सम्पादकीय

सम्पादकीय

मुटु जोगाऔं मुटु

इकागज |
असोज १२, २०८० शुक्रबार १८:५ बजे

आज विश्व मुटु दिवस । नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा करिब ७५ लाख नेपाली मुटु रोगी छन् । जीवनशैली, खानपान, अल्छीपन, उचित उपचारको अभाव लगायतका कारण नेपालमा पनि मुटु रोगीहरूको संख्या बढ्दै गइरहेको छ । त्यसमाथि सरकारी स्वास्थ्य सेवा अति नै फितलो भएका कारण मुटुरोगीहरू सकी नसकी, घरखेत बेचेर भए पनि उपचार गराउन बाध्य छन् । निजी अस्पतालहरूले पनि बिरामीसँग ‘दिल खुलाएर’ पैसा असुल्ने गर्छन् ।

उमेर बढ्दै गएसँगै शरीर पनि जीर्ण बन्दै जान्छ । शरीरका अंगहरूले काम गर्न छाड्छन् । त्यसमाथि अहिलेको हावापानी, वातावरण, विषादीयुक्त खानेकुरा, मिसावटपूर्ण तेल, प्याकेटका खाद्य पदार्थको उपभोग आदिका कारण पनि मुटुमाथि हमला हुँदै आइरहेको छ । त्यसैले रोगको उपचारभन्दा पनि रोग नै लाग्न नदिनतर्फ ध्यान दिनु जरुरी छ । यसका लागि जनचेतनाको व्यापक कमी छ । पैसा भएका, पहुँच भएकाहरूलाई पनि हृदयघात हुने गर्छ, कारण समयमै यसको उपचार नगरेर ।


मुटुको परीक्षण सामान्यतया चिकित्सकहरूले छ/छ महिनामा गर्नुपर्ने सल्लाह दिन्छन् । मुटुको परीक्षणका क्रममा करिब करिब सिंगो जिउकै परीक्षण गर्नुपर्ने हुन्छ । सरकारी अस्पतालमा महिनौं पालो आउँदैन । निजी अस्पतालले महँगोमा यो सेवा उपलब्ध गराउँछन् । रगत र पिसाब परीक्षण अनि मुटुको एक्सरे आदि गर्दा निजी अस्पतालमा १० देखि १५ हजार रुपैयाँ पर्छ । अझ मुटुको शल्यक्रिया नै गर्नुपर्दाको अवस्थामा लाखौं रुपैयाँ तिर्नुपर्ने हुन्छ । अनि कतिपय बिरामी उचित उपचार गर्न नपाएकै कारण जीवन गुमाउन बाध्य भएका छन् ।

अन्य देशमा स्वास्थ्य र शिक्षा राज्यको दायित्वभित्र पर्छ । हामीकहाँ स्वास्थ्य सेवा, उपचार खर्च सरकारले नेताहरूको मात्र गराउँछ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै आफैँ उपचार गरी बिलचाहिं सरकारलाई तिराएका छन् । केपी ओलीले करोडौं रुपैयाँ आफ्नो उपचारका लागि राज्यको खर्च गराए । जनस्वास्थ्य ऐन, २०७५ ले कुनै पनि नेता, कर्मचारीको उपचार खर्च सरकारले नगर्ने भनेको छ । तर, त्यसलाई पनि कुल्चेर नेताहरूले राज्यको ढुकुटीबाटै उपचार गराउँदै आएका छन् । सरकारी खर्चमा जीवन बाँचेर आइसकेपछि नेताहरूले मुलुक र नागरिकका लागि काम गर्दैनन्, बरु विभिन्न काण्डैकाण्डयुक्त आर्थिक अपराध गर्छन् ।

त्यही भएर जनस्वास्थ्य भगवान भरोसेमा चलेको छ । जसलाई पर्यो, पर्यो । मुलुकको सामाजिक र आर्थिक परिवेश, सरकारले दिने सेवालगायतका कारण अधिकांश नेपाली तनावमा हुन्छन् । मुटु रोग लाग्नुको एउटा प्रमुख कारण तनाव पनि हो । व्यवसायीहरू तनावमा छन्, आर्थिक मन्दीले । उपभोक्ताहरू तनावमा छन्, मिसावटले । राजनीतिक दलका नेताहरू सांसद र मन्त्री बन्न नपाएर र पैसा कमाउन नसकेर तनावमा हुन्छन् । कर्मचारीहरू आकर्षक ठाउँमा सरुवा नभएर र बढुवा हुन नपाएर तनावमा छन् । घर परिवारमा पनि मिलेर बस्न नसक्दा उत्तिकै तनावमा हुन्छन् । अनि खानपिन भने जाँड, रक्सी, चुरोट, रातो मासो, चिल्लो पदार्थ आदिको हुन्छ । प्रातःकालीन हिँडाइ छैन । शारीरिक अभ्यास छैन । चौबीस घण्टामा एक घण्टा आफ्नो ज्यानलाई दिने समय हुँदैन । त्यही भएर नेपालमा ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्ट्रोल छ ।

मुटु जोगाउन बिहान बिहान एक घण्टा हिँड्नुपर्छ । हिँड्ने ठाउँ छैन, विशेष गरी शहर बजारतिर । जताततै प्रदूषण छ । सडकमा धूलो उड्छ । गाडीले कालो धूवाँ फ्याक्छ । त्यसलाई नियन्त्रण गर्ने सरकारी संयन्त्र छैन । मुटु जोगाउन प्रातःभ्रमणमा निस्कँदा फोक्सोको प्रणाली ध्वस्त हुने जोखिम छ । यसरी राज्यको अकर्मण्यताले जताततै नागरिकहरू आक्रान्त बनेका छन् । 

हरियो सागसब्जी खानुपर्छ भनिन्छ । तर विषादी विषादी हालिएको हुन्छ । कन्दमूलजन्य तरकारीबाहेक सतहमा फल्ने तरकारीहरू विषादीले भरिएको हुन्छ । विषादी नहाली तरकारी नै नआउने भइसकेको छ । कुन तरकारीमा कति विषादी हालिएको छ, त्यसको परीक्षण गर्ने बन्दोबस्ती छैन । यही कारण देशमा मुटुरोगीको संख्या बढिरहेको छ । राज्यका उचित बन्दोबस्तले यो रोग लाग्न सक्दैन भन्ने आधार नै छैन । त्यही भएर व्यक्ति आफू र आफ्नो परिवारलाई आफैले जोगाउनुपर्ने र जोगिनुपर्ने अवस्था छ । 


Author

थप समाचार
x