका छन् । नामकै कुरा गर्ने हो भने कम्युनिस्ट नाम भएका दललाई नामकै आधारमा मान्छे नै नमान्ने त ? नाम संकेत हो, सपनाको । नाम साध्य होइन, संकेत मात्र हो । नाम हिँड्ने यात्राको गन्तव्यसूचक विम्ब पनि हो । तथ्यपूर्ण आलोचना र प्रश्न सबैलाई जरुरी पनि छ तर अनावश्यक आक्षेप लगाउने काम न्यायोचित छैन  

महावीर सपना देख्तैनन् मात्र, त्यो सपना पूरा गर्न दिनरात लागिपर्छन् । युवाहरूमा उत्साह जगाउँछन् । विज्ञान–प्रविधिमा आधारित समृद्धि आउनुपर्छ भन्छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा लगानी हुनुपर्छ भन्छन् । उद्यमशीलता विकास हुनुपर्छ भन्छन् । परनिर्भरता घटाउनुपर्छ भन्छन् । युवाहरूलाई हुल्लडबाज होइन, परिश्रमी बनाउनुपर्छ भन्छन् । 

गफ मात्र गर्ने तर उद्यम र रोजगारी बढाउने गरी केही कामै नगर्ने दल र दलजीवी यो देशमा फालाफाल छन् । हर दल समाजवादी छन् । देउवा, ओली, दाहाल, बाबुराम भट्टराई, नेपाल, खनाल, यादव, लामिछाने सबैका पसल समाजवादी हुन् यहाँ । साइज साइजका समाजवादी छन् । क्रान्तिकारी त कति कति । नयाँ पसल, उही नयाँ पसल, पुरानो नयाँ पसल, सक्कली नयाँ पसल जस्ता दल पनि कति कति । तर, सबैको गति उही छ, गतिछाडा । भन्ने एक, गर्ने अर्काे । कथनी र करनीमा आकाश–पाताल मात्र होइन, प्रचण्ड–पुष्पकमल फरक । 

अनुसन्धान, नवप्रवर्तन र आविष्कारविना कुन देश विकसित बनेको छ ? अनावश्यक काममा करोडौँ राजस्व खर्चिने तर अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा १ प्रतिशत रकम पनि नछुट्याउने, यो के चाला हो ? के यही तरिकाले देश विकासशील मुलुकबाट माथि उक्लिन्छ ? 

देशमा उद्यम गर्छु भन्नेलाई मर्न बाध्य बनाउने ? सबैलाई प्रेमप्रसाद आचार्य बनाउन खोजिएको हो ? उद्यमी बन्न चाहनेलाई अनुमति, लाइसेन्स, अनुदान र सहज ऋणमा पाइला–पाइलामा दुःख दिने ? 

महावीर पुनका हर माग राष्ट्रका लागि काम लाग्ने छन् । यी मागमा पुनको मात्र हित हुने कहाँ छ ? कि देश बनाउँछु भनेर घोषणापत्र लेख्नै भएन, नभए विज्ञान र प्रविधिमा लगानी गर्नुपर्यो । के देश बालज्योतिषीहरूलाई बजेट दिएर बन्छ ? के देश नेताहरूको उपचारमा खर्बाैं पैसा सकेर बन्छ ? के देश भत्ता बाँडेर मात्र बन्छ ? के देश लाखौँ जनालाई (अहिलेसम्म लाखभन्दा बढीले पाए होलान्) पदक र विभूषण बाँडेर मात्र बन्छ ? के देश उद्यमविना नै बन्छ ? रेमिट्यान्सले मात्र देश बन्छ ? जग्गा बाँझो राखेर बन्छ ? घरमा बूढाबूढी र केटाकेटी मात्र राखेर घर, घर जस्तो रहन्छ ? के यही हो समाजवादको बाटो ? 

अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर । अनुसन्धान र नवप्रवर्तनका लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याऊ । प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर । अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाऊ । स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाऊ । नवउद्यमीहरूलाई हतोत्साह नगर । उद्यमशीलताको विकास गर्न “नव उद्यमी पहिचान र प्रवर्द्धन समिति बनाऊ । व्यावहारिक अनुसन्धानलाई प्रवर्द्धन गर्न  व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल । यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था तुरुन्त गर । पुरानो गाडीहरूलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति देऊ । सृजनशील नेपालीहरूले निर्माण गरेको सामानहरूलाई थप विकास गर्न सहयोग गर।

यी माग कसरी र के कारण पूरा गर्न नसकिने छन् ? कुन माग देशद्रोही र राष्ट्रहित विपरीत छन् ? महावीर पुनको अपराध के हो ? महावीर पुनहरूको अभियानको मर्म नबुझ्ने राजनीति, के राजनीति ? पुनहरूलाई धर्ना र अनशन बस्न बाध्य पार्नु शासकका लागि लाजमर्नु कुरो हो । 

महावीरका माग पढ्यो भने कुनै विदेशीले के भन्ला ? अझ यी माग पूरा गर्न गाह्रो मान्ने नेता कम्युनिस्ट क्रान्तिकारी हुन् भन्ने थाहा पायो भने के सोच्ला ? अझ ‘समाजवादउन्मुख’ प्रस्तावना लेखिएको संविधान यही देशमा छ र त्यही संविधान लेख्न मर्न–मार्न तयार कमान्डर अहिले प्रधानमन्त्री छन् भन्ने सत्य, किन यति तीतो बन्दै छ ?


Author

थप समाचार
x