सम्पादकीय
गणतन्त्र दिवसको औपचारिकता
आज सोह्रौं गणतन्त्र दिवस । तर यो अवधिमा आमनागरिकले वास्तविक गणतन्त्रको यथार्थ अनुभूति गर्न पाएका छैनन् । कारण दलका नेताहरू चरम आर्थिक अनियमिततामा लिप्त भए । हरेक वर्ष देशको सार्वजनिक ऋण बढ्दो छ, तर उन्नति प्रगति कता हो कता, दैनिक दुई हजार युवा विदेशिन बाध्य छन् । राजनीतिक परिवर्तनका लागि जतिसुकै बलिदानी गरिए पनि तन्त्र चलाउने व्यक्तिमा खराब वृत्ति भएपछि जस्तोसुकै व्यवस्था पनि असफल हुन्छ । कुनै पनि व्यवस्था आफैमा खराब हुँदैन । व्यवस्थामा बसेर राज्य चलाउनेहरूको सोच, नियत, प्रवृत्ति र पैसा भनेपछि महादेवको त्रिनेत्रजस्तो चरित्रका कारण यो व्यवस्था नै बदनाम हुँदै गइरहेको छ । जबकि यो व्यवस्था ल्याउन सयौं नेपालीले शहादत प्राप्त गरेका थिए । सयौं मुकेश कायस्थहरू बने । तर आज नेताहरूले ती शहीदहरूको बलिदानीलाई अपमान गरेका छन् ।
केपी ओलीको पालामा असाध्यै भ्रष्टाचार भयो भनेर संयुक्त विज्ञप्ति निकाल्ने तत्कालीन गठबन्धनका दलहरू नक्कली भुटानी शरणार्थी काण्ड र पशुपतिको जलहरी काण्डमा नराम्ररी नांगिएका छन् । सार्वभौम संसदमा बोलेका कुरा रेकर्डबाट हटाउन ‘राष्ट्रिय सहमति’ कायम गरेका छन् । तीन तहको अदालतबाट दोषी करार भएका रेशम चौधरीलाई गैरकानुनी तवरले रिहा गरिदिएका छन् । हिजो ओलीले पनि चौधरीलाई रिहा गर्न प्रयास नगरेका होइनन् ।
चालू आर्थिक वर्षको बजेटमा अघिल्ला अर्थमन्त्रीले व्यापारीहरूलाई हुने गरी करका दर हेरफेर गर्दा ५५ वर्षको इतिहासमा राजस्व संकलन ऋणात्मक हुन पुग्यो । आयातीत स्यानिटरी प्याडलाई कर छुट दिनेदेखि लिएर चौधरी ग्रुपले आयात गरेको विद्युतीय गाडीलाई मात्र कर छुट दिनेसम्मका ‘आर्थिक अपराध’ जनार्दन शर्माले गरे, जसको कारण पाँच खर्ब रुपैयाँ राजस्व नउठ्ने भयो । ओलीको पालाका अर्थमन्त्री युवराज खतिवडाले विशाल ग्रुपले आयात गर्ने चकलेटमा कर छुट दिएका थिए । अर्थात् प्रायःजसो अर्थमन्त्रीले व्यापारी पोसेर राजस्व मारे । अनि शीर्ष नेताहरू, गठबन्धनका नेताहरूले जेठ १५ गते गणतन्त्र दिवसका उपलक्ष्यमा जारी गरेको शुभकामना सन्देशहरूको कुनै अर्थ रहेन ।
हिजो राजाको शासन फ्याँक्न नागरिकले आफ्नो जीवन उत्सर्ग गर्नुको मुख्य ध्येय थियो— सुशासन । ३० वर्ष पञ्चायत र दरबारको कुशासनमा मुलुक फस्यो । २०४६ सालपछिको बहुदलीय व्यवस्थालाई पनि यिनै नेताहरूले असफल तुल्याए । त्यसपछि सुरु भएको राजनीतिक आन्दोलन, सशस्त्र विद्र्रोह र शान्तिपूर्ण राजनीतिक अवतरणपछि गणतन्त्र स्थापना भयो । यसलाई पनि अरु कसैले होइन, यिनै नेताहरूले बदनाम गराए ।
संसदमा गर्नुपर्ने काम नगर्ने । नगर्नुपर्ने कामहरू भए । छँदा र खाँदाको संसद विघटन गरे । सर्वाेच्च अदालतबाट दुई, दुईपटक पुनःस्थापित संसदलाई चल्न नदिएर ठप्प पारे । हुँदाहुँदा जलहरी काण्डको बारेमा सांसदले सांसदमा बोल्दा, जो उसको अधिकार हो, संसद ठप्प पारे । के यही हो लोकतान्त्रिक÷गणतान्त्रिक राजनीतिक चरित्र र संस्कार ? विधिको शासन कुन चराको नाम हो भएको छ । ऐन सानालाई मात्र लाग्छ ।
प्रमुख दलहरूको सिण्डिकेटले मुलुक जतिखेर पनि धरापमा पर्ने अवस्था छ । यिनले गरेका भ्रष्ट्राचारका काण्ड छताछुल्ल हुँदा यिनीहरू मिलेर थप अनुसन्धान रोकाउँदा रहेछन् । एउटाले गरेको भ्रष्ट्राचारको काण्ड अर्काेले नखोल्दो रहेछ । नेताहरूको कुशासनकै कारण आज गणतन्त्र पनि दीगो र जनताले चाहेजस्तो हुन सकिरहेको छैन । तसर्थ गणतन्त्र दिवस एक दिन शुभकामना सन्देश दिएर औपचारिकतामा सीमित गर्ने दिवस होइन । नेताहरूले आत्मसात नगरेसम्म मुलुकको भविष्य सुरक्षित छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया