सम्पादकीय
विद्युतमा सन्दीपकुमार देव समितिको स्वागतयोग्य सुझाव
ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित एउटा समितिले मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको जलविद्युत् विकासका लागि कोशेढुंगा सावित हुने गज्जबको प्रतिवेदन गत साता ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई बुझाएको छ । उक्त प्रतिवेदनमा दिइएको सुझाव कार्यान्वयन गर्ने हो भने नेपालको जलविद्युत् विकासमा एउटा उछाल नै आउने अपेक्षा गर्न सकिन्छ । किनभने अहिले पनि विद्युत् खरिद सम्झौता (पीपीए) रोकिएको छ । ग्रीड कनेक्सन सम्पन्न भएका आयोजनाबाहेक पीपीएका लागि विद्युत् प्राधिकरणमा कुल ५,६८ मेगावाटका निवेदन परेका छन् । यी निवेदनअन्तर्गत नदी प्रवाही (आरओआर) तर्फ १६२८ (२८.८ प्रतिशत, अर्धजलाशययुक्त (पीआरओआर) तर्फ २७७५ (४९.२ प्रतिशत) र जलाशययुक्त १२४५ मेगावाट (२२ मेगावाट) रहेका छन् ।
आन्तरिक बजारमा खपत नहुने, भारत निकासीको टुंगो नभएकाले विगत चार वर्षदेखि प्राधिकरणले पीपीए रोक्दै आएको थियो । रोकिएका पीपीएमध्ये गत माघमा १५ सय मेगावाटको नदी प्रवाहीको पीपीए खुलाइएको छ । तर, पीपीएका लागि निजी क्षेत्र उत्साहित छैनन् । विशेष गरेर आर्थिक मन्दीका कारण । खुलेका पीपीएमध्ये सबै वित्तीय व्यवस्थापन गर्न सक्ने अवस्थामा छैनन् । त्यही भएर तोकिएको कोटा वा सीमाको पनि विद्युत् उत्पादन हुने अवस्था सुनिश्चित भएको छैन ।
देशको बढ्दो विद्युत् माग आपूर्ति गर्न नसक्दा भविष्यमा पुनः लोडसेडिङको अवस्था दोहोरिन सक्ने देखिन्छ । सुख्खायामका महिनाहरूमा नेपाल अहिले पनि विद्युतमा आत्मनिर्भर छैन, भारतबाट आयात गर्दै आइरहेको छ र आगामी दिनमा पनि आयात गरिरहनुपर्ने बाध्यता छ । यसले गर्दा प्रतिव्यक्ति ऊर्जा खपत बढ्दै जाने अवस्थामा नदी प्रवाहीकै बाहुल्यता भएकाले सुख्खायाममा विद्युत् आपूर्ति जटिल नै हुने देखिएको छ । यहींको उत्पादनले नपुगेपछि भारतबाट आयात गर्नु बाध्यता हो । भारतले पनि कोइला आयात गरी उत्पादन गरेको बिजुली सस्तो मूल्यमा दिँदैन । पर्याप्त विद्युतको अभावमा औद्योगिक उत्पादनको वातावरण नै बिथोलिन गएको छ र यसले अर्थतन्त्रलाई कमजोर तुल्याइरहेको छ । त्यति मात्र होइन, विद्युत् नै देश विकासको मेरुदण्ड भएकाले कृषि, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा विद्युत अपुगले प्रतिकूल असर पार्छ नै । भविष्यमा ऊर्जा परनिर्भरता बढ्दै गई नेपालले भूराजनीतिक असरहरूबाट उत्पन्न हुने असज परिस्थितिको सामना पनि गर्नुपर्ने लगायतका तथ्यलाई विश्लेषण गरेर समितिले बडो सुझबुझपूर्ण तवरले प्रतिवेदन दिएको छ ।
मन्त्रालयले यो प्रतिवेदनलाई आत्मसात् गरी ऊर्जा उत्पादनको सुनिश्चितताका आधारहरू तय गर्नुपर्ने देखिन्छ । यसका लागि प्रतिवेदन कार्यान्वयन गर्नका लागि गर्नुपर्ने नीतिगत निर्णयहरू यथाशक्य चाँडो गर्नु वाञ्छनीय हुने देखिन्छ । अन्य क्षेत्रमा भन्दा मुलुकको विद्युत् क्षेत्रमा बन्ने यस्ता अध्ययन टोलीले दिएका प्रतिवेदन र सुझावहरू लागू भएको देखिन्छ । यो प्रतिवदनको कार्यान्वयनले लाइसेन्स ओगट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ । सौर्य ऊर्जाको विकासमा मद्दत पुग्ने देखिन्छ । नेपालमा उपलब्ध जलस्रोतको सदुपयोग भई यसबाट उत्पादन हुने ऊर्जाको उपयोगलाई जोड दिइएको छ । पीपीए नै रोक्ने हो भने अबको तीन, चार वर्षमा विद्युत् अभाव हुने निश्चित छ । छिमेकी भारतमा पनि विद्युतको चरम संकट पर्दै गएको अवस्था छ । जसरी अहिले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ भारतले, भोलि विद्युत् निर्यातमा पनि रोक नलगाउला भन्न सकिन्न ।
वर्षायाममा मात्र वर्षे बिजुलीको बाहुल्यता छ । यो प्रतिवेदनले हिउँदयामको लागि अर्धजलाशय र पूर्ण जलाशय प्रकृतिको आयोजना निर्माणलाई प्राथमिकतामा राखेको छ । अझ जलाशययुक्त आयोजनाको लागत बढी पर्ने भएकाले लाइसेन्सको अवधि नै ४५ वर्ष हुनुपर्ने सिफारिस गरेको छ । तसर्थ प्रतिवेदनलाई अक्षरंश पालना गर्नु ऊर्जामन्त्री शक्तिबहादुरको दायित्व र धर्म हो । विद्युत् उपलब्ध छ भन्ने ग्यारेन्टी भएमा मात्रै यहाँ उद्योगहरू खुल्छन् । अहिले त बिजुली पाउने ग्यारेन्टी छैन । उल्टो आयात गर्नुपरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया