सम्पादकीय
सेयर बजारमा लगाम लगाऊ
अर्थतन्त्रका सबैजसो उत्पादनमूलक क्षेत्रमा शिथिलता देखिएका बेला आश्चर्यजनक ढंगले सेयर बजार भने तीव्र रूपमा बढिरहेको छ । महामारीको दोस्रो लहर नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण अर्थतन्त्रमा अनिश्चितता थपिँदै जाँदा सेयर बजारले भने आश्चर्यजनक ढङ्गले नयाँ-नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक तीन हजार बिन्दू पार गरिसकेको छ ।
बजारको पुँजीकरण पनि कुल गार्हस्थ उत्पादनकै नजिक पुगिसकेको छ । ४२ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । जम्माजम्मी २८९ कम्पनी सूचीकृत रहेको नेपाल स्टक एक्सचेन्जमा वित्तीय कम्पनीहरूको प्रभुत्व छ । वास्तविक क्षेत्रका कम्पनीहरूको उपस्थिति न्यून छ । लगातार घाटा व्यहोरिरहेका कम्पनीहरूको समेत सेयर मूल्य वृद्धि हुनुले बजारमा सट्टेबाजले लगानीकर्तालाई दिग्भ्रमित पारिरहेको हुन सक्ने आशंका छ ।
धितोपत्रका नियामक निकायहरूले लगानीकर्ता सचेतना, बजारमा हुँदै आएका इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङका विषयमा समयमै अध्ययन गरी अत्यावश्यक कदम नचाल्दा पनि यहाँभित्र सट्टेबाजी प्रवृत्तिले बढावा पाएको छ ।
सबैभन्दा आश्चर्य त नेपाल राष्ट्र बैंकको मौनतालाई लिन सकिन्छ । बजार तीव्र बढ्दै गर्दा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७७-७८ को तेश्रो त्रैमासिक समीक्षा गर्यो र सेयर बजारलाई ‘बेलगाम’ छाडिदियो ।
सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको एक खर्ब रुपैयाँभन्दा धेरै ऋण परिचालन भइसकेको छ जबकि महामारी प्रताडित अर्थतन्त्रको पुनरुत्थानका लागि ल्याइएको पुनकर्जा कार्यक्रमअन्तर्गत जम्माजम्मी डेढ खर्ब रुपैयाँ परिचालन हुनुलाई राष्ट्र बैंकले बडो गर्वका साथ प्रचार-प्रसार गरिरहेको छ । पुनकर्जा आवश्यक हुने उत्पादनमूलक कम्पनीहरूले माग गर्दा पनि पुनकर्जा पाएका छैनन् ।
बजार स्वस्थ विस्तार हुनु राम्रो हो । अघिल्लो पटक बजार ‘बुल’ हुँदा २०७३ साउनमा नेप्से १८८१.४५ बिन्दूमा पुगेको थियो, सोमबार नेप्से ३,०२५.८२ बिन्दूमा छ । यसअघिको बजारको प्रवृत्ति हेर्दा पनि उच्चतम बिन्दूबाट बजार घट्न थालेपछि अवसादपूर्ण (डिप्रेसिङ) स्थितिमा पुगेर रोकिने र बजार बढाउन नियामकले विभिन्न सहुलियत दिनुपर्ने अवस्थामा पुग्ने गरेको छ ।
हामी कहाँ डेढ दशक अघि रियल स्टेटमा अनियन्त्रित ऋण लगानी गर्न दिएर रियलस्टेट बजारमा ‘बबल’ सिर्जना गरियो, पछि नेपाल राष्ट्र बैंकले ऋणमा क्याप लगायो । यस्तो अवस्थामा देखासिकी गर्दै रियलस्टेटमा पसेका साना र मध्यमस्तरका लगानीकर्ता मारमा परे ।
२०७३ सालको तुलनामा सेयरको आपूर्ति बढेको छ, बजार विस्तार भएको छ । डिजिटल कारोबार, राफसाफको अवधि छोट्याइएको छ । यी सबै सुधारले बजार बढ्न सघाएको हो भन्नेमा कुनै दुईमत छैन । लगानीका अन्य स्रोत संकुचित हुँदा सेयर बजारमा लगानीकर्ता प्रवेश गरेका हुन्, तर अहिलेको सेयर बजारको वृद्धि अत्यन्त असन्तुलित हुँदै गएको छ ।
यसको विस्तारको सीमासम्बन्धी कुनै मानक र नियामकले सिँधै बजारमा हस्तक्षेप गर्ने अवस्था त हुँदैन, यसमा लगानीकर्ता नै सचेत हुनुपर्ने हो । लगानीकर्ताले सेयरमा लगानी गर्दा प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, बुक भ्यालुमा बजार मूल्यको अनुपात हेरेर लगानीसम्बन्धी निर्णय लिनु उचित हुन्छ । बजार बढेको बेला सेयर बजारमा प्रवेश गर्नेले गुमाउने सम्भावना धेरै हुन्छ, यसमा सचेत र संयमित भएर लगानी गर्नुपर्छ ।
हामीकहाँ डेढ दशक अघि रियल स्टेटमा अनियन्त्रित ऋण लगानी गर्न दिएर रियलस्टेट बजारमा ‘बबल’ सिर्जना गरियो, पछि नेपाल राष्ट्र बैंकले ऋणमा क्याप लगायो । यस्तो अवस्थामा देखासिकी गर्दै रियलस्टेटमा पसेका साना र मध्यमस्तरका लगानीकर्ता मारमा परे ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको ४० प्रतिशतसम्म सेयर धितोमा ऋण लगानी गर्न दिएको छ । ऋण लगानी सीमा घटाउने वा धितो स्वीकार गर्दा औसत कारोबार मूल्य गणना गर्ने अवधि बढाउने लगायतका उपाय अपनाउन सकिन्छ ।
सामाजिक सञ्जालमा स्थिति गम्भीर छ भन्दै लेख्ने नेपाल राष्ट्र बैंकका गभर्नर र धितोपत्र बोर्डका अध्यक्षले यी दुई संस्थाका कर्मचारीले आफ्ना र आफ्ना आफन्तका नाममा किनेको सेयर उक्त कर्मचारी सेवा अवधिमा बहाल रहँदासम्म किनबेच नहुने (लक्ड) राख्नेलगायतका निर्णय लिएर बजारमा सुधारको तत्परता देखाउन जरुरी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया