सम्पादकीय

सम्पादकीय

जनताको करमा आजीवन मोज गर्ने राजनीतिजीवीहरूको श्रमिक दिवस

इकागज |
बैशाख १८, २०८० सोमबार १६:५२ बजे

आज मे १ । अन्तर्राष्ट्रिय श्रमिक दिवस । संसारभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा पनि आज सार्वजनिक बिदा दिइएको छ ।

श्रमिक दिवसको तामझाम एकातिर छ भने श्रमिकका दुःख अर्कातिर पहाडै छन् । सबैभन्दा पहिला त श्रम गर्ने वातावरण नै छैन । काम गरीखान देऊ भन्नुपर्ने अवस्था छ । नेपालमा काम पाइँदैन । काम गर्ने क्षेत्र खुम्चिएका छन् । उद्योगधन्दा बन्द छन् । बेरोजगारी बढेको छ । महँगी बढेको छ । श्रमको मूल्य छैन । श्रमिकको इज्जत र सम्मान छैन ।


स्वदेशमा काम नपाउँदा धेरै युवा बाहिर पुगेका छन् । देशबाहिर सस्तोमा श्रम बेच्न बाध्य छन् । कम तलब–सुविधामा जोखिमपूर्ण काम गरिरहनुपरेको छ । पढ्न र सीप सिक्न बाहिरिनु, रहरले बाहिरिनु बेग्लै कुरा हो । तर, दुई छाक राम्ररी खाने सपना पूरा गर्न बाहिरिनु पीडादायी छ । परिवार छोडेर लामो समय बाहिर रहँदा त्यसले निम्त्याउने संकटबारे त राम्ररी सोचिएकै छैन ।

नेपालमा युवाको संख्या बढी छ । तर, सधैँ यस्तै अवस्था रहिरहँदैन । नेपाल सक्रिय उमेरका मानव संसाधनबाट लाभ लिन चुकिरहेको छ । स्रोतमध्ये सबैभन्दा ठूलो स्रोत नै मानवीय स्रोत हो । आर्थिक र प्राविधिक स्रोत मानवीय स्रोतपछि मात्र आउँछन् ।

नेपालीहरू अल्छी हुँदै गएका हुन् भन्ने पनि बहस हुँदै गएको छ । स्वदेशमा सानो काम भनेर गर्न नमान्ने अवस्था पनि छँदै छ । विदेशमा पैसा बोटमा फल्छ जसरी युवाहरू कुरै नबुझी बाहिरिने क्रम कम भएको छैन । श्रम सानो वा ठूलो हुँदैन, सबै बराबर सम्माननीय हुन्छन् । श्रमिकलाई हेप्नेहरू को हुन्, तिनको रवाफ कम गर्न ठाउँका ठाउँ र्‍याख्‍र्‍याख्ती पार्नुपर्छ ।

सर्टिफिकेटहरूमा ए प्लस भएर मात्र पनि काम पाइन्छ भन्ने छैन । संस्कार हुनुपर्छ । सामाजिक हुनुपर्छ । ढंग हुनुपर्छ । सृजनात्मक जोस र आलोचनात्मक सोच अनि प्राविधिक सीप र भाषागत दक्षता पनि हुनुपर्छ । काम गर्ने हुटहुटी हुनुपर्छ । प्रविधि अबको हर काममा चाहिने सीप हो । यो सिकेपछि स्वदेश होस् वा विदेश, सबैतिर सजिलो हुन्छ । सीप सिकेर आत्मनिर्भर बन्न सकिन्छ ।

इन्टरनेट सोसल मिडिया चलाउन मात्र प्रयोग गर्नुहुँदैन । इन्टरनेटमा सिक्ने कुरा धेरै छन् । यसैबाट आर्थिक लाभ लिन सकिन्छ । व्यापारका, सृजनाका क्षेत्र फैलाउन सकिन्छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानवलाई बेरोजगार बनाउने सम्भावना पनि बढेको भनिँदै छ । रोबोटले कतिपय क्षेत्रमा मान्छेलाई बेकामे बनाउन पनि सक्छ ।

अहिले स्वदेशमा शारीरिक श्रम गर्नेको पनि खडेरी छ भनिएको छ । घरमा बिग्रेको बिजुली बनाइदिने, धारा बनाइदिने, ढल सफा गरिदिने, प्रेसर कुकर र ग्यास चुलो बनाइदिने मान्छे पाइन छोडेको छ । सिकर्मी, डकर्मी, कवाडी सबैजसो बाहिरबाटै आइरहेका छन् । भारतीय मात्र हैन, बंगालीहरू पनि पूर्वी नेपालमा काम गरिरहेका छन् । उनीहरू एकछिन घरमा हेर्न आएको मात्र वा एक घण्टा काम गरेको एक हजार रुपैयाँभन्दा माथि कमाइ गर्छन् । तर, स्वदेशी युवाहरू काम पाइँदैनको रटान लगाइरहेका छन् । मोबाइल फोनको स्क्रिनबाट एकछिन आँखा हटाएर समाजमा के भइरहेको छ, समाजलाई के चाहिरहेको छ भनेर अनुसन्धान गरेर मात्र काम सुरु गरेको राम्रो हुन्छ । देखासिकी र विनाजगको कामले डुबाउन पनि सक्छ । 

दिनभरि मोबाइल फोनमा अनावश्यक भुलेर, बेरोजगार/बेकामे बसेर आफ्नो आर्थिक, शारीरिक, मानसिक स्वास्थ्य खराब गर्नुहुन्न । श्रम गर्ने इमानदारलाई अपमान गर्नहुन्न । उनीहरूलाई मर्न र भाग्न बाध्य नपारौँ । ‘यो देश अब बन्दैन, छिटो देश छोड्नुपर्छ’ भन्ने भाष्य सबैतिर सुनिन थालेको छ ।

श्रम संस्कृति विकास गर्नुपर्छ । उदाहरणका लागि, धरानका मेयर हर्क साम्पाङ, विज्ञान अभियन्ता महावीर पुन, किसानीतिर लागेका पत्रकार/लेखक नारायण वाग्लेलाई लिन सक्छौँ । भानुभक्त आचार्यले ‘उद्यमविना बित्तछ काल जसको’ उहिल्यै भनेका थिए । श्रमिक दिवसको सबैलाई शुभकामना । कुनै श्रम नगरी जनताको करबाट आजीवन ढलीमली गर्ने तमाम राजनीतिजीवीहरूलाई पनि श्रमिक दिवसकाे शुभकामना । 


Author

थप समाचार
x