सम्पादकीय

सम्पादकीय

फेरि उही देउवा कि फेरिएका देउवा

इकागज |
साउन १५, २०७८ शुक्रबार ११:२४ बजे

पाँचौ पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाका कार्यकाल यसअघिभन्दा तात्विक के फरक होला ? अहिले आम चासो यही छ । पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएर जाँदै गर्दा पनि धेरैले चिन्ता व्यक्त गरेका थिए कि देउवा र पुष्पकमल दाहाल नसच्चिकनै पुनः सत्तामा आए । ओलीको अहंकारी र अधिनायकवादी शैलीका कारण उनी बाहिरिँदा राहत महसुस गरेपनि आम जनताले देउवालाई ओलीको विकल्पमा स्वीकार गर्नुपर्दा उत्तिकै खिन्‍न थिए ।

फेरि उही देउवा पाचौँ पटक प्रधानमन्त्री बन्दा फेरिएर आफ्नो छवि सुधार गर्नकै लागि भए पनि जनताको आकांक्षा अनुरूप काम गर्छन् कि भन्‍ने झिनो आशालाई पनि अब उनले क्रमशः तुषारापात गराउँदै लगेका छन् । सुदूरपश्चिमको सामान्य परिवारमा जन्मेर नेपाल विद्यार्थी संघ हुँदै तृणमूल तहको राजनीति गरेर आएका देउवा पाँच पटक प्रधानमन्त्री बन्दा पनि आफ्नो छवि, राजनीतिक कदकै लागि भएपनि वा लोकलाजकै लागि भएपनि निर्लज्ज नभइदियून भन्‍ने सदिच्छा उनका शुभेच्छुकले राखेका छन् ।


बिहीबार विश्व बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यस्तै संकेत गरे । ओलीको विकल्पमा सरकार बनाउन ठूलो संघर्ष गरेका नेता नेपालले देउवालाई जनपक्षीय काम गरेर देखाउन आग्रह गर्दै काबिल (योग्य) व्यक्तिहरूको टीम बनाएर काम गर्न आग्रह गरे । नेपालको यो चिन्ता ओलीको विकल्पमा गठन भएको सरकार पुनः उही रसातलमा नजाओस् भन्‍ने देखिन्छ । अहिलेसम्म मन्त्रिमण्डल नै पूर्ण हुन सकेको छैन, भएका नियुक्ति पनि विवादमा छन् । कोभिड-१९को संक्रमण बढीरहेको छ । राहत र आर्थिक पुनःस्थापनामा केही काम हुन सकेका छैनन् । सरकारको रथ अघि बढ्न सकेको छैन, यो कतै अलमलमा देखिन्छ । 

नेपाली जनतालाई फेरि उही देउवा चाहिएको होइन, ती देउवालाई भोगेर जनता निराश भइसके । जनतालाई फेरिएका देउवा चाहिएको हो, राजनीतिमा उदय हुँदै गर्दाको जस्तो जोसिलो र जनताका लागि काम गर्ने देउवा चाहिएको हो ।

प्रधानमन्त्रीका रूपमा देउवाका हरेक कार्यकाल विवादमा परेका छन् । हुन त प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विगत पनि विवादित नै थियो । तर जीवनको उत्तरार्द्धमा उनले मुलुकलाई शान्ति प्रक्रिया र संविधानसभामा लगेर भव्य कद बनाए । इतिहासमा उनको योगदान अजर अमर रह्यो । 

२०५२ सालदेखि पटक-पटक प्रधानमन्त्री बनेका देउवाको त्यो कद बन्‍न सकेको छैन । यसको कारण कोही नभएर उनी आफैँ हुन् । देउवाले आफैँमा सुक्ष्म र गम्भीर समीक्षा गर्न जरुरी छ । उनी कस्ता व्यक्तिहरूबाट घेरिएका छन्, उनले गर्ने निर्णयमा कसले प्रभाव राख्छ ? को हावी हुन्छ ? धेरै सूचना देउवासम्म पुग्‍नै दिइँदैन । उनलाई घेर्नेहरूलाई देउवाको छवि, देश र जनतासँग कुनै मतलब छैन । उनीहरू देउवाबाट स्वार्थका काम मात्र गराउँछन् । प्रायः हरेक शीर्ष नेताको यस्तै हालत छ, जो आफैँ विषयवस्तु/देश दुनियाँको जानकारी लिने चेष्टा राख्दैनन् । आफैँ सक्रिय हुँदैनन् र अरूमा निर्भर हुन्छन् । 

धेरै नेताहरू तृणमूल र जनताको तहबाट राजनीति गरेर आउँछन् तर तिनीहरूको पक्षमा काम गर्न चुक्छन् । दलाल र नातागोतारूपी ‘गोल्डेन स्पोन’हरूको स्वार्थ अनुरूप चल्छन् । त्यसैले वास्तविकता एकातिर, राजनीतिक नेतृत्वको काम गराई अर्कोतिर भएको हो । आम जनतामा निराशा भएर आलोचना भएको हो । आफू जुन वर्गको हितको कुरा गरेर राजनीतिमा उदय भएको हो, आफूले प्राप्त गरेको सत्ता तत्काल तिनको हितमा प्रयोग गर्नुपर्छ । तर यहाँ जुनसुकै दलको सरकार होस्, सत्ता दलालको हितमा प्रयोग हुन्छ ।

आम जनता ठण्डाराम ! सत्ताको स्रोत संसद्‌का २७५ सदस्य होइनन्, सर्वोच्च अदालतको परमादेश पनि होइन । जनता हुन्, जनता । त्यो चेत खुलेर जनताको आकांक्षालाई बुझ्‍ने, मनन गर्ने र तिनको पक्षमा काम गर्ने नेता मात्र चीरकालसम्म नेताको रूपमा स्मरणमा रहन्छ । आज बीपी कोइराला, पुष्‍पलाल श्रेष्ठ, मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारीलाई नेपाली जनताले किन सम्झिन्छन् भन्‍ने प्रश्नमा घोत्लिनेबित्तिकै यसका उत्तर फटाफट आउँछन् ।

यतिबेला नेपाली जनतालाई फेरि उही देउवा चाहिएको होइन, ती देउवालाई भोगेर जनता निराश भइसके । जनतालाई फेरिएका देउवा चाहिएको हो, राजनीतिमा उदय हुँदै गर्दाको जस्तो जोसिलो र जनताका लागि काम गर्ने देउवा चाहिएको हो ।


Author

थप समाचार
x