सम्पादकीय

सम्पादकीय

सरकारको फितलो तयारी क्षम्य हुँदैन, जनस्तरबाट पनि खेलाँची नगरौँ

इकागज |
साउन २९, २०७८ शुक्रबार १०:५२ बजे

सांकेतिक तस्बिर

कोभिड-१९ महामारीको सामना गर्न हामीले पूर्व तयारी शुरु भएको डेढ वर्ष भैसकेको छ । यहीबीचमा कोभिड-१९ को दोस्रो लहरले वैशाख र जेठ महिनामा ठूलो मानवीय क्षति व्यहोर्नुपर्‍यो ।

अस्पताल भर्ना गर्नुपर्ने कोभिड-१९ का बिरामीको संख्या एक्कासी अत्याधिक बढ्दा स्वास्थ्य प्रणालीले धान्‍न सकेन, कतिपय बिरामीले अस्पतालको सामान्य शय्या र चिकित्सकको परामर्शसमेत पाएनन् । प्राणवायु अक्सिजनको समेत अभाव भएर धेरैले अकालमा जीवन गुमाउनुपर्‍यो ।


नागरिकको स्वास्थ्यप्रति संवेदनशीलताको अभाव प्रष्ट झल्काउने त्यी भीडभाड, तीर्थाटन र राजनीतिक भेला, सभासम्मेलन, उद्घाटनले संक्रमण तीव्र वेगमा फैलाउन मद्दत गरेको हो भन्‍नेमा कुनै दुईमत छैन । यसको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्वले लिनुपर्छ । 

अहिले पुनः संक्रमणको ग्राफ उकालो लागेको छ । २२-२५ प्रतिशतको संक्रमणदर देखिन्छ । अन्य देशमा संक्रमणदर १० प्रतिशतभन्दा माथि जानेबित्तिकै कठोर लकडाउन गरिएका उदाहरण छन् । नेपालमा दुई पटक गरेर यो डेढ वर्षको अवधिमा ६ महिना लकडाउन भइसकेको छ ।

अब कोभिड-१९ बाट जोगिने उपायबारेमा जनस्तरमा सबै जानकार भइसकेका छन् भने जोगाउन पूर्व तयारीका लागि पर्याप्त समय व्यतित भइसकेको छ । सचेत भएर गरिने व्यवहारले महामारी नियन्त्रण हाम्रो वशमा रहन्छ । जनस्तरमा सचेत व्यवहार भएन भने फेरि पनि महामारीको डढेलो तपाईं हाम्रो घर-घरसम्म पुग्‍नेछ । अस्पतालहरू भरिनेछन्, रोदन र क्रन्दनको स्थिति आउनसक्छ । 

कोभिड-१९ नयाँ भाइरस भएकाले यसबाट सतर्क भएर जोगिनु उचित हुन्छ । तेश्रो वा चौथो लहर आउँछ कि आउँदैन, त्यसले बालबालिकालाई असर गर्छ कि गर्दैन भनेर प्रमाणिक अध्ययन खोजी गरिरहनुपर्दैन । संक्रमण फैलन सक्ने जोखिम थोरै-थोरै भएपनि न्यूनीकरण गर्दै लैजानुपर्छ । कतिपय जिम्मेवार व्यक्तिहरूले समेत राति ८ बजेपछि आवागमन बन्द गर्ने विषयलाई मजाकका रूपमा लिइरहेका छन् । केही हदसम्म भएपनि संक्रमण फैलने जोखिम न्यूनीकरण होस्, अझै पनि हामी ‘सफ्ट लकडाउन’ कै स्थितिमा छौँ भनेर दिन खोजिएको सन्देशका रूपमा यसलाई सकारात्मक रूपमा लिन सकिन्छ ।

मुखमा गुट्खा हालेर मास्क तल सार्दै पिच्च सडकमा थुकेर हामी नै भन्छौँ, ‘के कोरोना राति ८ बजेपछि मात्र सर्छ र !’

मुखमा गुट्खा हालेर मास्क तल सार्दै पिच्च सडकमा थुकेर हामी नै भन्छौँ, ‘के कोरोना राति ८ बजेपछि मात्र सर्छ र !’ यस्तो छ हाम्रो नागरिक चेतको स्तर । हामीले हरेकपल स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्छ । सुरक्षित व्यपहार अपनाउनुपर्छ । आफू, परिवार र समुदायलाई संक्रमणको जोखिमबाट जोगाउने भनेकै जिम्मेवार हुने हो । बन्दाबन्दी कठोर उपाय हो, यदि हामी सबै जिम्मेवार भएर स्वास्थ्य सुरक्षाका उपाय अपनाएर हाम्रा जनजीविकाका गतिविधि सञ्चालन गर्ने हो भने यसमा खिसीट्यूरी होइन जिम्मेवारीको जरुर छ ।

महामारी भनेको साझा चुनौती हो, त्यो पनि विश्वव्यापी । सबै जिम्मेवार भएर मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ । महामारी नियन्त्रण क्रमशः अब हाम्रो वशमा आउँदैछ । यसका लागि खोपको विकास भएको छ ।

सरकारले हात बाँधेर वा भाषण गरेर मात्र बस्‍ने होइन, सकेसम्म छिटो खोपको पहुँच सबै नेपालीमा पुर्‍याउनुपर्छ । चैतसम्म सबैलाई खोप लगाइसक्ने लक्ष्य छ त्यसलाई दुई-तीन महिना अघि नै सम्पन्‍न गर्न सके सरकारको कार्यसम्पादन राम्रै देखिनेछ ।

त्यसकारण अहिलेसम्म एकपटकमा जम्मा २५ लाख मात्र खोप स्टोर गर्ने क्षमता, यही तयारी र यत्ति नै जनशक्तिबाट चैतसम्म खोप वितरण गरिसक्न मुश्किलमात्र होइन, असम्भव जस्तो देखिन्छ ।

संक्रमण दर उकालो लाग्‍ने क्रमसँगै थप सतर्कता र तयारी आवश्यक छ । प्रदेशका कतिपय अस्पतालहरूमा कोभिड-१९ का बिरामी भरिभराउ हुन थालिसकेका छन् ।

स्वास्थ्य सेवा विभागले महामारीको दोस्रो लहरमा दातृ निकाय र मित्र राष्ट्र तथा शुभेच्छुक संस्थाहरूबाट प्राप्त गरेका स्वास्थ्य उपकरणहरू, भेन्टिलेटर लगायतको वितरण समेत गर्न सकेको छैन । त्यसको सञ्चालनका लागि दक्ष जनशक्तिको प्रबन्ध गर्न सकेको देखिँदैन ।

हिजो जुन फितलो तयारीका कारण महामारीबाट हामी लपेटिएका थियौँ, त्यो जोखिम अहिले पनि उस्तै नै छ । यसमा सरकारले यथोचित ध्यान पुर्‍याउन जरुरी छ । महामारीको पूर्व तयारी भन्दै यति लामो समय व्यतित गरिसकेर पनि मानवीय क्षति रोक्न नसक्ने हो भने त्यो अपराध क्षम्य हुँदैन ।


Author

थप समाचार
x