सम्पादकीय

सम्पादकीय

भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नेहरू कहाँ छन् ?

इकागज |
बैशाख २४, २०८० आइतबार १७:३४ बजे

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको खबर सतहमा आउन थालेको छ । सञ्चार माध्यमहरूले यसबारे गहिरो खोजबिन गरेर निरन्तर समाचार पस्किरहेका छन् । आज मुलुककै जेठो अखबार गोरखापत्रको संस्थापना दिवस तथा आठौँ राष्ट्रिय पत्रकारिता दिवस पनि हो । यस सन्दर्भमा भन्न सकिन्छ, अपवादबाहेक नेपाली मिडिया सुशासनको पक्षमा छ । खबरदारी गर्न चुकेको छैन । तर, खबरदारीअनुसार परिणाम नआउँदा खिन्नता महसुस भने हुन्छ ।

शरणार्थी प्रकरणले फेरि देखाएको छ— दलहरू ढल बनिसके । यिनीहरू सडेगलेको फोहोरमैला बनिसके । यति ठूलो अपराध पनि यति सजिलै, स्वाभाविक रूपमा लिइएको छ कि भन्न मन लाग्छ— नेपाली राजनीति र समाज कसरी यति चाँडै पतित भयो ?


सुशासन, समृद्धि र समाजवादका गफ गर्नेहरूले पहिरिएको मुकुन्डो अब उत्रिँदै छ । लाग्छ, यी मार्क्सवादी होइन, मास्कवादी हुन् । लाग्छ, यी राणाविरुद्ध लड्ने बीपी, गणेशमान, सुवर्ण, किसुनजीका उत्तराधिकारी हुँदै होइन । यी दलहरू र नेताहरूको अब सर्वनाश हुनैपर्छ । जो जोलाई राजनीतिमा बाँच्न मन छ, स्पष्ट भने हुन्छ– ‘हामी सबैको सम्पत्ति छानबिन गरौँ, म सार्वजनिक गर्छु । भ्रष्टाचार र अनियमितताको रहमा डुबेका यस्ता दलमा बस्दा पनि बस्दिनँ । यी नेताहरूको कारबाहीका लागि लागिपर्छु ।’

यस्तो भन्न हिम्मत नगर्ने नेताहरू सबै गच्छेअनुसार अपराधी हुन् । अपराधका मतियार हुन् ।

दलको नेतृत्वमा बस्ने, सरकारको नेतृत्वमा बस्ने, राज्यका अंग र निकायमा घुस्ने तत्व अपवादबाहेक कोही चोखो छैन ।

भन्न त दलका नेताहरू सुशासन र समृद्धि सधैं भन्छन् तर उनीहरूको व्यवहार ठीक उल्टो छ । छानबिनलाई सहयोग गर्ने होइन, उल्टै बचाउन र दबाउनमा उत्रिने भ्रष्टहरू आजको सबैभन्दा खराब तत्व हुन् । यति ठूलो गिरोह मूल नेतृत्वको थाहाविना बाहिर हुँदैन । कर्मचारी मात्रले यस्तो गर्न सक्दैनन्, मन्त्री मात्रले पनि यस्तो गर्न सक्दैनन्, बिचौलिया–तस्कर मात्रले पनि यस्तो गर्न सक्दैनन् । अझ मिलिजुली सरकार चलाउने लामो संस्कार बसेका बेला यी र यस्ता काण्डमा एक वा दुई दल मात्र छैनन् । यिनमा अनेक दल र दलका मठाधीशको संलग्नता छ । पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद र पूर्वसचिव, पूर्व न्यायाधीशहरूको निष्पक्ष छानबिन हुने हो भने उनीहरू सबैजसो कारागारमा बस्न योग्य छन् ।

अपराधमा दलाधीशहरूको संलग्नता छैन भने उनीहरू निर्धक्क ठूलो स्वर गरेर भनिहाल्छन् नि, सबको सम्पत्ति छानबिन गरौँ भनेर । जो नेता आफ्नो मान्छे छुटाउन दौडधूप गरिरहेको छ, बांगोबांगो जवाफ दिइरहेको छ, ऊ सदाचारी हुँदै होइन । मुख्य नाइके नै उही हो । आफूले केही खाएको छैन भने कोही मतियार हुन्छ यार ? ‘म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्ने नेताले गरेको, गरिरहेको के हो, जगजाहेर छैन र ?

विगतमा यस्ता काण्डधारीहरूलाई मिलेमतोमा चोख्याइएकै हो । अब संसद्‍मा नयाँ सांसदहरू पनि धेरै छन् । उनीहरूले संसद्‍मा दरो आवाज उठाउनुपर्छ । भ्रष्टाचार र अनियमितताका एकएक काण्ड छानबिन हुनुपर्छ । जनप्रतिनिधिलाई साँच्चिकै  जनप्रतिनिधि हुने अवसर छ । किनकि हरेक जनताको चिन्ता र प्रार्थना यही हो– भ्रष्टाचारीहरू जेल परुन् ।

देश बनाउने भनेर ठूलो कुरा गर्ने तर देशकै बदनाम हुने गरी काम गर्ने मन्त्री र आसेपासेको जति आलोचना गरे पनि कम हुन्छ । अझ अरु दललाई भ्रष्ट भन्दै मर्न र मार्न तयार दल–नेता यति छिट्टै जसरी काण्डै काण्डमा मुछिएका छन्, यसले स्पष्ट पार्छ, यी नेताहरू सर्वहारा होइनन्, सर्वहारी हुन्, गर्छन् एकथोक, भन्छन् अर्कै थोक ।

सार्वभौम नागरिक, मतदाता बलियो हुनुपर्छ । नागरिकसित भ्रष्टाचारीलाई कारबाही गर्ने, तर्साउने अथाह शक्ति छ । आफ्नो अधिकार प्रयोग गर्न चुक्नुहुन्न । अब यी नेताहरूको राजकीय कार्यकाल अन्तिम नै हुनुपर्छ । अन्तिम काल भएपछि यिनले झनै बढी भ्रष्टाचार गर्न सक्छन् । नागरिक चनाखो हुनुपर्छ । उनीहरूले भ्रष्टाचार गर्ने पैसा आफ्नै हो भन्नेमा नागरिक सचेत हुनुपर्छ । भ्रष्टाचारीलाई चोकचोकमा बहिष्कार गर्नुपर्छ । उनीहरूको सार्वजनिक बेइज्जती गर्नुपर्छ ।

जो रक्षक, उही भक्षक भएर निस्किरहेको छ । यो पीडादायी समय छ । अख्तियार जस्ता संस्थामा पनि ‘एस म्यान’ नियुक्त गरिएको छ । यो आपत्तिजनक छ । जो भ्रष्टाचारविरुद्धको काम गर्छु भनेर पदमा पुगेको छ, उसलाई झन् बढी, दोब्बर कारबाही हुनुपर्छ । भुटानी शरणार्थी प्रकरणमा कोही अपराधी नछुटून् । 


Author

थप समाचार
x