सम्पादकीय
हार्दिक श्रद्धाञ्जलि सुवास नेम्वाङ
संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत सोमबार हृदयाघातबाट निधन भएका नेम्वाङका दुई सुपुत्र विदेशबाट नेपाल आउनुपर्ने भएकाले अन्त्येष्टि आज भएको हो ।
पटक पटक गरेर सार्वजनिक पदमा पुगेका नेम्वाङ कहिल्यै पनि विवादमा परेनन् । एमाले र अन्य दलका शीर्ष नेताहरु यद्यपि विवादास्पद छन् । कहिले ऐन परिवर्तन गराएर नीतिगत भ्रष्टाचारको दलदलमा फसेका छन्, कहिले मन्त्रिपरिषद्बाट निर्णय गराएर अर्थाेपार्जनका विभिन्न उपक्रममा सरिक भएका छन् । कोही ललिता निवासमा परेका छन्, कोही नक्कली भु्टानी, कोही वाइडबडी जहाज त कोही यती समूह आदि । तर नेम्वाङ नै त्यस्ता नक्षत्र हुन्, उनी कहिल्यै पनि आर्थिक, राजनीतिक र सामाजिक रुपमा विवादमा परेनन् । उनको सादगी जिन्दगी नै उनको आदर्श थियो । २०७७ सालमा केपी ओलीले दुई तिहाईको बहुमत रहेको संसद भंग गर्दा उनी मौन बसेका थिए । उनको मौनताको त्यति बेला आलोचना भएको थियो । उनले त्यतिबेला भन्ने गरेका थिए, ‘समय आएपछि बोल्छु ।’
नेम्वाङले बोल्दैमा ओली सच्चिनेवाला थिएनन् । बरु संसद विघटन गर्नुअघि नेम्वाङले विघटन नगर्न ओलीलाई सल्लाह दिएको कुरा चाहिं बाहिर आएका थिए । त्यसबाहेक अन्य मुद्दामा उनी कहिल्यै आलोचित भएनन् । बरु पटक पटक सभामुख बन्दा उनका लागि दलहरुबीच राष्ट्रिय सहमति नै बन्यो । यो उनको व्यक्तित्वको आकर्षण थियो । विद्वान् थिए । निष्ठा सफेद थियो । राजनीतिक सुझबुझ थियो । सबैलाई समेट्न सक्ने क्षमता थियो । त्यही भएरै उनलाई पहिलोपटक संविधान सभाको अध्यक्ष चयन गर्दा होस् वा संविधान जारी गराउने बखत सभामुखको भूमिका निर्वाह गराउने क्रममा होस्, सहमति नै बनेको थियो ।
नेम्वाङ यति लोकप्रिय थिए कि उनीविरुद्ध गठबन्धनले उठाएको उम्मेदवार नै गत संसदीय चुनावमा हार्यो । नेकपा एमाले विभाजित थियो । सामुन्ने गठबन्धन । यस्तो प्रतिकूल अवस्थामा समेत नेम्वाङले इलामबाट प्रतिनिधि सभामा विजयी हुनु भनेको उनको लोकप्रियता र निष्ठा नै हो ।
दलहरुका अन्य नेता कुर्सीमा पुग्दा कहीं न कहीं, कतै न कतै विवादमा परेकै छन् । तर कानुनमन्त्रीदेखि सभाध्यक्ष, सभामुखलगायतका उच्च राजनीतिक पदमा पुग्दा पनि नेम्वाङ कहिल्यै विवादमा परेनन् । उनको छवि कहिल्यै धूमिल भएन । सभाध्यक्ष र सभामुखको भूमिका निर्वाह गर्दा उनी आफ्नो दल एमालेभन्दा माथि उठेर पदीय मर्यादा र कर्तव्य निर्वाह गरेकै कारण उनको ओज उच्च रहन पुग्यो र उनले मुलुकलाई दिएको महत्वपूर्ण योगदानका कारण र सारा नेपालीको भावना बुझेर सरकारले पनि उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्यो ।
मृत्यु अवश्यम्भावी छ । ढिलो र चाँडो मात्र हो । तर नेपालीहरुको औसत उमेर हेर्दा नेम्वाङको कालगतिले मृत्यु भएको भने होइन । उनी ७० वर्षका मात्र थिए, देहत्याग गर्ने उमेर होइन । यसर्थ उनी अकालमै बिते । उनको निधनले मुलुकलाई ठूलो क्षति त पुगेको छ नै, साथै निष्ठाको राजनीतिको पर्याय बनेका र अहिलेसम्म कुनै आर्थिक तथा राजनीतिक विवादमा नपरेका नेम्वाङको सादगी जीवन अनुकरणीय रह्यो । विशेष गरेर नेपालको संविधान, २०७२ जारी गराउन नेम्वाङले खेलेको भूमिका आमनेपालीले बिर्सने छैन ।
एकदिन सबैले यो धर्ती छाड्नैपर्छ । तर छाड्दा कीर्तिसहित छाड्नु नै मानवको द्योतक हो । हाम्रा कतिपय नेताहरु आफ्नो पदसँगै देहत्याग गर्छन् । शारीरिक र मानसिक रुपले सकी नसकी पदमा बस्छन् । मर्ने बेला आउन लागिसक्दा पनि पद नछाड्ने अनि मुलुकविरोधी कार्य गर्ने कतिपय नेताका प्रवृत्ति थिए र त्यस्ता प्रवृत्ति अझै कतिपय नेतामा देखिन्छ पनि । अर्थात् मुलुकका लागि कुपात्र ठहरिएका र असन्दर्भिक भइसकेका व्यक्तिहरुचाहिं धेरै बाँचेको देखिन्छ । सुवास नेम्वाङ, प्रदीप गिरी, भीमबहादुर तामाङजस्ता नेताहरु भने असमयमै निधन भएको पाइन्छ । त्यसैले बाँचेका र उमेरले ७० कटेका नेताहरुले पुनः एकपटक नेम्वाङलाई सम्झेर उनले गरेका र मुलुकलाई दिएका योगदानबारे गम्भीर भएर सोच्ने र त्यसअनुसारको आफ्नो कर्म बदल्ने हो भने नेम्वाङप्रति सच्चा श्रद्धाञ्जलि दिएको ठहरिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया