सम्पादकीय

सम्पादकीय

व्यवसायीहरू चुनावी किचलोमा रुमल्लिँदा

इकागज |
मंसिर १२, २०७७ शुक्रबार १०:५७ बजे

देशभरका उद्यमी व्यवसायीहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि शनिबार चुनाव हुँदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी समिति सदस्यसम्मको निर्वाचनका लागि व्यवसायीहरु आ-आफ्नो समूह बनाएर निर्वाचनमा होमिएका छन् । कोरोना भाइरस महामारीको मारमा परेका उद्यमी, व्यवसायीका समस्या समाधानका लागि पैरवी गर्नुपर्ने संस्था चैतयता साधारणसभाको किचलोमा रुमल्लिएको देखिन्छ । गत वर्ष चैतमा हुनुपर्ने महासंघको निर्वाचन चुनाव र राजनीतिक चालबाजीका कारण विभिन्न समयमा सार्दै मंसिरमा ल्याइएको हो ।

महामारीका कारण अर्थतन्त्र शिथिल हुँदा व्यवसायीहरुको प्रतिनिधिमूलक संस्थाको मुख्य एजेण्डा यसको पुनर्स्थापनामा हुनुपर्थ्यो । त्यसका लागि सरकार र सरोकारवालासँग पैरवी गर्नुपर्नेमा महामारी यता महासंघमा चुनावमार्फत् कसले नेतृत्व हत्याउने भन्ने अभ्यासमै सबैको ध्यान केन्द्रित भयो । महामारीका समयमा समेत नेतृत्वका लागि लुछाचुँडी र राजनीतिक खिँचातानी सरकारमा मात्र होइन, निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थामा समेत उस्तै छ । महामारीका बीच निर्वाचन नगरी सहमतिका आधारमा नेतृत्व चयन र व्यवसायीहरुको ऐक्यबद्धताले मात्रै पनि राजनीतिक वृत्तमा एउटा ठूलो सन्देश दिन सकिन्थ्यो ।


संस्थाहरु धेरै मेहनतले मात्र बन्छन् । तर त्यसको साख गिराउन, भत्काउन र सिध्याउन समय लाग्दैन । देशभर सञ्जाल भएको, प्रतिष्ठित संस्थाले पछिल्ला वर्षहरुमा आफ्नो गरिमा भत्काउँदै लगेको छ । निजी क्षेत्रको आवाज र बलियो उपस्थितिका लागि महासंघ सशक्त र सुदृढ हुनुपर्छ । महासंघमा राष्ट्रिय अर्थतन्त्रका मुद्दामा, लगानी, रोजगारी, अनुकुल ऐन कानुन, पूर्वाधारका विषयमा छलफल हुन छाडेको वर्षौं भइसकेको छ । बरु त्यो ठाउँमा महासंघभित्रको खिचातानी, नेतृत्व पंक्तिबाट सरकारको चाप्लुसी गर्ने प्रवृत्ति र अनियमितताका घटनाहरु बाहिर आएका छन् । महासंघमा संस्थागत विषय र एजेण्डामा भन्दा पनि व्यक्तिवादी, अवसरवादी चरित्र हावी हुँदै गएको देखिन्छ ।

५४ औं साधारणसभा सम्पन्न गर्दै गर्दा महासंघले यस्ता विषयहरुमा बृहद् छलफल र आत्मसमीक्षा गर्न जरुरी छ । महासंघमा विगतदेखि नै चुनावी तुषका कारण फाटो र वैमनस्यता लामो समयसम्म देखिदैं आएको छ । मणिहर्ष ज्योति र महेशलाल प्रधानबीचको चुनावमा होस्, या विनोद चौधरी र पदम ज्योतिबीचको निर्वाचनमा होस् । महासंघमा चुनावी तुष लामो समय कायम रहेको देखिन्छ ।

प्रदीपजङ्ग पाण्डे र भाष्कारराज राजकर्णिकारबीचको चुनावी तुषले महासंघमा नेतृत्व संकटको अवस्थासमेत देखियो । मुद्दामामिला, अदालतबाट निरुपणको प्रयासले यस्ता विवादहरु बेस्सरी झाँगिदै गए । यस्तो विभाजन रोक्न कम्तीमा अध्यक्ष पदमा निर्वाचन नगर्ने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिए पनि पक्षधरता र एकले अर्कोलाई रोक्न हरसम्भव प्रयास यो निर्वाचनमा पनि देखिदैँछ ।

निर्वाचनमा जित-हार प्राविधिक विषय हो । तर यसैलाई अहं बनाइयो भने संस्थाको ओज, गरिमा र महत्व कायम राखिराख्‍न मुश्किल पर्छ । त्यसैले उद्यमी व्यवसायीहरुले निर्वाचनको जित-हारलाई प्राविधिक विषय अर्थात् गौण र संकटपूर्ण घडीमा निजी क्षेत्र र आर्थिक विकासका एजेण्डालाई सर्वोपरी राखेर अघि बढ्न यस साधारणसभाले मार्ग प्रशस्त गरोस् ।
 


Author

थप समाचार
x