सम्पादकीय

सम्पादकीय

यो कस्तो राज्य ? जहाँ नागरिक हतास र निराश, नेताहरू चाहिँ बिन्दास

इकागज |
बैशाख २९, २०७८ बुधबार ९:५६ बजे

- प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।
- प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ ।


- प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।

यो हो- संविधानसभा निर्मित संविधानको मौलिक हकको महल, धारा ३५, स्वास्थ्यसम्बन्धी हक । संविधानको प्रस्तावनामै हामीले आफूलाई ‘समाजवादप्रति प्रतिबद्ध’ भनेका छौँ । छ वर्षअघि नै हामीले आफू जे हौँ भनेर घोषणा गर्यौँ, तर त्यो त हामी फिटिक्क रहेनछौँ । कानुनी भाषामा जे होइन, त्यसलाई हुँ भन्‍नु जालसाँजी हो, फ्रड हो । यस अर्थमा यो राज्य सबैभन्दा ठूलो ढँटुवा हो । यो अपराधको विषय हो । यो मुद्दाको विषय हो ।

हामी संविधानको पहिलो हकमा नै प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्‍न पाउँछस् भन्छौँ तर यथार्थमा अपमानपूर्वक नै सही, बाँच्‍न दिँदैनौँ । सास फेर्ने बन्दोबस्तसमेत नगरेको सरकारले गरिरहेको के हो ? कस्तो राज्य ? हामी संविधानमै सबै नागरिक समान भन्छौँ, तर यथार्थमा राजनीतिजीवी, पहुँचवाला, धनीमानी र तिनका आफ्नाबाहेकलाई अब यहाँ बाँच्‍ने हकसमेत छैन । उपचार पाउँदा पाउँदै मर्नु एउटा कुरा, उपचार नै नपाई मारिनु अर्कै कुरा । के कुनै राजनीतिजीवी, पहुँचवाला, धानीमानीले यहाँ अक्सिजन नै नपाई मर्नुपरेको छ ? अस्पतालको ढोका चियाउँदै हारगुहार गर्नुपरेको छ ? त्यसैले यो राज्य शासक अर्थात् शोषकहरूको मात्र हो । 

संविधानका हर ठाउँमा आर्थिक, सामाजिक, भौगोलिक आदि रूपले पछि पारिएका समुदायलाई विशेष प्राथमिकता दिने भनेर अनेक बुँदामा फुर्का थपिएको छ, तर यथार्थमा उपचार नपाई (उपचार पाउँदा पाउँदै भनिएको छैन) मारिएकाहरूको सामाजिक अध्ययन गरेर हेरियोस् । मारिने (मर्ने हैन) हरू धेरै को छन् ? झ्वाट्ट हेर्दा भाइरसले मारेको देखिए पनि अहिले मारेको राज्य संरक्षित अन्याय, विभेद र वञ्चितीकरणले हो । स्वास्थ्यलाई मौलिक हक भन्छ अनि स्वास्थ्यको न्यूनतम पूर्वाधार पनि तयार पार्दैन भने मारेको भाइरसले कि भ्रष्टहरूले ?

यो राज्यले आफूलाई लोककल्याणकारी हुँ भनेको छ, तर यो सरासर झुट हो, ढाँट हो र अपराध हो । अर्गानिक उत्पादन मात्र बेच्छु भनेर साइनबोर्ड झुन्डयाउने अनि जंक (पत्रु) खानकी मात्र बेच्‍नेलाई कारबाही हुन्छ भने योभन्दा महाअपराध गर्ने राज्यका प्रोप्राइटर ठेकेदारहरूलाई किन कारबाही नगर्ने ? पत्रु खाना बेच्‍नेभन्दा पत्रु भइसक्यो हाम्रो शासनशैली, शासकको प्राथमिकता र राजनीतिजीवीहरूले अग्ल्याएको स्वार्थको सगरमाथा ।

स्वास्थ्यलाई मौलिक हक भन्छ अनि स्वास्थ्यको न्यूनतम पूर्वाधार पनि तयार पार्दैन भने मारेको भाइरसले कि भ्रष्टहरूले ?

निम्‍न वर्गीय नागरिकबाट कर उठाएर मिडल म्यान (बिचौलिया) लाई पोस्ने राजनीतिजीवीहरूलाई किन प्रश्न नगर्ने ? यत्रो महामारीमा पनि न्यूनतम संवेदना नभएका राजनीतिजीवीहरूलाई किन फोहोरपेटिकामा नझारेर मतपेटिकामा झार्ने ? सडेगलेका खाने कुरा खानैहुन्‍न, सडेगलेका फोहोर कसिंगर शासकहरूलाई पनि बढारेर कोठा, चोटा, राज्य सिनित्त पार्नैपर्छ अब । 

यी हाम्रा राजनीतिजीवीहरूले विदेशमा उपचारका नाममा जति कर ब्रह्मलुट गरे त्यसको आधी पैसाले यो महामारीका लागि जुध्‍न चाहिने साधनस्रोत जटाउन पुग्थ्यो । आज सारा नागरिक उदास, हतास र निराश छन्, राजनीतिजीवीहरू चाहिँ बिन्दास छन् । परिवारका सबै सदस्यको कमाइ खाने अनि करदाता, मतदाता, जनता सब मर्दा, शोक र भोकमा आकुलव्याकुल हुँदा आफू मोज र भोजमा रम्‍ने अभिभावक कस्तो अभिभावक ? कर तिर्ने पारिवारिक सदस्यले कथित अभिभावकलाई प्रश्न गर्नुपर्छ, प्रश्न गर्दा टाउको दुख्‍ने अरिंगाल-हनुमानहरूलाई हाम्रो प्रश्न छ- आफूले पैसा तिरेर लिएको वस्तु-सेवा खराब भएपछि तिमीहरू साहुजीविरुद्ध किन उफ्रिन्छौ ? अनि आम नागरिकले सरकारको गलत कदममा औँला तेर्स्याउन किन नहुने ? पत्रकारले ऐना देखाउँदा ऐना फटाउने कि आफ्नो भ्रष्ट, स्वार्थी, अविवेकी, संवेदनाहीन, झुट, रमिते अनुहार बदल्ने ?  

जनगणना रोकेर मृत्युगणना गरिरहेको सरकार र यी राजनीतिजीवी के अब मुर्दामाथि शासन गर्न चाहिरहेका हुन् ? हामीलाई जानाजानी मुर्दामा परिणत गर्न खोजिरहेका यी विवेकहराम नेताहरूलाई हामी ‘मुर्दोन्मुख’ सबैले बेलैमा समवेत स्वरमा भनौँ- मुर्दावाद । हैन भने अन्याय र अत्याचार सहने भनेर भावी सन्ततिले हामीलाई धिक्कार्नेछ ।

र, यति भन्दाभन्दै हामी हरेक नागरिक धैर्यधारण गरौँ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरूलाई अब थप तनाव नथपिदिऔँ । हामी सकेसम्म भीडभाड गर्दै नगरौँ । सुरक्षाका सबै उपाय अपनाऔँ । टोलछिमेकमा भोकले भड्किरहेका आत्माहरूलाई सकिन्छ खाना बाँडौँ सकिँदैन माया बाँडौँ । संक्रमितहरू, कोभिडसित मिल्दोजुल्दो लक्षण भएकाहरू जहाँ पायो त्यहीँ नडुलौँ, यो गर्नै नहुने काम हो । अपराध नै हो । उपचारले मात्रै थेग्दैन । संक्रमण बढ्न नदिऔँ । जिम्मा लिएर जिम्मा पूरा नगर्ने शासकहरुलाई कोभिडका केन्द्रित हुन दबाब दिऔँ । कसरी हुन्छ, सबै मिलेर यो संकट पार लगाऔँ । जय मानवता ।


Author

थप समाचार
x