सम्पादकीय
गोरखकाली टायर उद्योगमा प्रचण्डले बिर्सेका वाचा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा–२ बाट प्रतिनिधि सभाको निर्वाचन भिड्दै गर्दा त्यहाँका मतदाताहरूसँग गरेका धेरै वाचाहरूमध्ये एक हो— गोरखकाली टायर उद्योगको पुनः सञ्चालन । सात वर्षअघि औपचारिक रूपमै बन्द भएको यो उद्योग पुनः सञ्चालन भएमा गोरखावासीले उद्योगमा काम पाउने आश्वासन दाहालले दिएका थिए । अहिले दाहाल प्रधानमन्त्री नै भएकाले गोरखकाली टायर उद्योगले पुनः जीवन पाउने आशामा उनका मतदाता छन् ।
गोरखकाली टायर उद्योग आयातीत रबर र टायरमध्ये कम्तीमा ५० प्रतिशत हिस्सालाई प्रतिस्थापन गर्ने गरी २०४९ सालदेखि सञ्चालनमा आएको उद्योग थियो । उद्योगमा राजनीतिक दलका नेताहरूले आफ्ना आसेपासे र कार्यकर्ताहरूलाई ‘महाप्रबन्धक’ बनाउँदा व्यवस्थापन गर्ने बुद्धि र सही नियत नभएर अन्ततः बन्दै हुन पुग्यो । २०७७ सालमा मन्त्रिपरिषदले उद्योगमा कार्यरत कर्मचारी/मजदुरहरूलाई औपचारिक रूपमै बिदाई गर्न ९५ करोड रुपैयाँ खर्च गर्यो ।
पञ्चायतकालमा खुलेका, चलेका अधिकांश सरकारी कलकारखाना नेताहरू बेचबिखन गरे । कथित निजीकरणका नाममा बेचेर उद्योगका जग्गा व्यापारीलाई पोसे । गोरखकाली रबर उद्योगचाहिं कुव्यवस्थाका कारण बन्द हुन पुगेको थियो । उद्योग मन्त्रीहरूका गिद्देदृष्टि नै सरकारी उद्यममा अझै पनि पर्ने गरेका छन् । हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टको माग र बजार हुँदाहुँदा कुव्यवस्था र कुनियतका कारण गति लिन सकेका छैनन् ।
हाम्रो अर्थतन्त्र आयातमुखी छ । आयात नगरी भात पनि खान पाइँदैन । यहीं फलाउने बन्दोबस्ती गर्न नेताहरूले दिँदैनन् अर्थात् सुव्यवस्था छैन— सिँचाइ, रासायनिक मल, बीउ र बजार आदिको । त्यही भएर एक रुपैयाँको निर्यात गर्दा १० रुपैयाँको आयात हुँदै आएको छ अनि दैनिक चार अर्ब रुपैयाँको घाटा छ । आयात नगरी सरकारको भन्सार (राजस्व) पनि उठ्दैन । उठेकै राजस्वले नेता र कर्मचारीहरूलाई तलब भत्ता खुवाउन पुग्दैन ।
आयात प्रतिस्थापन नगरी कुनै पनि मुलुकको अर्थतन्त्र दिगो हुँदैन । उपभोग र खपतमै भएभरका पैसा सकिएपछि विकास निर्माण गर्ने पुँजी हुँदैन । ऋण लिँदै (गलत) आयोजनामा लगानी गर्ने नेताहरूको प्रवृत्ति छ— चिनियाँ जहाज खरिद, पोखरा र भैरहवा एयरपोर्ट निर्माण जस्ता । ऋण लिएर बनाइएका परियोजनामा भ्रष्टाचार त छँदैछ, त्यसमाथि ती परियोजनाले प्रतिफल दिँदैनन्, त्यही भएर सार्वजनिक ऋण नै २३ खर्ब रुपैयाँ पुग्न लागिसक्यो ।
त्यसैले आयात प्रतिस्थापनका लागि सबै क्षेत्रमा सम्भव नहोला । तर, पेट्रोलियमलाई विस्थापित गर्न सकिन्छ, सैद्धान्तिक रूपमा, व्यावहारिक रूपमा लगानी अभावमा सम्भव भइरहेको छैन । त्यसैगरी गोरखकाली टायर उद्योगलाई पुनः ब्यूँताउन सकिन्छ । किनभने यही उद्योगलाई लक्षित गरी २०४० सालदेखि पूर्वी तराईमा रबर खेती सुरु गरिएको थियो । जुन अद्यापि छ ।
आदिकवि भानुभक्त आचार्यले भनेका छन्, ‘ज्यूँदै मर्याको भनी नाम कसको, उद्यमबिना बित्दछ काल जसको ।’ उद्यम नगरी मुलुकको आर्थिक–सामाजिक विकास असम्भव छ । रोजगारी नभएर दैनिक दुई हजारभन्दा बढी विदेशिने गरेका छन् । अनि स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग दिगो मात्र होइन, प्रतिस्पर्धी पनि हुन्छ । जसरी अहिले नेपाली सिमेन्ट भारत निर्यात हुन लागेको छ ।
रबर वैज्ञानिक तथा ‘इन्ष्टिच्यूट अफ रबर रिसर्च’ नेपालका कार्यकारी निर्देशक तिलक भण्डारीका अनुसार नेपालमा वार्षिक ४० हजार मेट्रिक टन प्रशोधित रबर उत्पादन हुन सक्छ । ३० हजार हेक्टरमा रबरखेती गर्न सकिने सम्भावना भएकाले आयातीत रबरको उल्लेख्य परिमाणलाई यसले घटाउन सक्छ । तर, दुःखको कुरो के छ भने नेपालमा रबर खेतीलाई सरकार वा कृषि मन्त्रीहरूले त्यति रुचाएका छैनन् । खेती किसानी गर्नेहरूलाई सघाउँदा त्यति कमीसन नआउने भएकाले पनि उनीहरूको रुचि नभएको हुन सक्छ । अब यो सोच र मानसिकताबाट माथि उठेर आयात प्रतिस्थापन हुने क्षेत्रको एक/एक पहिचान नगर्ने, त्यसअनुसारको रणनीति, कार्यनीति, योजना र कार्यक्रम बनाउन ढिला भइसकेको छ । यस्तो कुरो योजना आयोगमा बसेकाहरूले पनि थाहा पाउनु पर्यो । खालि कागजी योजना बनायो, तलब भत्ता पचायो मात्र गर्नु भएन ।
प्रधानमन्त्री दाहालले गोरखा–२ मा आफ्ना मतदातासँग गरेको वाचा भुल्नु भएन । गोरखा-२ का मतदातासँग गरिएको वाचा उनको निर्वाचन क्षेत्र मात्र होइन, सिंगो मुलुकलाई नै लाभ हुन्छ । तसर्थ प्रधानमन्त्री र उनलाई सघाउने उनको ‘असल टिम’ ले गोरखकाली रबर उद्योग र पूर्वी तराईमा रबर खेती गरिरहेका किसानलाई एकसाथ उकास्नेतिर लाग्नु उचित हुने देखिन्छ । यदि गोरखकाली टायर उद्योगलाई हेटौंडा सिमेन्टजस्तै चलाउने हो भने चाहिं काम छैन । यसलाई व्यावसायिक व्यवस्थापनबाट सञ्चालन गर्नुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया