सम्पादकीय

सम्पादकीय

जन्‍मको अहंकार : कुनै पनि पाठेघर माथिल्लो-तल्लो भन्‍ने हुँदैन

इकागज |
असार १०, २०७८ बिहीबार ११:९ बजे

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ मन्त्रीकै गाडीमा झण्डा हल्लाउँदै दलित युवतीलाई कोठा भाडा नदिने घरबेटी छुटाउन पुगे । उनी छुटाउन सफल मात्र भएनन् कि हिरासतबाट आफ्‍नै गाडीमा ‘स-सम्मान’ हिँडेको दृश्य यतिखेर ‘भाइरल’ भएको छ । राजधानी सहरमै दलित युवती रुपा सुनारलाई कोठा नदिएको घटनामा घरबेटी पक्राउ परेका थिए । पक्राउ परेकी घरधनीलाई शिक्षामन्त्री श्रेष्ठले छुटाउँदै आफ्नै गाडीमा राखेर हिँडे । जुन घटनाबारे अनुसन्धान हुँदै थियो ।

शिक्षामन्त्रीले घरधनीलाई साथ दिएर न्यायमा कस्तो ‘शिक्षा’ दिन खोजेका हुन्, बुझिनसक्नु छ । यो विषयको छानबिन हुँदै गर्ला तर समग्रतामा यो देशमा दलित समुदायलाई हर पाइला-पाइलामा हुने अपमान, लाञ्छना, यातना कतै छिपेको छैन । पछाडि पारिएको समुदायमध्ये दलित मात्र यस्तो समुदाय हो, जसले सीमान्तीकरण, वञ्चितीकरण मात्र भोगेन बहिष्करण पनि भोग्यो र अझै भोगिरहेछ । दलितउपर गैरदलित समुदायले गर्ने दुर्व्यवहार कानुनी दृष्टिले आपराधिक त छँदै छ, यसले हाम्रो राज्य, समाज, शिक्षा र चेतना प्रणालीकै कठोर परीक्षा पनि लिइरहेछ । र, हामी पूर्णतः असफल भइरहेछौँ । 


गत वर्ष रुकुम भेरीतटमा दलित-गैरदलित प्रेमको परिणाम भयानक हत्यामा परिणत भयो । त्यो विषय मिडियामा धेरै नै छायो । तर पीडकलाई कारबाही र पीडित परिवारलाई न्याय अझै मिलेको छैन । त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसद जनार्दन शर्मा प्रभाकरले संसद्‌मा ‘दलितका कारण घटना भएको’ भने । 

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले त झन् कस्तो गैरजिम्मेवार भूमिका खेले, कति गैरजिम्मेवार अभिव्यक्ति दिए । त्यो छर्लंगै छ । हिजो मन्त्रीले युगौँदेखि उत्पीडनमा पारिएको दलित समुदायलाई झनै पीडा दिने गरी घरधनीलाई साथ दिए । अस्ति पनि, हिजो पनि र आज पनि जसरी दलित समुदायप्रति विभिन्‍न खाले हिंसा भइरहेको छ, सरकार नै अन्यायको सहारा भइरहेको छ, यसबाट हिंसा भोलि पनि कम नहुने स्थिति देखिइरहेको छ । 

जुनै दल पनि, जुनै सरकार पनि, जुन समाज पनि दलित समुदायलाई न्याय र सम्मान दिने विषयमा निरन्तर चुकेकै छन् । आफूलाई प्रगतिशील, मार्क्सवादी, क्रान्तिकारी, समाजवादी, ‘नवयुग’कर्ता, सचेत नागरिक, २१ औँ शताब्दीको जागरुक नागरिक दाबी गर्नेहरूबाटै जे-जस्ता हिंसा भइरहेछन्, हिंसाको समर्थनमा जे÷जस्ता अभिव्यक्ति व्यक्त भइरहेका छन् वा हिजो जुनसुकै विषयमा बोल्ने मुखर र वाचाल नागरिकहरू आज मौन बसिरहेछन्, यसले निको सन्देश दिइरहेको छैन ।

जातीय विभेद कानुनतः दण्डनीय अपराध हो । सार्वजनिक मात्र होइन, निजी क्षेत्रमा पनि विभेद गर्न पाइँदैन ।

माया विक, अंगिरा पासी, मनवीरे सुनार, संगीता परियार, सेते दमाई, शिवशंकर दास, अस्मिता सार्कीजस्ता धेरै अपराध हाम्रो समाजका क्रुर तस्बिर हुन् । गैरदलित युवतीलाई प्रेम गरेकै कारण मारिएका काभ्रेका अजित मिजारको शव चार वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा छ । हिंसाका घटना बढेका बढ्यै छन् । कानुन छ, कारबाही छैन । शिक्षामन्त्री छन्, पीडकलाई साथ दिनुपर्छ भन्‍ने शिक्षा दिँदै हिँड्छन् । मानव अधिकार आयोग छ, यस्ता सरकारी-गैरसरकारी संस्था दर्जनौँ छन्, तिनले तीसौँ वर्षदेखि ‘चेतना बाँड्न’ खर्बौँ रकम खर्चिसकेका छन् ।

पुलिस प्रशासन छ, निष्पक्ष अनुसन्धान छैन । राजनीतिको छायाँमा पुलिस स्वयं पीडित बनेको छ, अन्याय भोगिरहेको छ, त्यसले के न्याय देओस् । हरेक मान्छेको जन्म संयोग हो । कोही पनि मान्छे म यो परिवारमा, यो जातमा, यो धर्ममा, यो लिंगमा, यो क्षेत्रमा, यो वर्णमा, यो समुदायमा, यो देशमा जन्मिन पाऊँ भनेर निवेदन हालेर जन्मिँदैन । संयोगले मान्छेको वास जुनै पाठेघर-घरमा हुन सक्छ । अनि संयोगका भरमा कोही मान्छे ठूलो वा सानो, ज्ञानी वा अज्ञानी, छूत र अछूत भन्‍ने हुँदैन । कुनै पनि शुक्रकीट-डिम्बाशय तल्लो जातको-माथिल्लो जातको, ठूलो-सानो भन्‍ने हुँदैन ।

नेपालमा युगौँदेखि विभिन्‍न कारणले दलित समुदाय अपमानित, लाञ्छित, पीडित, उत्पीडित छन् । अब यस्तोमा जो समुदाय अलिकति ‘सेफ जोन’मा छ, उसले के सोच्नुपर्यो भने संयोगले नै म यो पाठेघर-घरमा आइपुगेको हुँ, गैरदलितको पाठेघर-घरमा नभई दलितको घरमा जन्मवश संयोग भएको भए मेरो हालत के हुनेथियो ? पलपल प्रताडित भइरहन पर्दैनथ्यो कि मान्छे स्वयंले म तिमी जस्तै मान्छे हुँ भनेर प्रमाण दिँदै हिँड्नु पर्दैनथ्यो कि ? आफूलाई आफू भएर मात्र सोच्‍ने, अरुको ठाउँमा राखेर नसोच्‍ने-नहेर्ने स्वभावले मान्छे पीडक हुन्छ ।

हरेक गैरदलितले ठण्डा दिमागले सोच्‍नैपर्छ- म दलित भएको भए के आजको म यस्तै हुन्थेँ त ? जातीय विभेद कानुनतः दण्डनीय अपराध हो । सार्वजनिक मात्र होइन, निजी क्षेत्रमा पनि विभेद गर्न पाइँदैन । र, कानुन थाहा थिएन भनेर कोही उम्किन पनि पाउँदैन ।


Author

थप समाचार
x