सम्पादकीय
मानसिक स्वास्थ्यमा खेलाँची नगरौँ
अभिनेता सारुक ताम्राकारले ३१ वर्षको कलिलो उमेरमा आफ्नो ज्यान लिएपछि सामाजिक सञ्जाल मानसिक स्वास्थ्यको कुरालाई चिन्तित देखिएको छ । सामाजिक सञ्जालमा यो प्रकरणमा सहानुभूति देखाउने र देखाएको टोपल्ने दुवैथरि सक्रिय भएका छन् । सारुकको ताम्राकारको घटना बाहिरिने बित्तिकै काठमाडौँ–मुम्बई गरिरहने कोरियोग्राफर तथा डान्सर सुशान्त खत्रीले पनि निराशाजनक स्ट्याटस राख्दै तिमीहरूले अर्को कलाकार पनि गुमाउँदैछौ भन्दै आफू पनि लामो समयदेखि डिप्रेसनको सिकार भएको बताए ।
उनले लाइभमा आएर विगत ६ महिनादेखि आफू डिप्रेसनससँग जुधिरहेको तर धेरै साथीहरूबाट साथ नपाएको गुनासो गरेका थिए । सुशान्त भारतको चर्चित डान्सिङ रियालिटी सो ‘डान्स प्लस २’ को टप टेनभित्र परेर चर्चित बनेका थिए । सारुक र सुशान्त ग्ल्यामर क्षेत्रसँग जोडिएको हुनाले समाचार बने र उनीहरूको अवस्थाका बारेमा धेरैले चाल पाए । तर, नेपालमा मानसिक रोगका कारण ज्यान लिने मानिसहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको छ ।
चालू आर्थिक वर्षको ११ महिनाभित्र ७ हजार हाराहारीले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । यस हिसाबले हेर्ने हो भने अहिले पनि नेपालमा दैनिक २१ जनाले आत्महत्या गरिरहेको देख्न सकिन्छ । यो तर्साउने तथ्यांक हो ।
सामाजिक र आर्थिक अवस्थामा आएको दबाबका कारण नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव परिरहेको छ । तर, सरकारसँग भने यो अवस्थालाई न्यूनीकरण गर्ने संरचना र जनशक्तिको सर्वथा अभाव छ ।
सरकारले सामान्य स्वास्थ्य सेवासँगै मनोचिकित्सालाई पनि एकीकृत रूपमा अगाडि लैजानुपर्ने कागजी योजना बनाएको छ । पूरै गडबड नभएसम्म मानसिक रोगी अस्पताल टेक्न नरुचाउने र आफूलाई मानसिक रोगीका रूपमा चिनाउन पनि नचाहने मनोविज्ञानका कारण सरकारले सामान्य स्वास्थ्य सेवासँगै मनोचिकित्सालाई पनि जोड्ने सोच सही मान्नु पर्छ । तर, यो पक्ष कार्यान्वयनमा भने शून्य छ । योबाहेक लाजलाग्दो अवस्था सरकारी दरबन्दीमा छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजनामा उल्लेख भएअनुसार अहिले देशभर २०० जना मनोचिकित्सक, ३५ जना चिकित्सा मनोविद्, ८५ जना साईक्याट्रिक नर्स, २०० जना मनोविद्, ८०० जना तालिम प्राप्त मनोपरामर्शकर्ता र केही संख्यामा तालिम प्राप्त मनोसामाजिक कार्यकर्ता कार्यरत रहेका छन् ।
२०–३० प्रतिशतका दरले बढ्ने क्रममा रहेको यो रोगमा यति न्यून जनशक्ति हुनुले मानसिक स्वास्थ्यको क्षेत्रमा सरकार कति निरीह छ भन्ने तथ्य प्रस्तुत गर्छ ।
अस्पतालबाट उपलब्ध गराइने सेवा विशेषतः मेडिकल मोडलमा आधारित रहेको छ । चिकित्सा मनोविद्, मनोविद्, तालिम प्राप्त मनोपरामर्शकर्ता र सामाजिक कार्यकर्ताको संख्या अत्यन्त न्यून भएकोले व्यक्तिको मनोसामाजिक अवस्था विश्लेषण गरी त्यही अनुसार मनोसामाजिक सेवा प्रदान हुन सकेको छैन ।
मानसिक स्वास्थ्य समस्याकै कारणले उत्पादकत्वमा आउने ह्रासले परिवार, समाज र राष्ट्रलाई नै ठूलो आर्थिक नोक्सानी पुगिरहेको छ । डिप्रेसन र चिन्ताजन्य समस्याको उपचारमा सय रुपैयाँ खर्च गर्यो भने त्यसले ४ सय बराबरको प्रतिफल दिन्छ भन्ने अध्ययनहरूले देखाएका छन् । त्यसैले मानसिक स्वास्थ्यका क्षेत्रमा बजेट वृद्धि गरी मानसिक स्वास्थ्य समस्याको रोकथाम, उपचार र पुनःस्थापना कार्य गर्न सकियो भने त्यसले नागरिक जीवन मात्र बच्ने नभई व्यक्ति, परिवार र राष्ट्रको पनि भलो हुनेछ ।
दश वर्ष लामो द्वन्द्व, राजनैतिक र सामाजिक अस्थिरता, रोजगारीको लागि विदेश पलायन हुनुपर्ने बाध्यता, जनसंख्यामा ज्येष्ठ नागरिकको बढ्दो अनुपात, गरिबी, अव्यवस्थित सहरीकरण, लैङ्गिक हिंसा, सामाजिक विभेद, प्राकृतिक विपत्तिको कारण धनजनको क्षतिले निम्त्याएको पीडा आदि जस्ता कारणले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको अनुमान गरिएको छ ।
सतहबाट हेर्दा सारुकको घटना कला क्षेत्रका लागि अप्रत्यासित देखिए पनि भित्रभित्रै यसले विकराल रूप लिन सक्ने आँकलन गर्न सकिन्छ । तुलनात्मक रूपमा हेर्दा सारुकको कला यात्रा सहज थियो किनकि उनको पिता सानु ताम्राकार अभिनयमा स्थापित नाम थिए । उनलाई कामको पनि कमी थिएन । तर, सुटिङ चलिरहेकै समयमा उनले आत्महत्या जस्तो संगीन कदम लिन बाध्य हुनुले उनी मानसिक रूपमा हदैसम्म असन्तुलित रहेको संकेत गर्छ ।
त्यसैले यो घटनाबाट पाठ सिकेर सरकार, निजी क्षेत्र, स्कुल तथा विश्वविद्यालयले मनोचिकित्सालाई प्राथमिकता दिएर सोहीअनुसार सेवा प्रदान गर्नुपर्दछ । किनकि रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु श्रेयस्कर मानिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया