सम्पादकीय

अपराधको राजनीतिकरण

इकागज |
असोज १७, २०८० बुधबार १८:४४ बजे

यो देशमा कहिलेकाहीं कसैको आशा नहुँदा एकमात्र भरोसा भन्ने गर्छ— न्यायालय । त्यही न्यायलयमा राजनीति घुसेर कार्यकर्ताहरू न्यायाधीश बन्न पुग्छन् र न्याय मर्ने गर्छ । यति हुँदा पनि आमनागरिकको भरोसा भने न्यायलयमा घटेको छैन । त्यही भएर राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका घुँडा हानेर हत्या गर्ने रिगल भनिने योगराज ढकाललाई पुनः जेलमै राख्नुपर्ने माग गर्दै मृतकका परिवार सर्वाेच्च अदालत पुगेका छन् । रिटमाथि तत्काल सुनुवाइ हुनुपर्ने भए पनि न्यायाधीश अभावको कारण देखाउँदै दोस्रो दिन पनि सुनुवाई हुन सकेको छैन । आशा गरौँ अदालतले समयमै यो निवेदनउपर सुनुवाई गर्ने नै छ, किनभने अझै पनि विधिको शासन मारेको छैन ।

शासकहरु कति क्रूर हुन्छन् भन्ने कुरा राष्ट्रपतिबाट भएको यो माफीले देखाएको छ । यसले अपराधलाई राजनीतिकरण मात्र गरेको छैन, राजनीतिलाई अपराधीकरण पनि गरेको छ । यिनका हातमा शासन पर्दा भ्रष्टाचार यिनैले गर्ने, कमिसन यिनै लाई खानुपर्ने, दिनदहाडै सार्वजनिकस्थलमै मान्छे मार्दा अनि अदालतबाट सर्वस्वसहित जेल सजाय भएका व्यक्तिलाई समेत माफी दिनुपर्ने । तीनै तहका अदालतले मुद्दा छिनेर, दोषी ठहर गरेर कैद ठोकेका व्यक्ति रेशम चौधरी पनि यिनैलाई छुटाउनुपर्ने । यिनीहरुको यो निकृष्टताले पराकाष्ठा नाघिसकेको छ । अर्थात् यिनका पापका घडा भरिन थालेका छन् । सहने पनि एउटा सीमा हुन्छ ।
नेपालगञ्जका चेतन मानन्धरलाई २०७२ साल असार २८ गते ढकाल र उनको समूहले खुँणा हानेर हत्या गरेका थिए । नेपालगञ्ज बाँके–३ का तत्कालीन तरुण दलका सभापतिसमेत रहेका ढकाल कांग्रेस भएकै कारण उनको खत ‘राजनीतिक सेटिङ’ मा माफ गरिएको छ । अर्थात् राजनीतिक पहुँच हुने जस्तोसुकै अपराधी पनि सजिलै उम्कन सक्ने र यसले समाजलाई थप भयभीत तुल्याएको छ ।


लोकतन्त्रको सबैभन्दा अनिवार्य तत्व कानुनी शासन हो । हिजो राजालाई कानुन नलाग्ने, भन्सार नलाग्ने, जति सुन ल्याए पनि चेकजाच नहुने आदि भन्दै राजतन्त्र फालियो । एउटा राजालाई फालेर हजार्रौं राजा पैदा गरियो । अनि त्यो राजतन्त्र र यिनका तन्त्रमा के फरक रह्यो ? संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र, गणतन्त्र आदि कसका लागि आयो ? केवल यिनका लागि मात्र आयो । कानुनको अगाडि कोही ठूलो र सानो हुँदैन भनेर जतिसुकै सिद्धान्त फलाके पनि यिनले गरेका कर्म र व्यवहारले यिनीहरु कुनै तानाशाह र निरंकुशभन्दा कम छैनन् भन्ने देखाएको छ ।

देशका जुनसुकै भाग होस्, न्याय नपाएपछि आउनुपर्ने काठमाडौं माइतीघर मण्डलमै हो जस्तो बनाइएको छ । अर्थात् माइतीघरमा आएर सत्याग्रह नगरेसम्म राज्यले सुन्दैन, न्यायालयले सुन्दैन । त्यही भएर मानन्धकारका परिवारले आजदेखि माइतीघरमा अनशन बस्न थालेका छन् । न्याय नपाएसम्म घर नजाने मानन्धर पत्नी भारतीको उद्घोषले लोकतन्त्र र संविधानलाई भने गिज्याइरहेको छ । हत्यारालाई संरक्षण गर्ने सरकार र राष्ट्रपतिको यो कदम हेर्दा देश त हत्यारा, गुण्डाहरूले पो चलाइरहेका हुन् कि भन्ने प्रतीत भइरहेको छ । आमनागरिकमा घोर निराशा छाएको छ, विश्व समुदायमा नेपालको बेइज्जत भइरहेको छ, र पनि यिनलाई लाज र शरम भन्ने लागेको छैन ।

कुनै पनि देशको विकास सर्वप्रथम विधिको शासनबाट सुरु हुन्छ । विधिको शासन नहुँदा अराजकता हुन्छ । यही अराजकताभित्र अनीति, भ्रष्टाचार, अत्याचारको सुरुवात हुन्छ । राष्ट्रपति संविधानको संरक्षक हो । सरकारले गरेको आममाफी संविधान विरुद्ध थियो । सरकारले सिफारिस गरेको भन्दैमा संविधानविपरीत गरेको काम सच्याउन लगाउने धर्म र जिम्मेदारी राष्ट्रपतिको थियो । ढकाललाई आममाफी नदिंदैमा गठबन्धनका दलहरूले राष्ट्रपति विरुद्ध महाभियोग ल्याउने त थिएनन् होला र महाभियोग लगाए पनि राष्ट्रपति संविधानप्रति निष्ठावान नै रहनुपथ्र्याे । राष्ट्रपति कांग्रेस वा माओवादीको हुँदैन । देशको हुन्छ । संविधानको रक्षक हुन्छ । हिजो केपी ओलीले गरेको असंवैधानिक कामलाई पनि राष्ट्रपतिले यसैगरी समर्थन गर्दै गएको अवस्था थियो र यो संस्था विवादमुक्त हुन सकेन । आफूलाई लोकतान्त्रिक, प्रजातान्त्रिक, समाजवादी, भन्ने कांग्रेसबाट राष्ट्रपति भएका पौडेलमा पनि अघिल्लो राष्ट्रपतिभन्दा पृथक् रहन सकेनन् । यसले उनको बचेखुचेको छविलाई ध्वस्त पारेको छ ।


Author

थप समाचार
x