सम्पादकीय

सम्पादकीय

पढेलेखेकालाई नै दाइजो धेरै चाहिने

इकागज |
असार १३, २०८० बुधबार १६:३७ बजे

मुलुकको धेरै सामाजिक समस्याहरूमध्ये दाइजो पनि मुख्य हो । यही दाइजोका कारण धेरै महिलाको हत्या भएको छ । अंगभंग, कुटपिट गरिएका छन् । पढेलेखेको, सम्भ्रान्त परिवारका व्यक्तिहरू पनि दाइजो नपाएका कारण हिंसा गर्ने, हत्या गर्ने गर्दै आएका छन् । मुलुकी अपराध संहिताको दफा १७४ ले विवाहमा लेनदेन गर्न नहुने भनेर बन्देज लगाएको छ । गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरिने कानुनी व्यवस्था छ । तर, जतिसुकै कडा कानुन ल्याए पनि एकाध घटनाबाहेक अरु बाहिर आउँदैनन् । संघीय राजधानीमा हिजो विवाह मण्डपबाटै दुलाहा पक्राउ परेको घटना सार्वजनिक भएपछि मुलुकमो यो कुप्रथाले कति जरो गाडेको रहेछ भन्ने छर्लंग हुन्छ । 

सुनसरीको दुहबी नगरपालिका वडा नं. ६ स्थायी घर भएका र काठमाडौँको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई हिजो प्रहरीले विवाह मण्डपबाटै पक्राउ गर्यो । दुलही पक्षले दाइजोस्वरूप ५० लाख रुपैयाँ नदिएको भन्दै दुलाहा पक्षले विवाह नै रद्द गर्ने निर्णय मात्रै गरेन, उल्टै दुलहीलाई हातपात, गालीबेइज्जतीसम्मका कुकर्म गर्न पुग्यो । रौनियारलाई पाँच दिन थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिइसकेको छ ।


यो घटना हेर्दा, दुई पक्षबीच सामान्य लेनदेनजस्तो देखिए पनि समाजमा व्याप्त विकृति र विसंगतिको नमूनाका रूपमा लिन सकिन्छ । केही महिनाअघि ग्राण्डी अस्पतालमा काम गर्ने चिकित्सकले विवाहमा दाइजोबापत काठमाडौँमा घर नदिएको भन्दै श्रीमतीलाई नियमित आक्रमण गर्थे । ती चिकित्सकको लालचमा उनका बाबुआमा पनि सरिक हुन्छ । अहिले ती चिकित्सक कारागारमा छन् ।

दाइजो प्रथालाई कानुनले पूर्ण निषेध गरेको छ । तर, पनि आम मानिसका चेत अझै खुलेको छैन । कानुनले वर्जित गरेको कुरा पढेलेखेका व्यक्तिबाटै हुन्छ भने नपढेकाहरूको अवस्था के होला ? अझ दाइजो मागेर महिला हिंसा गर्नेविरुद्ध उजुरी गर्नुपर्छ भन्ने चेतना छैन । चेतना भए पनि घर बिग्रन्छ भनेर सहेर बस्ने प्रवृत्ति पनि छ । सासु, ससुरा, नन्द, आमाजूहरूले दिनका दिन दाइजो ल्याइन भनेर टोकसो गर्दा ती बधूको मानसिक अवस्था कस्तो होला ? उनको माइती पक्षमा कति दबाब पर्ला ? सम्पत्ति हुनेले त दिने, नहुनेले के गर्ने मर्ने ? दाइजोको लालचमा धेरै चेलीहरूको ज्यान गइसकेको छ ।

‘कानुनको अज्ञानता अक्षम्य हुँदैन’ भन्ने मान्यता छ । कानुनमा भएका कुरा थाहा छैन भनेर उम्कन पाइँदैन । तर, दाइजोको हकमा कानुनमा जेल हाल्ने बन्दोबस्ती रहेको थाहा पाई पाई जबर्जस्ती दाइजो माग्ने गर्नुको कारण हेपेरै हो । नेपालमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले राजतन्त्र मास्नुपर्छ भनेर सिकाए, तर दाइजो प्रथाविरुद्ध समाजले कसरी प्रतिरोध गर्नुपर्छ भन्ने सिकाएनन् । राजनीतिक दलहरूले पनि समाजलाई रूपान्तरण गर्न सकेनन् । दलका नेताकै घरमा बुहारीहरू पीडित भएर बाँच्न विवश छन् । बाहिर नआएको मात्रै हो । 

छोरोलाई जन्माएर, हुर्काउँदा, बढाउँदा, पढाउँदा र ‘मान्छे’ बनाउँदा परेको ‘लागत’ उसले बिहे गर्ने श्रीमतीको माइतीबाट असुल्नुपर्छ भन्ने दरिद्र सोच र मानसिकताका कारण यो दाइजो रूपी कुप्रथा मुलुकमा व्याप्त छ । समय बदलियो, राजनीतिक व्यवस्था बदलियो तर अर्काको सम्पत्तिमा र्याल चुहाउनेहरूको मानसिकता बदलिएन । यिनीहरूको मानसिकता त्यतिबेला बदलिन्छ, जतिबेला राज्यले खोजी खोजी, भित्र पसी पसी दाइजो ल्याउन नसक्ने बधूहरूलाई पीडित बनाउनेहरूलाई कानुनी दायरामा ल्याउँछ ।

कुनै बेला माध्यमिक तहमा ‘नैतिक शिक्षा’ भन्ने छुट्टै पाठ्यक्रम थियो । त्यसलाई हटाइएको छ । त्यो पाठ्यक्रमबाटै हटाएसँगै समाजमा नैतिकता पनि हराएको छ । बाबु आमालाई कसरी व्यवहार गर्ने, कसरी सम्मान दिने, ज्येष्ठ नागरिकलाई कस्तो व्यवहार गर्ने, अर्काको सम्पत्तिमा आँखा लगाउनु हुँदैन, अन्धविश्वास गर्नु हुँदैन, चोर्नु हुँदैन भन्ने जस्ता आदर्श र नैतिकता सानैदेखि सिकाउने गरिन्थ्यो । अहिलेको सूचना प्रविधिको युगमा पनि मानसिकता मध्यकालकै रहेको छ । तसर्थ दाइजो प्रथालाई जरैदेखि उखेल्नका लागि तीनै तहको सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी छ, केवल मुलुकी अपराध संहितामा राखेर मात्र हुँदैन । 


Author

थप समाचार
x