सम्पादकीय

सम्पादकीय

सामाजिक सञ्‍जाल ‘हेरिनसक्नु’ भयो रे प्रधानमन्त्रीलाई !

इकागज |
असार ८, २०७८ मंगलबार १०:३४ बजे

मुलुकको शासन-समाज बिग्रनुको कारण र दोषको भारी ‘सामाजिक सञ्‍जाल’ प्रयोगकर्तामाथि बोकाउने ‘उपक्रम’ सुरु भएको छ, त्यो पनि मुलुकको सर्वोच्‍च कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीबाट । उनको अभिव्यक्तिको आशय छ, ओली मुलुकमा राम-राज्य स्थापित गर्न खोज्दै थिए, उत्पात-भद्रगोल चाहिँ सामाजिक सञ्‍जालमा जोडिएका नागरिकबाट भइदियो ।  सामाजिक सञ्‍जालमा नागरिकबाट पोखिएका प्रतिक्रिया समाज ‘अधपतन’ का कारक भएको संकेत-संज्ञा पनि उनीबाट मिलेको छ । 

ओलीकै शब्दमा, ‘सामाजिक सञ्‍जाल हेरिनसक्नु हुन्छ ।’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘योग दिवस’ मनाउने क्रममा ‘नैतिक र चारित्रिक’ पक्षमा केही शब्द खर्च गर्दै समाज भड्किनुको मूल कारण चाहिँ ‘सामाजिक सञ्‍जाल’ ठहर्‍याएका छन् ।


सकारात्मक आँखाबाट हेर्ने हो भने सामाजिक सञ्‍जालमा पोखिएका भावना, तथ्य र नागरिक मनोविज्ञान सरकारका निम्ति ‘फिडब्याक’ हुन् । सामाजिक सञ्‍जालमार्फत शासकीय चरित्र, क्रियाकलाप सन्दर्भमा सजिलै नागरिकका अभिमत बुझ्‍ने अवसर मिलेको छ । नागरिकले आलोचना र टिप्पणीसहित सरकारलाई सुधारिन सुझाएका हुन् । नागरिकको भावनाअनुरूप सुधारिँदै अघि बढेको खण्डमा आलोचना नै आउँदैन । अनि ओलीले ‘सामाजिक सञ्‍जाल’कै प्रभाव र अधिक प्रयोगबाट गएको संसदीय निर्वाचनमा लहर सिर्जना भएको तथ्य चाहिँ बिर्सनुहुन्‍न । 

त्यसअतिरिक्त के बिर्सनु हुँदैन भने यति सहनशील नागरिक त दुनियाँमा सायदै पाइन्छन् । मुलुक महामारी-महाव्याधिले आक्रान्त छ, नागरिक रोग-भोक-शोकको सन्त्रासमा छन् । प्रधानमन्त्री चाहिँ यही महाव्याधिमा पटक-पटक प्रतिनिधि सभा विघटन गरी मुलुकलाई अत्यासलाग्दो सुरुङभित्र प्रवेश गराउँछन् । उनलाई अरुले समस्या बढाइदिएका होइनन्, समस्या ओलीबाटै स्वसिर्जित हुन् । नागरिकहरू चाहिँ केही शब्द लेख्दै ओलीका असहज दृश्य सहेकै छन् । संविधान र लोकतन्त्रलाई क्षत्विक्षत् पारेको दृश्य सहेकै छन् । अनि नागरिक सडकमा उर्लिएका छैनन् । रेलिङ भाँचेका छैनन् । टायर जलाएका छैनन् । विपक्षी दलहरूले महिनौँसम्म संसद् अवरुद्ध तुल्याएका छैनन् ।

यति धेरै दृश्य सहँदासहँदै पनि शासकहरूले भद्रगोल रूप लिएपछि दुई-चार शब्द सामाजिक सञ्‍जालमा पोस्ट गर्दै नागरिकले आफूलाई अलिकति हलुका महसुस पनि गर्न नपाउने ? प्रधानमन्त्रीबाट राज्य संयन्त्र उत्पात ध्वस्त पारेको र लोकतान्त्रिक कालखण्डमा पनि सत्ता-राजनीतिलाई ‘छलकपट’को औजार बनाएको नियमित दृश्य नागरिकले सहेकै हुन् । लोकतन्त्र र संविधान क्षतविक्षत् तुल्याउँदै संवैधानिक अंगमा ‘अवैधानिक पात्र’हरू भरेको दृश्य नागरिकले टुलुटुलु हेरिरहेकै छन् । ती अवैधानिक पात्रले के काम गर्छन्, तिनीहरूबाट सम्पादित काम प्राविधिक मात्र हुन्, वैधानिक होइनन् । अवैधानिक पात्रहरूबाट सम्पादित काम निरन्तर प्रश्‍नवाचक घेराभित्र रहन्छ नै ।

इतिहासविद् बाबुराम आचार्यकै शब्द सापटी लिँदै भन्‍नुपर्ने हुन्छ, ‘अब यस्तो कहिल्यै नहोस् ।’ राज्यसंयन्त्र क्षतविक्षत पार्ने शासक मुलुकले भोग्‍नु नपरोस् । आधुनिक कालखण्डमा सार्वभौम नागरिकमाथि गाली र अपमानको वर्षा गराउने शासक पनि बेहोर्नु नपरोस् ।

अनि राज्य संयन्त्र अयोग्य, चाडकीदार, ढोके कार्यकर्ता भर्दै आफ्नै कर दोहोन भएको पनि नागरिकले सहिरहेकै छन् । हुँदाहुँदा राजूदतजस्तो पदमा नियुक्त भएका पात्रहरू हेर्नुस्, इतिहासमा यो हदको विकृति सायदै भएको थियो । राज्य संयन्त्रमा यसरी ‘कुँडाकर्कट’ भरिएको छ कि भावी दिनमा आउने शासकहरूलाई त्यो सफा गर्नमै लामो समय खर्चनुपर्ने हुन्छ ।

शासकीय केन्द्रीय थलो सिंहदरबारबाट विधिवत शासन गर्न असमर्थ प्रधानमन्त्रीलाई नागरिकले सहेकै छन् । निजी निवासबाट भूमिगत शैलीमा सञ्चालित शासनको पीडा नागरिकले सोह्र महिनादेखि सहेकै छन् । बालुवाटारमा व्यापारी-बिचौलियाका जमघट, पञ्चायतकालीन ‘लाइसेन्स राज’ हुँदा-हुँदा महामारीका समयमा औषधि-खोपमा समेत अमानवीय कृत्य मञ्चन भएको देखेकै हुन् । भ्रष्टाचारका अनगन्ती शृंखलामा प्रधानमन्त्री स्वयं न्यायाधीश हुँदै ‘भ्रष्टाचार भएकै छैन’ भनी चोख्याएकै हुन् । अनि त्यस्ता जमात-वर्गलाई प्रधानमन्त्रीबाट संरक्षण मिलेको तथ्य लुकाएर लुक्दैन । आफू जस्तै मुखाले र छुद्र टिप्पणी गर्नेहरूलाई पद बक्सिस दिएको पनि जगजाहेर नै छ । 

शासन संयन्त्रबाट खराब कर्मको आलोचना-टिप्पणी गर्नेहरू प्रधानमन्त्रीबाट गाली-अपमान मात्र होइन, खेदाइमा परेकै छन् । त्यो शृंखला ओली प्रधानमन्त्री भएपछिका नियमित कर्म हुन्, जसको लेखाजोखा गरिसाध्य छैन । शासकीय खराबी उजागर गर्ने पत्रकारहरूलाई ‘मुटु नभएका सम्पादक’को संज्ञा मिलेकै हो । प्रारम्भिक चरणमै बुद्धिजीवीहरूका जागरूक सुझावमाथि प्रधानमन्त्रीबाटै ‘बिर्को’ लगाउने काम भएकै हो । बुद्धिजीवी देश भँडुवा हुन्, तिनीहरू कोट काट्ने मुसा हुन् भन्‍ने उपमा ओलीबाट बाँडिएकै हो ।

नारी आवाज प्रधानमन्त्रीका कानमा ‘ट्याउँट्याउँ’ हुने हामीले उहाँकै मुखारविन्दबाट सुनेकै हो । शासकीय खराबीमा सुधार गर्न सुझाउने पूर्वप्रशासकहरूलाई ‘ठाउँका ठाउँ थला पार्ने’ चेतावनी पनि मिलेकै हो । आफूमात्र होइन, तमाम कार्यकर्ताहरूलाई ‘अरिङ्गाल’ जसरी जाइलाग्‍न उर्दी प्रधानमन्त्रीबाट भएकै हो ।

सामाजिक सञ्‍जाल हेरिनसक्नु हुन्छ भन्‍ने प्रधामन्त्रीले यिनै सञ्‍जालमा अरिंगालहरूका अभिव्यक्ति कत्तिकै हेरेका छन् ? उनका नजरमा सञ्‍जालको शोभा र गरिमा अरिंगालहरूले मात्र कायम राखेका छन् । संविधान-कानुन व्याख्यामै जिन्दगी बिताएका पूर्वप्रधानन्यायाधीशलाई ‘आउट डेटेड’ मात्र होइन, ‘ताण्डव नृत्य’को संज्ञा दिएकै हुन् । अझ कानुन व्यवसायीका हकमा त तल्लै स्तरमा झर्दै अपमानित शब्द-वर्षा भइरह्यो, जुन सभ्य समाजका सभ्य शासकहरूबाट हुँदैन ।

अब प्रधानमन्त्रीका शब्दबाट ‘अपमानित’ हुन समाजमा कुनै तह-तप्का बाँकी छैनन् होला । त्यो तप्का सकिएरै हुनुपर्छ सामाजिक सञ्‍जाल प्रयोगकर्ता आमनागरिकमाथि खनिन आइपुगेका हुन् । मुलुक ‘अधपतन’को कारण नागरिकको थाप्लोमा राख्दै आफूलाई मुलुकमा राम-राज्य स्थापित गर्ने शासकका रूपमा उभ्याउन खोज्दैछन् । अर्थात्, ओली चाहना नागरिकहरू केही नबोल्ने लास जस्ता होऊन्, त्यसो भएको खण्डमा आफू ‘महान् शासक’ बन्‍न सकिन्छ भन्‍ने ध्याउन्‍नको परिणति हो ।

यिनै दृश्यको पृष्ठभूमिमा इतिहासविद् बाबुराम आचार्यकै शब्द सापटी लिँदै भन्‍नुपर्ने हुन्छ, ‘अब यस्तो कहिल्यै नहोस् ।’ अनि राज्यसंयन्त्र क्षतविक्षत पार्ने शासक मुलुकले भोग्‍नु नपरोस् । आधुनिक कालखण्डमा सार्वभौम नागरिकमाथि गाली र अपमानको वर्षा गराउने शासक पनि बेहोर्नु नपरोस् ।


Author

थप समाचार
x