सम्पादकीय

सम्पादकीय

गगन र रामकुमारीभन्दा पनि नयाँ पुस्ता चाहिन्छ अब

इकागज |
साउन ३१, २०७८ आइतबार १०:३९ बजे

नेपाल यस्तो देश हो, जहाँ व्यवस्था फेरिन्छ, तर शासक भने फेरिँदैनन् । पचास वर्षमा शासन कागजी रूपमा धेरै बदलिइसक्यो, तर पचासौँ वर्षदेखि पद ओगटेकाहरू अझै कुर्सी छोड्दैनन् । 

पार्टीमा महाधिवेशन हुँदैन । भए पनि तिनै पात्र फेरि चुनिन्छन् । चुनावबाट पनि तिनै पात्र निर्वाचित भएर आउँछन् । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । तर हाम्रो निर्वाचन–मतदान राजतन्त्रजस्तो भइसक्या छ । हामी ‘फलानाको त विकल्प नै छैन भन्छौँ’ । विकल्प नै नहुने लोकतन्त्र कस्तो लोकतन्त्र होला त ? 


अहिले जति पनि नेताको नाम लिऊँ । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, महन्थ ठाकुर, रामचन्द्र पौडेल, राजेन्द्र महतो, कमल थापा सबै ६५ वर्ष माथिका हुन् । अरुको के कुरा, युवा नेताजस्तो लागिरहने सुरेन्द्र पाण्डे ६२, मीनेन्द्र रिजाल ६३ वर्ष भइसके । यो नेपालको कानुनअनुसार ज्येष्ठ नागरिकको उमेर हो । नेपालीको औसत आयु ६८ पार गरेका नेताहरू नै शासनमा छन् । 

हाम्रा नेताहरू उमेर भएपछि आराम चाहिन्छ, सुरक्षा भत्ता दिनुपर्छ भन्छन् र दिन्छन् पनि । आफूहरू भने त्यही उमेर पार गरेको वर्षाैं भइसक्दा पनि कार्यकारी पद छोड्दैनन् । राजतन्त्रमा पो बाबु मरेपछि मात्र छोरो राजा हुन पाउँछ, के अब हाम्रा पार्टी र हाम्रो नेपाल राजतन्त्रजस्तो भइसक्यो, अगाडिको नमरी पछाडिकाले पालो नपाउने ? पछाडिकाले पनि सशक्त हस्पक्षेप गर्न सकिरहेका छैनन्, यी युवराज हुन् कि अलिकति जोस र होस भएका नेता ? उसो त दोस्रो पुस्ता झनै हीनभावनाले ग्रस्त छ, कमिसन र करप्सनमा मग्न छ ।

आफ्ना सडेगलेका नेताको परिक्रमा गर्ने युवा, खै के युवा ? के युवा नेताले हामी ५ पटक मन्त्री वा केन्द्रीय सदस्य भइसक्यौं अब हामी थाक्यौं भनेका छन् ? यसरी हेर्दा पाँच चोटि प्रधानमन्त्री हुनु वा अध्यक्ष/सभापति हुनु र पाँच चोटि मन्त्री वा केन्द्रीय सदस्य हुनुमा के फरक छ ? आफूहरूले केन्द्रीय सदस्य वा मन्त्री दर्जन पटक खाइदिने अनि शीर्ष नेतालाई भने पद छाड भन्ने नैतिकता के ? 

लोकतन्त्रमा बहुमतकै शासन हुने हो भने पनि यो वृद्धतन्त्र सुहाउँदो छैन । १५-५९ वर्षको सक्रिय उमेरको जनसंख्या ५७ प्रतिशत छ तर देशको शासन व्यवस्था र पार्टीको माथिल्लो निकायमा यो जनसंख्याको उपस्थिति छैन भने पनि हुन्छ । जुन समूहले शासन गरिरहेको छ, त्यसको जनसंख्या ८ प्रतिशत मात्र छ तर यही ८ प्रतिशत नै शासनमा शतप्रतिशत पद ओगटेर बसेको छ । 

देशमा ५९ वर्षमाथिका जम्मा ८ प्रतिशत, शासनमा चाहिँ सधैँ यही शतप्रतिशत ?


जागिर खानेहरू उमेरअनुसार निवृत्त हुन्छन् । कर्मचारी काम गर्न नसक्ने हुने, अनि त्योभन्दा बढी जिम्मेवारी बोक्नुपर्ने  मन्त्री, प्रधानमन्त्री चाहिँ ८० वर्षमा पनि काम गर्न सकिरहने ? कि यो काम नगर्नुपर्ने पद हो ? 

अहिलेका सबैजसो नेता पारिवारिक शासनविरुद्ध प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि लडेका नेता नै हुन् । अनि मरुन्जेल पद नछोड्ने भनेको त आफू राजावादीभन्दा एक कदमअघि स्वयं राजा नै भएको भएन र ? पदमा बसेर मात्र केही हुँदैन भन्ने त गान्धी, गणेशमान, मदनहरूबाट सिक्दा हुँदैन र ? 

जसले आफ्नो पार्टीका सक्रिय र सिर्जनशील युवालाई अगाडि आउन रोकिरहेको छ, युवा–विद्यार्थी संगठनमा समेत टीका मात्र लाइदिन्छ, त्यसलाई आफ्नै पार्टीले किन प्रधानशत्रु घोषणा गरिरहेको छैन ?  

उमेर पुगेकाले केही गर्नै सक्दैनन्, उनीहरूलाई पदबाट निकाल्नैपर्छ भन्ने आरोप होइन, तर चालीस वर्षदेखि पदमा रहेकाले अब खास केही गर्दैनन् भन्ने चाहिँ पक्कै हो । 
पार्टीमा समयमै महाधिवेशन होस् । खुला रूपमा प्रत्यक्ष निर्वाचन होस् । पार्टीको नेता चुनियोस् । अब फलानो नयाँ मान्छे प्रधानमन्त्री हुन्छ भन्ने आम मान्छेलाई लागोस् । नयाँले भोलि खराबै गरे पनि गरोस् बरु, तर पुरानो जो खराब भनेर पटकपटक प्रमाणित भइसकेको छ, उसलाई अझ कति सुमर्ने ? 

अनि पार्टीभित्रका दोस्रो–तेस्रो पुस्ताका हुतिहारा–पानीमरुवा नेताहरूले पनि अब आदर्शका गफ गर्न छोडे हुन्छ, राजनीति नै छोडे पनि हुन्छ । तपाईंहरूले राजनीति छोडेर मुलुकले केही गुमाउँदैन, मुलुकलाई केही घाटा छैन । जहिल्यै भागबन्डा खोज्ने, अमुक नेताको चाकडी गर्ने पचास कटेका नेताले आफूलाई युवा भन्नु युवा शब्दकै अपमान हो । 

अब ४५ पुगेका गगन थापा वा ४४ पुगेका रामकुमारी झाँक्रीभन्दा सानो उमेरका ३०–४० वर्षबीचका पुस्ताले पार्टी र देश हाँक्नुपर्छ । ४० वर्षभन्दा माथिका नैतिकवान्हरूले सल्लाहकार भएर तिनलाई मार्गनिर्देश गर्नुपर्छ । ५० वर्ष पुगेका वा ५० वर्षदेखि गरिबको करमा मोज गरेकाहरूलाई अब छेउ लगाउनैपर्छ । अस्ति मात्र साउन २९ मा ९४ वर्ष पुगेका पत्रकार तथा लेखक भैरव रिसालले पनि इकागजसँगको एक वार्तामा भनेका छन्, नेपालको भविष्य कस्तो देख्नुहुन्छ ? 
पात्र फेरिए उज्ज्वल देख्छु । नफेरिए झन् झन् अँध्यारो । 

माफ गर्नुहोला, कलाकार हरिवंश आचार्यले दुई वर्षअघि एउटा गीतमा भनेजस्तै हुनत कसैलाई बूढो हुन मन छैन । तर, विगतमा केही पनि गतिलो काम नगरेकाले अब गतिलो गर्छु भन्दा उनकै आत्माले त पत्याउँदैन, मतदाता, करदाता, पार्टीका सच्चा हितचिन्तकले कसरी पत्याउने ? 


Author

थप समाचार
x