सम्पादकीय
बालसुधार गृह काण्ड छानबिन गरी दोषीलाई कारबाही गर
कुनै कानुनी विवादमा परेका बालबालिकालाई जेल होइन सुधार गृहमा राखिनुपर्छ भन्ने व्यवस्था कानुनले नै गरेको छ । त्यही भएर ‘बाल कैदीबन्दी गृह’ नभनी ‘बाल सुधार गृह’ नाम राखिएको हो । तर सुधार गृहमा रहेका २९८ बालबालिकाहरुमाथि सुधार गृह सञ्चालकले न्यूनत सुविधा उपलब्ध नगराएको, थिचोमिचो गरेको, यातना दिएको, सफा खाना नदिएको, स्वच्छ पानी नदिएको, उपचारमा हेलचेक्य्राईं लगायत थुपै्र अन्याय एकैचोटी हिजो प्रकटीकरण भयो । अर्थात् बालबालिकाहरुले विद्रोह गरे । तीन वर्षदेखि सुधार केन्द्रमा रहेका रामेछापका कमल बस्नेतको गत आइतबार मृत्यु भएपछि ती सुधार गृहमा रहेका बालबालिकाले विद्रोह गरेका हुन् ।
बाल मनोविज्ञान त्यसै पनि संवेदनशील हुन्छ । कुनै कानुनी विवादमा परेका कारण उनीहरुलाई दण्डित होइन, सुधार्नुपर्छ र बाँकी जीवन पुनः कानुनी विवादरहित होस् भन्ने ध्येययले सभ्य समाजले कल्पना गरेको सुधार गृह खोलिएको हो । तर कलिला बालबालिकालाई उचित शिक्षा, स्वास्थ्य, हेरविचार गरी आफ्नै छोराछोरीजस्तो गरेर राख्नुपर्नेमा मानसिक रुपमै उग्र स्वभावको बनाउने गरी जुन व्यवहार सञ्चालकले गर्दै आएका छन्, त्यो खेदजनक छ ।
मृतक बालक बस्नेतलाई पीलो र ज्वरो आएको थियो । उनको समयमै उपचार हुन पाएन । उनीको गत शनिबार नै मृत्यु भइसकेको अभिभावकको आरोप छ । तर प्रशासनले उनको मृत्यु आइतबार भएको भनेको छ । उपचार नपाएर मृत्यु भएका बस्नेतको देब्रे घुँडामाथि नीलो डाम छ । यसको अर्थ उनलाई त्यहाँभित्र निर्घात कुटपिट भएको प्रस्ट देखिन्छ । सुधार गृहको व्यवस्थापनमाथि कुनै गुनासो ग¥यो कि यातना दिने, घण्टौं उभ्याएर राख्ने, पानीसमेत पिउन नदिने गुनासाहरु सोही विद्रोहमार्फत सार्वजनिक भएका छन् । बिरामी भएपछि त्यहाँका जुनसुकै बालबालिकाको उपचार हुनुपर्छ । घर परिवारलाई जानकारी दिनुपर्छ । तर बस्नेत बिरामी भएको जानकारी उनका परिवारले शनिबार मात्र पाएका थिए । तर बाल सुधार गृहमा रहेका बालबालिकाहरुका अनुसार बस्नेत साता, दस दिनदेखि नै बिरामी थिए । व्यवस्थापनले उनलाई समयमा उपचार गराएन । त्यसैले बस्नेतको घुँडाभन्दा माथि नीलडाम देखिएकाले उनको ‘हत्या’ गरिएको आशंका छ ।
केही दिनअघि संखुवासभामा कारागारमा पनि दुई कैदीलाई भाग्न खोजेको आरोपमा प्रहरी र आन्तरिक प्रशासनले कुटपिट गर्दा ती दुबैको मृत्यु भएको थियो । यो घटनाको छानबिन भइरहेको छ । राज्यले आफ्नो नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गर्नु अपराध हो । बालसुधार गृहमा भएको ‘हत्या’ को छानबिन हुनुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ । शवपरीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । शवपरीक्षणबाटै निज बस्नेतको मृत्यु भएको कारण थाहा लाग्छ ।
राज्यले कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिइसकेपछि त्यो व्यक्तिको सम्पूर्ण जिम्मा राज्यकै हुन्छ । जतिसुकै व्यवस्था परिवर्तन भए पनि मानसिकता भने शासककै हुने गर्छ । बालसुधार गृह काण्ड पनि शासकको मति भ्रष्ट भएको रुपमा लिन सकिन्छ । त्यसमाथि १८ वर्ष उमेर पूरा गरेका बालिगहरु पनि त्यही राखिएको छ । जिल्ला प्रशासनले अन्य कारागारमा स्थानान्तरण गर्ने प्रयास गर्दा कारागार व्यवस्थापन विभागले वास्ता नगरेको बाहिर आएको छ । विभागको यो ढिलासुस्ती र हेलचेक्य्राई पनि अर्काे कुशासनको रुप हो । त्यसकारण मृतक परिवारको जाहेरी दर्ता गरी मुद्दा अघि बढाउनु्पर्छ र यसको छानबिन हुनुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया