सम्पादकीय
हाम्रै ‘सिभिक सेन्स’बारे गन्थनमन्थन
अनामनगर राजधानी काठमाडौँको मुख्य ठाउँ हो । यो शासनको मुख्य केन्द्र सिंहदरबारसँगै जोडिएको पनि छ । तर, यही ठाउँमा दिसा गरेका डाइपर, दिसा पुछेका पेपर, दिसा भरिएका प्लास्टिक छ्यालब्याल फ्याँकिएको हुन्छ, बाटोभरि । मध्यरातमा कुन समयमा हो, कुनै व्यक्तिले सधैँजसो यसरी बाटैमा फँ्याक्छन् । पत्तो लाग्दैन । ती पोकापुन्तरा कुुकुरले लछारपछार पार्दा टोलै दुर्गन्धित हुन्छ । सफाइकर्मीले पनि यो सहने-स्याहार्न सक्ने कुरै भएन । यो लतपत दिनैभर उसै छोडिन्छ । न सहरका ‘सभ्य’ फोहोर फ्ँयाक्न छोड्छन्, न टोलवासीले चेतना दिन्छन्, न चेतावनी । नाक छोप्छौँ हामी, नाक काटिएको थाहा पाउँदैनौँ । जथाभावी फोहोर गर्ने हाम्रो बानीको यो प्रतिनिधि उदाहरण मात्र हो ।
टाढाको के कुरा, सिंहदरबारभित्रका शौचालय यति दुर्गन्धित, यति फोहोर हुन्छन् त्यहाँ दिसा-पिसाब पनि फोहोर भनेर त्यहाँ झर्न मान्दैन । जब कि सिंहदरबारवासी सबै आ-आफ्ना घरमा दिसा-पिसाब गर्ने मान्छे नै हुनन्, तर तिनका अफिसका ताल भने शौचालयको गतिले बताइरहेको हुन्छ ।
सरकारी अस्पताल, सरकारी विद्यालय-कलेज, सरकारी अड्डा-अदालतका हर्ताकर्ताको पनि घरमा शौचालय अवश्यै हुँदो हो, तर साझा-सरकारी-सार्वजनिक भनेपछि हामीलाई माया फिटिक्कै लाग्दैन । घरमा ‘फ्लस’ गर्ने हामी सरकारीमा छिरेपछि ‘फ्लस’ गर्दैनौँ । कमोड-प्यानमा हैन, ढोकैबाट पिसाब फेरिदिन्छौँ, चाहे पिसाब बाल्टिन-मगमै भरिने किन नहोस् ! केटामान्छे बाटघाटामा उभिएर जथाभावी पिसाब फेरिरहेका हुन्छन् । पिसाब त महिलालाई पनि लाग्दो तर बाटाघाटा जताततै उनीहरू पिसाब फेर्न बसेको देखिँदैन ।
करोड करोडका गाडी चढ्ने भलादमीहरूले रोडमा फुत्त फोहोर झारेको हामीले देखिआएकै कुरा हो । विदेश सारा चहारेर आएर नेपाल किन बनेर भनेर लेख्नेले नै नेपालमा नियम पालना गर्यो भने त्यो सानो भयो, अनौठै भयो । ट्राफिक पुलिसका आँखाबाट हेर्नुपर्छ- हामी कति लापरबाही, कति मिचाहा, कति फटाहा, कति झुट छौँ ! आजको युगमा सडक बत्तीसँगै पुलिस पनि सिट्ठी बजाउँदै ठिंग उभिनुपरेको छ, आँखै झिमिक्क नपारी ।
शिक्षक र प्राध्यापकको जाँचमा चेकजाँच हुँदा चिटसमेत एक बोरा जम्मा हुन्छ यहाँ । चिट चोर्न-चोराउन पाउनुपर्यो भनेर यहाँ अभिभावक नै आन्दोलन गर्छन् । ठग्न पाउनुपर्यो भनेर ट्याक्सीवाला विरोध गर्छन् । ठूलाठूला पसलमा हामी जति भन्यो उति पैसा तिर्छौँ । तर, सडकपेटीमा ससानो पसल थापेकाहरूसित दुई मुठा सागमा पनि १० रुपैयाँ छुट नलिई छोड्दैनौँ । भाटभटेनी जस्ता ठूला-ठूला व्यापारिक नेता र ‘समाजसेवी’का पसल खुलेआम चले-चल्छन्, तर भित्री गल्लीका सडकपेटीका, नाङ्ले पसले, ठेला पसले लखेटाइमा पर्छन् किनकि यो देशमा ‘काम गरी खाने सर्वहारा वर्ग’को अधिनायकत्व छ ।
वर्षौँदेखि हेपिएका दलित समुदायले अधिकार खोज्ने बित्तिकै हाम्रो अभिमान बौरिन्छ । उनीहरू अलिकति ठूलो स्वरले बोले भने अनेक लाञ्छना लगाएर भित्तामा पुर्याउन खोजिन्छ । तर, आफूहरू वर्षौँदेखि एकोहोरो चिच्याइरहेको हामीलाई पत्तो हुँदैन ।
यो देशमा ‘काम गरी खाने सर्वहारा वर्ग’को अधिनायकत्व छ ।
इमानदार अक्सर गरिब नै हुन्छ । गरिब नै अक्सर इमानदार हुन्छन् । हामी गरिबीमाथि अर्थात् इमानदारीमाथि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा खिसिट्युरी गरिरहन्छौँ । इमानदारी हामीलाई पच्दैन । दुई-चार अक्षर पढेको घमण्ड चढ्छ हामीलाई अनि नपढेका (खासमा पढ्न नपाएका) लाई अपमान गर्छौँ । हामी अपांगता भएकाहरूलाई शब्दले होस् या कर्मले, निको व्यवहार गर्दैनौँ ।
पुराना लुगा लगाउने, चप्पल लगाउने, धोती लगाउनेलाई हामी खिज्याउँछौँ । आफ्नो जस्तो भाषा-लवज नबोल्ने, आफ्नो जस्तो ब्रान्डेड लवाइ नगर्ने, आफ्नो जस्तो धर्म नमान्नेलाई हामी मान्छे गन्दैनौँ । यो देश विभिन्न जात-भाषा-संस्कृतिका सय थरी बाजाको धून हो । राम्रो संगीतका बाजाले मेरो धून प्रधान, तेरो अप्रधान भन्दैनन् । संगीतमा सबै बाजा फरक छन् तर उत्तिकै सम्मानित । छाला गोरो भएकामा हामीलाई घमण्ड हुन्छ, कालो वर्णकालाई कालो हुनु अपराधी हुनु हो भन्ने मनोविज्ञान कताकताबाट छिराइरहन्छौँ हामी ।
अहिले प्रविधि हाम्रो अभिन्न अंग बनेको छ । मोबाइल फोन, स्मार्ट फोन चलाउन हामी बाआमा-हजुरबाआमालाई राम्ररी सिकाइदिन्नौँ, ‘तपाईं जान्दै जान्नुहुन्न’ भनेर झर्किन्छौँ । बूढा-बूढीलाई बूढा-बूढीकै ठाउँमा रहेर, ससाना नानीहरूलाई नानीहरूकै ठाउँमा रहेर, सोच्न-सिकाउन हामी तयार छैनौँ ।
कोही कसैले महँगो गाडी किन्यो भने हामी गाडी किन्न नसक्नेलाई दबाब र तनावै हुने गरी उसको प्रचार गर्छौँ । धनदौलत जोड्नु सबैको अधिकारको कुरा हो, यसमा आपत्ति छैन । तर महलहरू किनेको, सय रोपनी जग्गा किनेको, महँगा-महँगा गाडी किनेको खबर मूलधारका गन्यमान्य मिडियाका लागि समाचार कसरी हो ? समाचार हो भने- सम्पत्तिको स्रोत खोज्ने, कर तिरेको छ कि छैन हेर्ने ।
कोही अयोग्य पात्रले गलत प्रक्रियाबाट, चाकडी गरेर, घुस खुवाएर, कमिसन खुवाएर पद-पुरस्कार पायो भने हामी उसलाई बधाइ यसरी दिन्छौँ कि फोटो टाँसी-टाँसी भाइरल बनाउँछौँ । पद, पैसा, पुरस्कार, ‘पावरवाल’लाई यति पूज्छौँ कि हामी सोझो, इमानदार, लगनशील पात्र पनि ‘पागलै’ हुने गरी ।
हामी कोही जन्मिनुअघि र मरेपछिका फोटो सामाजिक सञ्जालमा यति पोस्ट्याउँछौँ कि भ्रुण र शवले सक्ने भए जुरुक्क उठेर ‘नो’ भन्थे होलान् । कोही दुर्घटनामा पर्यो भने प्रहरीलाई खबर गर्ने, अस्पताल लाने गर्दैनौँ । भीड बन्छौँ, रमिते बन्छौँ । मोबाइल उठाएर लाइभ गर्न थाल्छौँ । भिडियो खिच्न थाल्छौँ ।
बिरामी भेट्न अस्पताल जाँदा पनि रगताम्य, बीभत्स सेल्फी, घाटमा पनि सेल्फी, किरियापुत्रीसित पनि सेल्फी, आमालाई मुखमा आगो झोसिराखेको पनि सेल्फी । खिच्छौँ ठीक छ तर पोस्ट्याउँछौँ- संवेदनामै आहात पर्ने गरी । घरमा हामी जथाभावी पिच्च थुक्दैनौँ तर सार्वजनिक ठाउँमा यसरी थुक्छौँ कि मानौँ थुक थुक नभएर राराको सफा पानीको थोपा हो ।
हाम्रा राम्रा बानी पनि छन् । राम्रा त छँदै छन् । सुधार गर्नुपर्ने बानी यहाँ अलिकति केही लेखियो । खराब बानीको लिस्ट लामै छ । यी बानी सुधार गर्न नयाँ संविधान सुधार, ऐन सुधार वा ओलीको आदेश वा समाजवाद वा केही पर्खिनुपर्दैन । हाम्रो ‘सिभिक सेन्स’ कस्तो छ- ऐना हेरौँ, म म भनौँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया