सम्पादकीय
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य
संघीय सदनका दुवै सदनबाट दुईदुई पल्ट पारित भएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका छन् । जुन सामाजिक न्यायका हिसाबले स्वागतयोग्य छ । विधेयक प्रमाणीकरण भएसँगै योग्य भएर पनि नागरिकताबाट वञ्चित करिब ११ लाख पीडितले नागरिकता पाउने बाटो खुलेको छ ।
२०७२ को संविधानअनुसार नागरिकतासम्बन्धी नयाँ कानुन नबन्दा लाखौँ पीडितहरू कष्टकर जीवन बिताउन बाध्य थिए । नागरिकता नभएकै कारण उनीहरूले बैंकमा खाता खोल्न, सिम कार्ड झिक्न, उच्च शिक्षाका लागि कलेज भर्ना हुन, जागिर गर्न, सवारी लाइसेन्स लिनेलगायत थुप्रै आधारभूत सेवाबाट वञ्चित थिए । उनीहरूबाट आफ्नो भविष्य निर्धारण गर्ने मतदानको अधिकारसमेत खोसिएको थियो ।
सबैभन्दा डरलाग्दो तथ्य त के छ भने अनागरिक हुनुको पीडा सहनै नसकेर कतिले आत्महत्यासम्मको बाटो रोजेकाे खबर सार्वजनिक भएका छन् भने कतिले जीवनप्रतिको मोहभंग भएर नैराश्यपूर्ण जीवन व्यतीत गरिरहेका छन् । राज्यले यी तमाम पीडितलाई मानवीय मात्र होइन, संसारकै क्रुर अपराधीलाई जस्तो व्यवहार गरिरहेको थियो ।
इकागजले थुप्रै पीडितसँग कुराकानी गरेर फिचर लेखेको छ । रिपोर्टिङले उनीहरू कति र कुन हदसम्मको सास्ती भोगिरहेका छन् भनेर प्रस्ट देखाएको छ । तीमध्ये एक धनुषाका इन्द्रजीत साफीले नागरिकता नभएकै कारण आफ्नै मुलुकमा इन्जिनियरिङ पढ्नसम्म नपाएको घटना बाहिर आएको थियो । अर्का पीडित बाराका राहुलकुमार शाहले आफूलाई अब बाँच्ने मन नभएको सुनाएका थिए ।
थुप्रै पीडितले नागरिकताका लागि राज्यसँग कानुनी लडाइँ पनि लडेका छन् । तर, सर्वोच्च अदालतबाट मुद्दा जिते पनि उनीहरूले अझै नागरिकता पाउन सकेका छैनन् । बरु नागरिकता जारी गर्ने सरकारी निकायबाट दुर्व्यवहार भोगका छन् । ‘आकाशबाट हुन्छ कि जमिनमुनिबाट जहाँबाट भए पनि बाबु खोजेर ल्याउनू’ भन्ने कर्मचारीको गैरजिम्मेवार र अमानवीय जवाफले कैयौँ पीडितको स्वाभिमानमा गम्भीर चोट पुगेकाे छ । राष्ट्रपति पौडेलबाट विधेयक प्रमाणीकरण भएपछि अहिले राज्यबाट अनागरिक भएर बाँच्न बाध्य ती पीडितको मनमा न्याय पाउने आश जागेकाे छ ।
त्यसो त राष्ट्रपतिको कदमको थुप्रै राजनीतिज्ञदेखि आमनागरिकसम्मले विरोध गरेका छन् । विरोधस्वरूप प्रकट भएका ती अभिव्यक्तिको मूल आशय छ– यो संविधान र राष्ट्र दुवैका लागि घातक छ । यसमा सत्यता पनि छ । हो, बासी विधेयकलाई राष्ट्रपतिबाट प्रमाणीकरण गराउनुको साटो संसदबाट फेरि पारित गरेर राष्ट्रपतिसमक्ष पठाउनुपर्थ्याे । यसले गलत नजिर बसेको छ । उक्त कदम संविधानसम्मत छैन र लोकतन्त्रको आधारभूत मान्यताविरुद्ध पनि हाे ।
तर, यसो भन्दै गर्दा हामीले के बिर्सिनु हुँदैन भने देशको संविधान र कानुन त्यहाँ बस्ने मानिसहरूको सहजताका लागि हुनुपर्छ । कानुन जनताका लागि हुनुपर्छ न कि कानुनका लागि जनता ।
स्मरण रहोस्, नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २२ साउन २०७५ मा प्रतिनिधि सभामा विधेयक दर्ता गरेको थियो । यो पाँच वर्षको अवधिमा बनेका विभिन्न सरकारलाई विधेयक पारित गराउने अवसर थियो, तर तिनको सत्ताको राजनीतिले यो पारित भएन । विभिन्न दलको सत्ता लोलुपता र अकर्मण्यताको थप भार पीडितलाई बोकाउनु उचित हुँदैन्थ्यो । त्यसैले राष्ट्रपतिको यो कदमलाई हामीले स्वागतयोग्य मानेका हौँ । न्यायको सिद्धान्तले भन्छ– बरु सय अपराधी छुटून्, तर एउटा पनि निर्दोष दण्डित हुनुहुँदैन ।
अनागरिकलाई नागरिक बन्ने बाटो खुला गर्दैगर्दा यो विधेयकले नेपाली महिलालाई भने दोस्रो दर्जाको नागरिकको हैसियतमै राखेको छ । महिलाले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउन सर्तैसर्त राखिएको छ । सधैं महिलाबाट राष्ट्रलाई घात देख्ने पितृसत्तात्मक चिन्तनबाट यो राज्यसत्ता माथि उठ्न जरुरी छ । आमाले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउँदा पालना गर्नुपर्ने सर्तका चाङहरू छिटोभन्दा छिटो संशोधन गरेर विधेयक महिलामुखी बनाउन आवश्यक छ । यसो भयो भने हीरामा सुगन्ध हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया