सम्पादकीय
डाँडो कोपर्न र नदी साँघुर्याउन छाडौं
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ११ बजेसम्म सतर्क रहन सबैलाई मोबाइल मार्फत आग्रह गर्यो । अलिकति पानी पर्दा पनि देश नै आतंकित हुने स्थिति छ । राजमार्गहरू अवरुद्ध हुने, पहिरो खस्ने, जिउज्यान जाने, बगाउने, पुरिने, डुबिने आदि यही वर्षायाममा हुने गर्छ, प्रायः हरेक वर्ष । वर्षा सकिएपछि विगतको वर्षायाममा त्यसले कहाँ कति विध्वंस पार्यो, त्यस्तो विनाश पुनः हुन नदिनेतर्फ सबैले बिर्सने गर्छन् ।
विश्व नै मौसम परिवर्तनको असरका कारण जटिल मोडमा छ । युरोप, अमेरिकातिर खडेरीले बसिनसक्नु भएको छ । तापमान नै ५० डिग्री पुगिसकेको छ । कतै आँधी तुफान, कहीं अनावृष्टि खडेरी, कहीं अतिवृष्टि, हाँडीघोप्टे मुसलधारे वर्षा, कहीं डढेलो । यी सबै कार्बन डाइअक्साडको उत्सर्जनका कारण हो । चीन, अमेरिका र भारत विश्वमा यस्तो ग्यास उत्सर्जनमा पहिलो कित्तामा आउँछन् । नेपालले भने गर्दै नगरेको अपराधको सजाय भोगिरहेको छ । त्यसमाथि संघीयता लागू भइसकेपछि बनेका ‘डोजराध्यक्ष’हरूले डाँडोपाखो कोपरेर हरेक ठाउँका बासिन्दालाई जोखिममा हालिदिएका छन् । प्राकृतिक हिसाबले छरिएर बग्ने पानीलाई सडक बनाउने नाममा एउटै ठाउँबाट ओइर्याउँदा त्यसले विकास होइन, विनाश ल्याउँछ र ल्याइरहेको छ ।
‘डोजराध्यक्ष’ हरूले हरेक वर्ष नयाँ-नयाँ ठाउँमा सडकको ट्रयाक खोल्छन् । सडक विभागले विदेशी परामर्शदाता र विदेशी निर्माण कम्पनीमार्फत निर्माण गराएका सडकले धरि यस्तो बाढी, पहिरो र झरी थेग्न सक्दैन भने डोजराध्यक्षले बनाएका अपूर्ण ट्रयाकहरूले नै गाउँलाई सखाप पार्दैछन् । अघिल्लो वर्ष खनिएको ट्रयाकले गाउँमा पहिरो आएको र उठिबास लगाएको, मृत्यु नै गराएको देख्दादेख्दै हिउँद लागेपछि र खातामा बजेट देखेपछि पुनः खन्न गइहाल्छन् । मानौं विकास भनेकै सडक हो । फेरि त्यसरी बनाइएका सडक ट्रयाक खनेर मात्र छाडिन्छन्, जसले ठूलो विनाश निम्त्याउँछ । यो प्रवृत्तिमा केही गरे पनि रोक लगाउन सकिएन ।
उपत्यकामै डुबान हुने, मान्छे बगाउनेजस्ता अवस्था बढ्दो छ । शहरमा बगेका नदी मिचेर घर बनाउने, नदीमाथि नै स्ल्याब राखी ढलान गर्ने, नदीलाई साँघुरो पार्नेजस्ता कार्य भएपछि नदीले आफ्नो स्वाभाविक प्राकृतिक रूप देखाउँछ । अर्थात् पानी बग्न नपाएपछि जम्ने नै हो । जस्तोसुकै ठाउँमा घर बनाउँदा पनि महानगर वा नगरपालिकाले स्वीकृति दिने, सम्बन्धित निकायले खोलो मिचिँदा आँखा चिम्लने गर्नाले अहिले उपत्यकामा परेको पानीले निकास पाएन र डुबान हुन गयो ।
दुई साताअघि सामाखुसीमा एक बालकलाई खोलाले बगायो, १३ दिनपछि शव भेटियो । त्यो खोलालाई स्ल्याबले ढलान गरी ठाउँठाउँमा पुरिएको हुनाले खोलाले बगाउने बित्तिकै ती बालकको उद्धार हुन सकेन । अहिले काठमाडौँ महानगरपालिका ती स्ल्याबहरू धमाधम भत्काउँदैछ । काठमाडौँकै कपन क्षेत्रमा पनि हालत उस्तै छ । विष्णुमति नदीलाई सबैले मिचेका छन् । नदी साँघुरो पारिएको छ । त्यसैको फलस्वरूप बाढीले कपनलाई जहिले पनि त्राहिमाम तुल्याउँछ । यसरी मानवजन्य कुकर्मका कारण आज खोलानालाको प्राकृतिक बहाव रोकिन जाँदा त्यसले ताण्डव नृत्य गर्ने नै भइहाल्यो । यो समस्या काठमाडौँ उपत्यकामा मात्र होइन, देशका प्रमुख शहरहरूमा व्याप्त छ । नदीलाई पहिलेको स्वाभाविक स्वरूपमा बग्न नदिएसम्म त्यसले छाड्दैन । त्यसमाथि मौसम परिवर्तनका कारण पर्ने हाँडीघोप्टे पानीको असर आगामी दिनमा झन प्रलयकारी हुनेछ । आजैबाट डाँडो कोपर्न र नदी साँघुरो पार्ने कृत्य बन्द गर्नुपर्छ । साँघुरो पारिएको नदीलाई उसको वास्तविक रूपमा बग्ने बनाउन अवैध संरचना हटाउनुपर्ने हुन्छ । यसैका लागि सबै दल गम्भीर बन्न आवश्यक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया