सम्पादकीय
पद : उसैका लागि, फेरि उसैका लागि
‘सधैँभरि किन तिनै अनुहार ?’ दलीय कचिङ्गल र महाधिवेशनका बखत यस्ता प्रश्न उठछन् । बिस्तारै बिलाउँछन् । युवा पुस्ताले राजनीतिक शुध्दीकरण, पध्दति सुधार र पुस्ता हन्तारणका अभियान बेला बखत चले जस्तो भान पार्छन् । तर यस्ता अभियानले संस्थागत रूप धारण गर्न नपाउँदै तुहिन्छ । अर्थात् यस्ता गम्भीर मामिला ‘पानी-फोका’ जसरी उठ्दै बिलाएपछि बूढा पुस्ताका नेताहरूलाई आनन्द मिल्छ । अझ तिनै बूढा नेताहरूले प्रश्न उठाउनेहरूलाई प्रयोग गर्दै आफ्नो गुट बलियो बनाउँछन् ।
अनि आजीवन पदमा रहन्छन्- पार्टीको कार्यकारी पद होस् या शासकीय पद । प्रजातन्त्र पुनःस्थापनासँगै ३० वर्षअघि सत्ता-वृत्त (पार्टी, सरकार र संसद्) मा उदाएका उनै पुराना पात्रहरू यतिखेर गुटीय राजनीतिमा व्यस्त छन्, दलीय पध्दति छिन्नभिन्न पार्दै ।
लोकतन्त्रपछि उदाएका राजनीतिक पात्रहरूका त कुरै छाडौं । तिनले न पार्टी छाड्छन् र न सत्ता नै । त्यो दृश्य लोकतन्त्रवादी भनिएको नेपाली कांग्रेसमा निरन्तर छ र वामपन्थी शक्ति नेकपामा पनि । त्यतिमात्र होइन, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसवादी पार्टीको हालत पनि उही हो । हाम्रो दलीय पध्दति यसरी नै चलिरहेको छ । मुलुक तिनैको झगडाको दुश्चक्रमा फसेको छ ।
केन्द्र छाड्दै प्रदेशका मुख्यमन्त्री बनेका शंकर पोखरल कार्यकारी पदले ‘अवकाश लिने’ नीति नहुँदा दलको आन्तरिक जीवन प्रभावित भएको निष्कर्षमा पुगेका छन् । हो, पोखरेलको भनाइ र तर्क जायज छ । विश्वका धेरैजसो मुलुक र अझ लोकतान्त्रिक पध्दतिमा हिँडेका मुलुकमा तीसौँ वर्षसम्म एकै पात्र पार्टी र सरकारको कार्यकारी पदका निम्ति लडाइँ गरिरहेको दृश्य विरलै मात्र देख्न सकिन्छ । उनीहरू शासकीय पदलाई जागीर ठान्दैनन् ।
एक-दुई कार्यकाल पूरा गरी बाहिरिन्छन् । तर हामीकहाँ ‘अवकाश नीति’ बनेन, त्यहीकारण आर्यघाट पनि पदसहित पुगेको दृश्य बाक्लिँदो छ । सत्तारूढ नेकपा सचिवालयमा बूढा पुस्ताका नौ सदस्य छन्, जहाँ वर्तमान र पूर्व गरी प्रधानमन्त्री चार छन् । अनि उप्रधानमन्त्री र पार्टी महासचिव अनेकन् पटक बनेकाहरू हाबी छन् । तिनकै झगडामा नेकपा थिलथिलो हुँदै छ, कुनै बेला अराजक रूप लिने हो कि भन्ने आशंका पनि बढाएको छ ।
तिनले न पार्टी छाड्छन्, न सत्ता । यस्तो दृश्य लोकतन्त्रवादी भनिएको नेपाली कांग्रेसमा निरन्तर छ । र, वामपन्थी शक्ति नेकपामा पनि । सबै दलमा !
यतिखेर नेकपामा जस्तो दृश्य मञ्चन हुँदै छ, त्यही नेपाली कांग्रेसभित्र २०५० देखि २०५९ असारसम्म यस्तै नाटक मञ्चन भएका थिए । कांग्रेस विभाजनसँगै त्यो मत्थर भयो । २०६४ मा जोडिएपछि फेरि उही पुरानो ‘रिल’ घुम्यो । सत्तासँगै दलमा झगडा चर्किन्छ, सँगै बूढा नेताहरूले विश्राम लिनुपर्छ भन्ने बहस पनि चल्छ । सुविधाजनक बहुमत हुँदा २०५० बाट कांग्रेसमा बूढा नेताहरू अभिभावक या संरक्षकमा सीमित हुनुपर्छ भन्ने बहस चल्यो । तर त्यो बहसमै सीमित रह्यो ।
कांग्रेस तीन शीर्षस्थ नेतामध्ये सर्वोच्च नेता गणेशमान सिंहले पार्टीभित्र बाक्लिएको गुटबन्दीसँगै कांग्रेस छाडे । त्यसपछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच २०५७ सम्म निरन्तर सत्ता लडाइँ चलिरह्यो । युवा पुस्ताका नेताहरूको समय दुई नेता मिलाउँदैमै सकियो । उतिबेला नेताहरू मिलाउँदै ‘अभिभावक बन्नुपर्छ’ आदर्श छाँट्ने शेरबहादुर देउवा र रामचन्द्र पौडेल यतिखेर झगडा चर्काउँदैछन् । दोस्रो र तेस्रो पुस्ताका नेता भनिनेहरू चाहिँ तमासा हेर्दैछन् ।
सुविधाजनक बहुमतको कांग्रेस सरकार हुँदा प्रधानमन्त्री र पार्टी सभापति एकै व्यक्ति हुनुहुन्न भन्ने आवाज उठ्थ्यो, ‘एक व्यक्ति एक पद ।’ त्यसरी नै नेकपा सत्तारूढ भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालले ‘एक व्यक्ति एक प्रमुख’ अवधारणा ल्याए । तर, नेपाल नेतृत्व हस्तान्तरणको सन्दर्भमा मौन रहे । अर्थात्, उनको चाहना ‘एक प्रमुख’ आफू हुनुपर्छ भन्ने हो, युवा पुस्तालाई आफ्नै कार्यकालमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने होइन ।
नेकपा दुई तिहाइ नजिकैको मत लिएर सत्तारूढ भइरहँदा बूढा नेताहरूबीच गुटबन्दी बाक्लिएको छ । त्यसैलाई मलजल गर्दै लाभ लिन दोस्रो र तेस्रो पुस्ताका नेताहरू उमेर घर्काउँदैछन् । विरलै नेताहरू मात्र ‘नेतृत्व हस्तान्तरण’ वाक्यांश सामाजिक सञ्जालमा पोख्छन् । तर उनीहरू नेतृत्व लिन संस्थागत सामथ्र्य प्रदर्शन गर्न अक्षम छन् ।
कहिलेकाहीँ युवा पुस्ता अलि मुखर हुन खोजेको कि भन्ने संकेत मिल्छ । दुर्भाग्यतः त्यस्तो दृश्य निरन्तर रहन्न । उनीहरू संस्थागत रूपमै बूढा नेताहरूसँग पछ्याउने राजनीतिक कर्ममा लागेको पनि देखिन्न । दोस्रो या तेस्रो पुस्ताले विद्रोही रूप नदेखाउने हो भने सचिवालय कचिङ्गल व्यस्त नेताकै ‘आलोपालो’मा नेकपा चलिरहन्छ ।
अझ आफूलाई शक्तिशाली तुल्याउन गुटीय पध्दतिलाई चर्क्याउँछन्, पद-पावर-पैसाको व्यापक प्रयोग गर्दै । दशकौंदेखि राज्य सत्ता र पार्टी सत्ता दुईचार जना व्यक्ति वरिपरि नै घुमिरहेको देख्दा मवीवि शाहको भाकामा लाग्छ, पद : उसैका लागि, फेरि उसैका लागि ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया