सम्पादकीय
ओली न देउवा : अध्यादेशको शासन सधैँ अस्वीकार्य
शेरबहादुर देउवाको गठबन्धन सरकार बनेसँगै हामीले सम्पादकीयमै लेखेका थियौँ, ‘सरकारले अब अध्यादेशको ‘अ’ पनि नसोचोस्...।’ संसद् व्यर्थ तुल्याउँदै केपी शर्मा ओलीको अध्यादेश राजबाट नागरिक आजित भइसकेका थिए । दुर्भाग्य नै भन्नुपर्छ, शासनवृत्तमा जे शैली ओलीकालमा देखियो । देउवा गठबन्धनको सरकार पनि त्यही पदचाप पछ्याउँदै छ ।
देउवा मन्त्रिपरिषद्वारा ‘राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश-२०७८’ जारी गर्ने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता गराइसकेको छ । राष्ट्रपति कार्यालयबाट त्यो अध्यादेश जारी भएको खण्डमा अब २० प्रतिशत सांसद ‘वा’ केन्द्रीय समितिका सदस्य भएको खण्डमा सजिलै दल विभाजन हुनेछन् । सँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले पनि दल विभाजन भएको तीन सातासम्म दल रोज्न पाउनेछन् । अर्थात्, दल विभाजनको भाँडभैलो संघ र प्रदेशमा मात्र होइन, स्थानीय तहसम्म पनि पुग्नेछ ।
त्यसो त, अरू दल छिन्नभिन्न पार्दै आफूलाई अति ‘शक्तिशाली’ बनाउने उद्देश्यअनुरूप अघिल्लो वर्ष वैशाख ८ मा पूर्ववर्ती प्रधानमन्त्री ओलीले अध्यादेश गराएका थिए । त्यतिखेर ओलीलाई उपेन्द्र यादवको समाजवादी पार्टी विभाजन गरी तिनका सांसदलाई आफूतिर तान्नु थियो । त्यो अध्यादेशसँगै परिणाम चाहिँ उल्टो हुन पुग्यो ।
अर्थात्, त्यो अध्यादेशसँगै २०७७ वैशाख ११ मा राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टी एकीकरण हुन पुगे । त्यो एकीकरणसँगै समाजवादी विभाजन गर्न आवश्यक संख्या विभाजनकारी सांसदहरूसँग पुगेन । उतिखेर समाजवादी पार्टी विभाजनबाट जोगिएको थियो ।
उता त्यो अध्यादेशसँगै ओली पार्टीभित्रै अधिक शंका-आशंकाको घेरामा परे । अर्थात् तत्कालीन ‘नेकपा’को घर झगडामा आगो सल्काउने झिल्को त्यही अध्यादेश बन्न पुग्यो । अझ अध्यादेशसँगै ‘सांसद अपहरण’का दृश्यसमेत मञ्चन गरियो । जतिखेर दुई तिहाइ नजिकका ओलीलाई त्यसरी अरु पार्टीको सांसद चोर्नुपर्ने कारण पनि थिएन ।
उतिखेर ओलीले अध्यादेशमा केन्द्रीय समिति ‘वा’ संसदीय दलको चालीस प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने बाटो खोलेका थिए । सँगै अध्यादेशमा ‘र’ हटाउँदै ‘वा’ को प्रवेश गराए, जसले पार्टी वा दल विभाजन गर्न सजिलो तुल्यायो नै । केन्द्रीय समिति ‘र’ दल हुँदा दुवैतिर संख्या पुर्याउनुपर्ने कानुनी बाध्यता हुन्छ भने ‘वा’ हुँदा एकातिर पुर्याउँदा हुने व्यवस्था प्रवेश गराए ।
संविधानतः उपलब्ध सानो छिद्रलाई भ्वाङ पार्दै सधैँभरि शासनाधारको ‘ब्रह्मास्त्र’मा परिणत गरिँदै छ, अध्यादेश । अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संसद्-संविधानमाथि जालसाजी हो ।
अध्यादेशको मक्सदअनुरूप समाजवादी दल विभाजन गर्न नसक्ने स्थिति बन्नु र चारैतिरबाट आएको आलोचनासँगै चार दिनपछि अध्यादेश फिर्ता लिएका थिए । देउवा सरकारले त्यही प्रावधानलाई आधामा झार्दै २० प्रतिशतमा ओराल्न खोजेका हुन् ।
राजनीतिक रूपमा हेर्दा एमालेका माधवकुमार नेपाल समूहको ‘अनिर्णय’का कारण देउवाले सरकारले विस्तारित रूप पाउन सकिरहेको छैन । दल विभाजन नहुँदा उपेन्द्र यादव समूहलाई सरकार प्रवेश गर्न कठिनाइ भइरहेको देखिन्छ, किनभने मन्त्री नपाउनेहरू अर्कातिर जान सक्ने खतरा छ । उता महन्थ ठाकुर समूहसँग केन्द्रीय कार्यकारिणी समितिमा ३४ प्रतिशत मात्र सदस्य रहेपछि उनीहरूको दलीय हैसियत समस्यामा परेको छ । तत्कालको दृश्य तिनीहरूलाई ‘सजिलो’ तुल्याउन अध्यादेश जारी भएको देखिन्छ ।
तर, यो अध्यादेशसँगै दीर्घकालमा यिनै दलहरू छिन्नभिन्न हुँदै स-साना दलहरू बोलवाला हुनेछ । त्यो दल विभाजनले तत्कालका निम्ति देउवालाई त सजिलो होला । कालान्तरमा उनको दल कांग्रेस विभाजनको मारमा पर्न सक्नेछ । किनभने कांग्रेस पनि गुटै-गुटको घर हो । अर्थात्, यो अध्यादेशले आमन्त्रण गर्ने भनेको दलीय अराजकता नै हो ।
अर्को त, सरकारलाई राजनीतिक दल सम्बन्धी कानुन संशोधन मन लागेको थियो भने संसदीय अनुमोदन प्रक्रियाबाटै त्यो जारी गराउन सक्थ्यो । तर, संसद् अधिवेशन हठात् अन्त्य गर्दै भोलिपल्टै अध्यादेश जारी गर्ने बाटोमा जानु भनेको संविधान, संसदीयवाद र अदालती आदेशविरुद्ध प्रस्तुत हुनु हो । सर्वाेच्च अदालतको संवैधानिक इजलासले विधायिका (संसद्) छल्ने उद्देश्यले जारी अध्यादेशलाई ‘छद्म विधायन’ संज्ञा दिँदै त्यस्ता अध्यादेशले संवैधानिक वैधता प्राप्त गर्न नसक्ने आदेशसमेत दिएको छ । यो पृष्ठभूमिमा जारी हुने अध्यादेशले राजनीतिक र कानुनी विवादलाई आमन्त्रण गर्ने नै छ ।
संविधानमा ‘संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ’ भन्ने प्रावधान छ । यसको अर्थ अति आवश्यक परेको बेला मात्रै अध्यादेशको परिकल्पना गरिएको हो । संसद् अधिवेशन अन्त्य गर्दै तजबिजी शासन निम्ति अध्यादेशको ‘मूलबाटो’ प्रदान गरिएको होइन ।
तर, संविधानतः उपलब्ध सानो छिद्रलाई भ्वाङ पार्दै सधैँभरि शासनाधारको ‘ब्रह्मास्त्र’मा परिणत गरिँदै छ, अध्यादेश । अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संसद्-संविधानमाथि जालसाजी हो । संसद्लाई ‘बाइपास’ गर्नु भनेको स्वेच्छाचारी र तदर्थवादी शासनतिर मोहित हुनु हो ।
संसद् छल्दै शासकीय वृत्तबाट उनीहरू अनुकूल अध्यादेशबाट मुलुक सञ्चालित गर्दा अन्ततः संविधान र संसदीयवाद धराप पर्न सक्छ । त्यसो हुँदा कुनै खाले असाधारण र अत्यावश्यकीय अवस्थामाबाहेक अध्यादेश स्वीकार्न सक्ने अवस्था हुँदैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया