सम्पादकीय
राष्ट्र एकीकरणका साहसिक योद्धाको सम्मानमा
राज्यले वीर-साहसी नेपाल एकीकरणका बफादार व्यक्ति पहिचान गर्न २०६ वर्ष कुर्नुपर्यो, सरदार भक्ति थापाको हकमा । ७३ वर्षको वृद्ध उमेरमा पनि अंग्रेजसँग लड्दा लड्दै वीरगति प्राप्त गरेका थापालाई बल्लबल्ल नेपाल सरकारले ‘राष्ट्रिय विभूति’ घोषणा गरेको छ । जसले अंग्रेजसँग मलाउँको ‘देउथल युद्ध’मा साहसिक आक्रमण गरेका थिए, विक्रम संवत् १८७२ वैशाखमा ।
त्यो वृद्ध उमेरमा पनि त्यसरी साहसपूर्वक लडाइँको नेतृत्व गरेको दृश्यबाट अंग्रेजहरू नै चकित परेका थिए । अनि तिनै प्रतिद्वन्द्वी अंग्रेजहरूले थापालाई ‘साहसीका पनि साहसी’ उपमा दिए । अंग्रेजहरूले त्यो विषय इतिहासमै उल्लेख गरे । लडाइँका प्रतिद्वन्द्वी अंग्रेजहरूले त्यसरी ‘वीर वीरोत्तम’का रूपमा सम्मान दिनु, तर नेपालले भक्ति थापाका हकमा ‘राष्ट्रिय विभूति’सम्म घोषणा गरेको थिएनन् । अर्थात् हाम्रा शासकहरू ‘साहसी’ पहिचान गर्ने मामिलामा समेत चुकेको थियो । नेपाल-अंग्रेज देउथल युद्धका नायक थापालाई बल्ल-बल्ल २०७८ असार १४ मा मन्त्रिपरिषद्वारा ‘राष्ट्रिय विभूति’ घोषणा गर्दै सम्मानको सूचीमा चढायो ।
नेपाल एकीकरणका बखत भक्ति थापाकै नेतृत्वमा पश्चिम विस्तार भएको इतिहासमा उल्लेख छ । पश्चिमका स-साना राज्यलाई नेपालमा गाभ्दै महाकाली पारिका कुमाउँ, गढवाल हुँदै सतलजसम्म नेपालको सीमा पुर्याएका थिए । उता अंग्रेजले विशाल भारतलाई उपनिवेश बनाउँदै गर्दा वीर नेपालीले तिनीहरूसँग लड्दै ‘स्वाधीन नेपाल’को इतिहास रचे । अर्थात्, नेपाल कसैको ‘उपनिवेश’ हुनु परेन, तिनै साहसी योद्धाहरूका कारण ।
त्यसकारण, ढिलै भए पनि राज्यले एकीकरण-योद्धाको पहिचान गर्यो । त्यसो त, जुन राज्यले मुलुक निर्माता पहिचान गर्न सक्दैन, त्यो मुलुकले आफ्नो सभ्यता पनि पहिचान गर्न सक्दैन भन्ने मान्यता राखिन्छ । हरेक मुलुक इतिहासकै जगमा उभिएको हुन्छ । नागरिकलाई ‘इतिहास’ सम्झाउनुपर्छ, बुझाउनुपर्छ । किनभने इतिहास भनेको घरको जग हो ।
जसले हिजो भुल्छ, उसलाई भोलिले पनि भुल्छ ।
अझ साहसिक इतिहासले त नागरिकलाई सधैँभरि उच्च मनोबल प्रदान गरिरहेको हुन्छ । तर, नेपालले मुलुक निर्माताहरूलाई सम्मान दिँदै नागरिककै मनोबल बढाउने संस्थागत प्रचलन बसाल्नेतिर कमै रुचि राख्दै आएको छ । अनि दुःखद् पक्ष भन्नुपर्छ, नेपालले त्यो ‘साहसिक इतिहास’ उचित बहस, मूल्यांकन गर्न चुकेको छ ।
जब मुलुक, मुलकप्रति समर्पित व्यक्ति पहिचान गर्न असमर्थ हुन्छ, तब त्यो मुलुकले गति पक्डन सक्दैन भन्ने मान्यता पनि राखिन्छ । राज्य र आमनागरिककोे दायित्व पनि हो कि मुलुकप्रति जीवन समर्पण गर्ने व्यक्ति पहिचान गर्दै तिनलाई ‘आदर्श’का रूपमा स्थापित गर्नुपर्छ । अझ जुन मुलुकमा ज्यानको बाजी लगाउने योद्धाको समेत सम्मान हुँदैन, त्यो मुलुकका नागरिकको कसरी सम्मान हुन सक्छ । अनि जहाँ राज्यप्रति भलो सोच्ने नागरिकहरूको सम्मान हुन्न, त्यो मुलुक खोक्रो हुँदै जान्छ ।
त्यसकारण, ‘देउथल युद्ध’का नायक सरदार भक्ति थापालाई ‘राष्ट्रिय विभूति’ घोषित गरिएझैँ मुलुकका निम्ति लड्ने अरु व्यक्तिहरूको पहिचान गरिनुपर्छ र उचित सम्मान दिनुपर्छ । अझ अंग्रेजसँग नेपाल लडेको त्यो गौरवमय इतिहासले नेपाल र नेपालीलाई मनोवैज्ञानिक रूपमै बलशाली तुल्याउँछ । इतिहासका वीर गाथा र सकारात्मक घटनाले पनि नागरिकमा राष्ट्र-प्रेम जगाउँछ । अनि वीरहरूको वीरताको गाथाले नागरिकमा मुलुकको इतिहासप्रति गर्व बढेर जान्छ ।
अरु मुलुकले देशसँग जोडिएका हरेक किसिमका ऐतिहासिक पाटाहरूलाई ‘जोगाएर-सजाएर’ राखेका हुन्छन् । तिनले नागरिकको मनोबल बढाउन ऐतिहासिक पाटोलाई अति महत्व दिएका हुन्छन् । तिनै ऐतिहासिक महत्वका पाटाहरूलाई ‘म्युजियम’ बनाउँदै महत्वपूर्ण पर्यटकीय थलोमा परिणत गर्छन् । हामीसँग अनगन्ती ऐतिहासिक पाटाहरू छन्, तिनको पहिचान, उचित सम्मान र संरक्षण दिँदै अघि बढ्ने हो भने राज्यले पर्यटकीय लाभ लिन सक्छ । त्यो पाटोको किन खोजी नगर्ने ? जसले हिजो भुल्छ, उसलाई भोलिले भुल्छ । इतिहासको गर्तमा लुकेका सत्पात्र खोज्न कहिल्यै ढिलो हुँदैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया