सम्पादकीय
अनि हाम्रो जिन्दगीमा इन्टरनेट, स्मार्ट फोन र सोसल मिडिया आयो
कोभिड कालमा सहरहरूमा सिनेमा हल बन्द भए । नाट्य रंगमञ्चहरू बन्द भए । कला प्रदर्शनी कक्षहरू बन्द भए । दोहोरी साँझ र क्लबहरू बन्द भए । गाउँघरमा पनि रोदीहरू, मेलापात, हाटहटिया, रामरमिताहरू त कोभिडअघि नै पनि बन्दप्रायः थिए । माओवादी सशस्त्र युद्धकालमा जनजीवन प्रभावित भएपछि गाउँले दिनचर्या-सन्ध्याचर्या-रात्रिचर्याका सांस्कृतिक मनोरञ्जनका गतिविधि खुम्चिए ।
शान्ति-प्रक्रियापछि ती सांस्कृतिक रामरमिता गाउँगाउँमा पुनरुदय भएनन् । विस्थापित भएर, विस्थापित हुने त्रासले सदरमुकाम वा राजधानी वा विदेश पसेपछि गाउँहरू फेरि गुल्जार भएनन् । गुल्जार हुँदै हुन्थे पनि होलान् । तर, त्यही समयताका बितेको यही दशकमा स्मार्ट फोन र इन्टरनेट तीव्र गतिले फैलियो । अहिले यो जिनिस नयाँ-नयाँ भएको हुँदा हुन सक्छ, सारा नेपाल इन्टरनेट-इन्टरटेनमेन्टमा रमेको छ । रमाउनलाई, प्रदर्शित हुनलाई, भाइरल हुनलाई स्मार्टफोनमा दर्जनौँ ‘इ-घर’ ठडिएका छन् ।
हरेक कुराका दुई पाटा हुन्छन् नै । सदुपयोग गर्न सके यही इन्टरनेट ज्ञान, विज्ञान, शिक्षा, सूचना, आय, कला, आविष्कार सबैको सहयोगी हो । तर, हामीकहाँ इन्टरनेट भनकै इन्टरटेनमेन्टको मात्र माध्यम बनेको जस्तो छ । समय आएपछि वाक्क भएर यसमा बदलाव आउला पनि तर, स्मार्ट फोनको (कु)लतले नेपाली समाजको कार्यक्षमता घटेको प्रस्टै देखिँदो छ । स्मार्टफोनको अति प्रयोगले मानिसमा बौद्धिक, मानसिक, सामाजिक, आर्थिक स्खलन बढ्दो छ । यसमा हर परिवार सरकारभन्दा बढी चनाखो हुन जरुरी भइसकेको छ ।
उहिले न अहिले, ठूला होस् वा साना, जसको पनि समय त उही २४ घन्टा नै हो । समय स्मार्ट फोनले, सोसल मिडियाले, फेसबुक, टिकटकहरुले खाइदिँदा गम्भीर लेखपढ गर्ने समय अस्तव्यस्त बनेको छ । आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जनको सूत्र अब बदलिएको छ । मनोरञ्जनको समय थपिएको छ, अनि कामको, निद्राको, परिवारको, साथीसँगीको, लेखपढको समय चोरिएको छ । हामी स्मार्ट देशका स्मार्ट मान्छेको मनोरञ्जनको समय पूरैजसो स्मार्ट फोनले खाई पो दिइरहेको छ ।
अहिले हुनेले, सक्नेले, सहरियाले अनलाइन क्लास पढिरहेका छन् । गरिबका लागि यो आकाशको फल भएको छ । यसले वर्गीय खाडल ठूलै खनेको छ । कलिला नानीहरूमा वर्गको मानसिकता नराम्ररी घुसेको छ । स्मार्ट फोनका कारण पहिल्यै पनि खेलकुद कम, खेलकुदमा दर्शक कम, मेलापात कम भइसकेका थिए ।
केही समयअघि सामाजिक सञ्जालमा पुस्तकका लामालामा स्वतन्त्र समीक्षा-टिप्पणी पढ्न-सुन्न पाइन्थ्यो । अहिले फोटो मात्र देखिन्छ । यस्तो समय आउनु समाजको वैचारिक, बौद्धिक, साहित्यिक, कलापक्षको टाटपल्टाइ हो ।
पहिले बसमा १६ घण्टा सँगै यात्रा गर्दा लगभग सबैजसोसँग परिचय भइसकेको हुन्थ्यो, अहिले उही सिटवालासँग पनि बोलचाल हुँदैन । कानमा एयरफोन ठोस्यो, आफ्नै दुनियाँमा एक्लै रमायो । अब त झन् यो डेढ वर्षले हाम्रो आनीबानी, स्वभाव नै भिन्नै भइसकेको छ । सामाजिक दूरी कायम राखौँ भन्ने सुन्दासुन्दा हामी चरम व्यक्तिवादी, अल्छी, एकलकाँटे बन्दै गएका छौँ । फोन गरेर सहानुभूति दिनु, भेट्नु, परेको सकेको सहयोग गर्नुभन्दा सोसल मिडियामा रिप, गेट वेल सुन, इमोजी दिनु ठूलो भएको छ ।
हामी परिवारसँग उही घर, उही कोठामा हुँदा पनि टाढा हुँदै गएका छौँ । भौतिक रूपमा टाँसिदा भए पनि भर्चुअल संवाद गर्न थालेका छौँ । कोभिड भाइरसको त्रास अद्यापि कायमै रहेको हुँदा दूरीमा हामीले ख्याल त गर्नैपर्छ तर दुई मिटर टाढा बस्नुस् भनेको बोल्दै नबोल्नुस्, संवाद नगर्नुस् भनेको होइन । सुरक्षाका उपाय अपनाउँदै अब हामी पूर्ववत् सामाजिक नभई त सुखै छन् ।
मानिस एक सामाजिक प्राणी हो भनेर हर कोहीले स्कुलदेखि पढेर आएको छ । तर, अब यो भनेको मानिस एक सामाजिक सञ्जाल प्राणी हो भनेजस्तो हुन थालेको छ । अहिले पनि पुस्तक छापिइरहेका छन् । तर, तिनले पढिइएको महसुस गर्न पाइएका छैनन् । तिनले बल्लतल्ल ग्राहक पाएका छन् । पुस्तकको औचित्य ग्राहक होइन, पाठक हुनुमा हुन्छ । केही समयअघि सामाजिक सञ्जालमा पुस्तकका लामालामा स्वतन्त्र समीक्षा-टिप्पणी पढ्न-सुन्न पाइन्थ्यो । अहिले फोटो मात्र देखिन्छ । त्यो पनि पाठकले होइन, लेखक वा प्रकाशकले बढी हालेका हुन्छन् । यस्तो समय आउनु समाजको वैचारिक, बौद्धिक, साहित्यिक, कलापक्षको टाटपल्टाइ हो । यसको दुष्प्रभाव देखिँदै छ । अझ देखिने छ ।
हामी गम्भीर बहसमा भन्दा टापटिपे, छिपछिपे कुराहरूमा रमाइरहेका छौँ । कुनै पनि विषय वा व्यक्तिबारे अतिशय प्रशंसा वा अतिशय निन्दा बढी हुन्छ यहाँ । गुण-दोष सहितका सम्यक् समीक्षा कमै देखिन्छ । घरीघरी त नेपालीहरूको कमन सेन्स, सामान्य आइक्यू पनि क्रमजोर हुँदै गएको हो कि जस्तो पनि लाग्छ ।
गाउँघरमा बूढा बाआमा मात्र छन्, धेरै नेपालीका । बाआमा स्मार्टफोनको दुनियाँबाट टाढा छन् । ती, आफ्ना सन्तानको फोन आउँछ कि भनी हर दिन प्रतीक्षारत हुन्छन्, तर नयाँ पुस्ता दर्जनौँ समाजिक सञ्जालमा व्यस्त वा अस्तव्यस्त हुँदा सम्झिने फुर्सद पाउँदैन । सम्झे पनि त्यो औपचारिक मात्र हुन थालेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया