सम्पादकीय
मिडिया मेला : ‘सक्किने कि सच्चिने’ ?
काठमाडौँमा दुई दिन ‘हिमाल मिडिया मेला’ लाग्यो । ‘विश्वास र आत्मसमीक्षा’ थिममा एक दर्जन शीर्षकमा छलफल चल्यो । हाल चलनचल्तीको शब्दावलीमा भन्दा मेलाको मूल थिम ‘सक्किने कि सच्चिने’ नै हो । मेलाका धेरैजसो छलफलमा पत्रकारिताका चुनौती झन्झन् बढेको चिन्ता सुनियो ।
‘द वायर’का संस्थापक सम्पादक सिद्धार्थ वरदराजनको कथनमा पनि पत्रकारिता त्रासमा बाँचिरहेको भेटियो । स्वतन्त्र पत्रकारिता खुम्चिँदै जाँदा लोकतन्त्र र नागरिक अधिकार संकटमा पर्न सक्छ भन्नेतिर उनको चिन्ता थियो । उनले भारतमा पत्रकारलाई थुन्नु, मुद्दा लगाउनु, तर्साउनु सामान्य नै भइसकेको बताए ।
भारतमा जस्तो अवस्था नेपालमा पनि आउन थालेको छ अथवा आइसकेको छ । सेन्सरसिप भन्दा सेल्फ सेन्सरसिप कम हानिकारक होइन । पत्रकारिताप्रतिको अविश्वास चुलिँदै जाँदा खास पत्रकारले मैदान छोड्ने र पत्रकारिताको आवरणमा सत्ता र साहुको जय जयगान बढ्ने खतरा आइलाग्छ ।
कोभिड–१९ को महामारीपछि अर्थतन्त्र संकुचनमा गएको अवश्यै हो । तर, त्यसअघि लामो समय मालामाल देखिएका मिडिया संस्था आजै कसरी कंगाल भए ? मिडियाबाट कमाएको धनदौलत कता, कुन क्षेत्रमा खर्च गरियो ? वरिष्ठ पत्रकारको प्रश्न थियो । मेलाका हरेकजसो सेसनमा मिडियामा लगानी र मिडियाको विश्वसनीयतामै चिन्ता प्रकट गरिएको थियो ।
पत्रकारितालाई पेसा बनाउँछु, यसमा भविष्य छ भन्ने युवाहरू अब घट्न थालेका छन् । पुराना सञ्चार संस्थाहरूको गरिमा गिर्दाे छ । नयाँले त कुनै आकार नै ग्रहण गरिसकेका छैनन् । तिनमा बामे नसर्दै ग्रहण लागिसकेको छ ।
साहुले सस्तोमा काम गर्न सक्ने गरी छद्म सम्पादक/पत्रकार भर्ती गर्दा त्यसको असर गुणस्तरमा परेको छ । योग्य र सक्षम पत्रकारलाई टिकाइराख्ने अथवा आफ्ना पत्रकारलाई थप सक्षम र अद्यावधिक गर्नेतिर कुनै सोच–व्यवहार छैन । पत्रकारिताको स्टेरिङ लाइसेन्स र सेन्सविनाका पात्रको हातमा छ । यस्तो यात्रा जोखिमपूर्ण छ । समाज अघि बढिसकेको छ, पत्रकारिता पछिपछि ल्याङल्याङ गरिरहेको पनि छ ।
आत्मसमीक्षा माथिबाट पहिला हुनुपर्छ । कुनै पनि चीज बिग्रिनुमा सबैको हिस्सा त हुन्छ नै, तर यश वा अपयशको भारी प्रेक्षालयतिर होइन, मञ्चतिर सोझिन्छ ।
राजनीतिक दलका कार्यकर्ता र पत्रकारमा फरक देखिनै छोडेको छ । पत्रकारिताको मूल धर्म प्रश्न हो । पत्रकारले सत्ताधारीलाई प्रश्न गर्न छोडेर तिनका तर्फबाट जवाफ पो दिन थालेका छन् । यहाँ नाममा पत्रकार धेरै छन् तर काम पत्रकारिता गर्ने कम छन् ।
पत्रकारिता गैरजिम्मेवार, भ्रामक, अशुद्ध, पूर्वाग्रही, अपारदर्शी हुँदा प्रश्न बाक्लिँदै गएका छन् । प्रश्न गर्नेहरूले अब त बेवास्तै पनि गर्न थालेका छन्, यो सुखद संकेत होइन ।
आम जनजीवनका सरोकारलाई नछुने, खालि दल र गुटका समाचार मात्र पस्किने, व्यक्ति/दल विशेषलाई बोक्ने वा ठोक्ने गर्नाले नेपालमा पत्रकारिता धरमरमा छ । जसले मन छुने गरी सजिलो तरिकाले कथावाचन गर्छ, जसले दैनन्दिनका समस्या र समाधानलाई महत्व दिन्छ, ती मिडिया भने बाँच्ने देखिन्छ । मिडिया सस्तो लोकप्रियताको चपेटामा पनि पर्दै छ । चाउचाउले अरु पौष्टिक खाद्य रैथाने पदार्थको बजार खाइदिएजस्तो मिडिया धेरैतिरबाट च्यापिँदो छ । स्वतन्त्र सञ्चार माध्यमका एकाध सामग्रीलाई लिएर तीप्रति अनावश्यक र अपुष्ट लाञ्छना लगाउने क्रम पनि बढेकाे छ । याे चिन्ताजनक छ ।
मिडिया बाँच्ने विज्ञापन र ग्राहकले नै हो । विज्ञापन अनेक कारणले धेरै नै संकुचनमा परेको छ । विज्ञापनबाहेक बाँच्ने अर्काे र सबैभन्दा बलियो स्रोत ग्राहकको विश्वास हो । तर, धेरैजसो सञ्चारमाध्यमले विश्वास आर्जन गर्न सकिरहेका छैनन् । अब त झन् कृत्रिम वा प्राकृतिक संकटका कारण धन्दाकारिता र मोलमोलाई झनै बढ्नेछ । मिडिया जति जति धनीमानी र सत्ताधारीको नजिक पुग्छ, उति उति आम नागरिक र तिनका सरोकारबाट टाढिन्छ ।
नेपाली मिडियाले आत्मसमीक्षा गर्नुपर्छ भन्ने स्वर मेलामा बाक्लैसँग उठ्यो । यो स्वागतयोग्य कुरा हो । आत्मसमीक्षाले विश्वासको वातावरण बढाउन सघाउँछ नै ।
आत्मसमीक्षा प्रकाशकले गर्नुपर्छ । सम्पादकले गर्नुपर्छ । पत्रकारले गर्नुपर्छ । सबैले गर्नुपर्छ । आत्मसमीक्षा माथिबाट पहिला हुनुपर्छ । कुनै पनि चीज बिग्रिनुमा सबैको हिस्सा त हुन्छ नै, तर यश वा अपयशको भारी प्रेक्षालयतिर होइन, मञ्चतिर सोझिन्छ ।
मिडिया सञ्चालकले मिडिया किन चलाउन लागिएको हो ? मिडियामा लगानी कहाँबाट कसरी गर्ने हो वा गरिँदै छ, स्पष्ट पार्नुपर्छ । आफ्नो आय र व्यय पारदर्शी बनाउनुपर्छ । आफ्नो संस्थालाई जिम्मेवार, व्यावसायिक र स्वतन्त्र बनाउने हो भने सम्पादक त्यस्तै छान्नुपर्छ । सक्षम सम्पादकलाई स्वतन्त्रतापूर्वक काम गर्न र टिम बनाउन दिने हो भने उसले राम्रो रिजल्ट दिन सक्छ । तर, चाकडीबाज कार्यकर्तालाई सम्पादक बनाउने वा टिकाइरहने हो भने साहुजीले किन भन्नु— अहिले पत्रकारिता झुर छ !
सम्पादक स्वयं कुण्ठित, पूर्वाग्रही, नकारात्मक र निराश छ भने न्युजरुम राम्ररी चल्दैन । सम्पादक स्वयं अरु धन्दातिर लाग्छ भने पत्रकारले मात्र राम्रो गर्न सक्छन् भन्नु बागमती सफाइ अभियान जस्तै हो । नदीमा ढल मिसाइरहने, तलतिर समीक्षा पनि गरिरहने हो भने त्यो फगत बुद्धिविलास मात्र हो ।
लगानीविना प्रतिफल खोज्नु व्यर्थ छ । मिडिया संस्थालाई सबैभन्दा कम पैसामा काम गर्न सक्ने मानव संसाधन चाहिएको हो कि सक्षम र योग्य पात्र चाहिएको हो ? यसमा स्पष्ट हुनुपर्छ । पत्रकारको वृत्तिविकास, सामाजिक सुरक्षा, बिमा, बिदामा कतै कुनै ध्यान नदिने अनि हर दिन १० घण्टा कम्प्युटरअघि बसेर राम्ररी काम गर् भन्नु नकाम हो ।
पत्रकारिता सृजनशील काम हो । यो ढुक्कको पेसाभन्दा बढी सेवाभाव हो । यो अकुत नाफा कमाउने व्यवसायभन्दा सेवामूलक व्यवसाय हो । पत्रकारिता हर क्षेत्रलाई प्रश्न गर्ने कर्म हो त्यसैले यो क्षेत्र अरु क्षेत्रभन्दा अझ बढी पारदर्शी, सक्षम, स्वतन्त्र, शुद्ध, वस्तुपरक र जवाफदेही हुनुपर्छ । पत्रकारितालाई बचाउने र टिकाउने हो भने यस्ता मेला भइ राख्नुपर्छ जहाँ आफ्नो क्षेत्रका कमी–कमजोरीबारे खुलस्त छलफल होस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया