सम्पादकीय
अब दल-दलमा फुट, दलदलमा ‘नेपाल’को भविष्य
अन्ततः कचिङ्गल-झगडाले मुलुकको सबभन्दा ठूलो पार्टी एमालेलाई वैधानिक रूपमै विभाजित तुल्याएको छ । मालेलाई बहुदलपछि एमालेमा रूपान्तरित गराउँदै संस्थागत स्वरूप दिँदै आएका माधवकुमार नेपाल समूहले मंगलबार नयाँ पार्टी नेकपा (एमाले-समाजवादी) दर्ता गराएको छ । अब निर्वाचन आयोगबाट प्रमाणपत्र पाएसँगै राजनीतिक वृत्तमा एमालेमा ‘समाजवादी’ फुर्को जोडिएको पार्टी देखापर्नेछ । एमालेमा मात्र होइन कि जनता समाजवादी पार्टीमा पनि ‘लोकतान्त्रिक’ फुर्को जोडिएको नयाँ पार्टी पनि राजनीतिक सतहमा आउनेछ ।
एमाले-समाजवादी पार्टीका हकमा भने जन्मँदै सत्तारूढ दल बन्ने निश्चित छ । शेरबहादुर देउवा गठबन्धन सामेल हुनकै निम्ति राजनीतिक दलसम्बन्धी कानुनलाई समेत क्षतविक्षत तुल्याउँदै अध्यादेशका आधारमा नयाँ पार्टी जन्माइएको हो । हुन पनि यो देउवा गठबन्धन सरकारको ‘जग’ उनै माधवकुमार नेपालका कारण बनेको हो । त्यसकारण नयाँ पार्टी एमाले-समाजवादी देउवा-सत्ताको महत्वपूर्ण हिस्सेदार बन्नेछ । सत्तासँगै नयाँ दललाई दरिलो-भरिलो बनाउने उद्देश्य तिनले बोकेका छन् ।
नेपाल समूह अर्थात् एमाले-समाजवादीलाई सरकारमै सामेल गराउने उद्देश्यअनुरूप देउवाले चर्को आलोचनालाई समेत नजरअन्दाज गर्दै देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गराएका हुन् । नेपाल समूहलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री देउवा छत्तीस-सैँतीस दिनदेखि कुरेको कुर्यै छन् । नयाँ दल बनेसँगै सरकारले विस्तारित आकार पाउने देखिन्छ ।
एकातिर कम्युनिस्ट शक्तिलाई एकताबद्ध तुल्याउँदै एउटै शक्तिशाली कम्युनिस्ट निर्माणको महाअभियानमा सक्रिय थिए, माधवकुमार नेपाल । उनीसँग स-साना कम्युनिस्ट घटक जोड्दै प्रभावशाली एमाले निर्माण गरेको अनुभव पनि थियो । मुलुकमा एकमात्र कम्युनिस्ट पार्टी बनाउने उनको धोको विपरीत ‘फुर्को’ जोडेको नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्न पुगे । यो चाहिँ उनका हकमा दुर्भाग्य नै भन्नुपर्छ । अर्को त, राजनीतिक जीवनको उत्तराद्र्धमा एमालेको विभाजनका कारक बन्न पुगे ।
माधवकुमार नेपालले ‘अपमानित’ हुँदै ‘कुण्ठित’ राजनीतिक जीवन बिताउनुभन्दा विभाजनलाई ‘सर्वोत्तम’ देख्न पुगेका हुन् । साढे तीन वर्षे शासकीय कार्यकालमा ओलीले फरक मत राख्ने र आफ्नो नेतृत्वलाई चुनौती दिने नेताहरूलाई सिध्याउन कुनै कसर बाँकी नराखेकै हुन् ।
अर्को अनौठो चाहिँ एमालेभित्र कसरी नयाँ पार्टी सिर्जित हुन पुग्यो भन्ने बहस भित्रिएको छैन, बरु उल्टो नेपाल र उनको समूहलाई खेदाई-गोदाई हुँदै ‘लाल-गद्दार’ घोषित गर्दैछन् । त्यसो त, कम्युनिस्ट पार्टी र तिनका कार्यकर्ताबीच ‘लाल-गद्दार’ शब्द नौलो होइन । उनीहरू अलि फरक मत राख्नेबित्तिकै भएभरका गाली बर्साउँछन्, अनि ‘लाल-गद्दार’ एउटा शब्द मात्र हो ।
खासमा केपी शर्मा ओली सत्तारूढ भएसँगै उनी र उनको समूहले बर्साएको यस्तै अपमानित रुखो शब्दावली र व्यवहारका कारण एमालेभित्र विग्रह बाक्लिँदै विभाजनसम्म पुगेको हो । सार्वजनिक तहमै ओलीले नेपाल र उनका समूहका मानिसलाई लोकतान्त्रिक समाजमा पाच्य नहुने शब्द बर्साएकै हुन् ।
माधवकुमार नेपालले ‘अपमानित’ हुँदै ‘कुण्ठित’ राजनीतिक जीवन बिताउनुभन्दा विभाजनलाई ‘सर्वोत्तम’ देख्न पुगेका हुन् । साढे तीन वर्षे शासकीय कार्यकालमा ओलीले फरक मत राख्ने र आफ्नो नेतृत्वलाई चुनौती दिने नेताहरूलाई सिध्याउन कुनै कसर बाँकी नराखेकै हुन् । उता बफादार बन्नेहरूलाई पार्टी र राज्यका पदहरूमा हाबी गराए, संविधान, कानुन र विधि-प्रक्रियालाई समेत क्षतिविपक्ष तुल्याउँदै । तैपनि एमाले फुट्नुको कारण-कारक खोतल्न खोजिएको पाइँदैन ।
एकै दिन एमाले-समाजवादी र जसमा ‘लोकतान्त्रिक’ दल दर्ता हुन पुगे । कानुनतः ४० प्रतिशत पुर्याउन नसकेपछि दलविहीन भएका महन्थ ठाकुर-राजेन्द्र महतोलाई अध्यादेशसँगै वैधानिक तवरमै ‘लोकतान्त्रिक’ थप्ने अवसर मिलेको छ ।
तर डरलाग्दो दृश्य चाहिँ अध्यादेशले दलीय पद्धतिलाई छिन्नभिन्न तुल्याउने हो कि भन्ने खतरा पनि छ । अब केन्द्रीय समिति अथवा संसदीय दल, जतातिर ‘बीस प्रतिशत’ पुर्याउन सकेको खण्डमा सजिलै नयाँ दल दर्ता गर्न सकिन्छ । विगतमा राजनीतिक दलसम्बन्धी कानुनमा पार्टी विभाजन हुन केन्द्रीय समिति र संसदीय दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने प्रावधान थियो । दुवैतिर चालीस प्रतिशत संख्या पुर्याउनु सजिलो थिएन ।
अब प्रतिशत नै आधामा झरेपछि, त्यो पनि ‘र’ को ठाउँमा ‘वा’ वर्चश्व जमाएपछि दलीय पद्धतिमै अनौठा घटनाक्रम देख्नुपर्ने निश्चित छ । त्यसै त, हाम्रा राजनीति दलहरू गुटैगुटले झांगिएका थिए । अब तिनलाई त्यसरी गुट खेलाएर बस्नुभन्दा नयाँ दलकै पसल खोल्नु सजिलो हुनेछ । तर, दुर्भाग्यपूर्ण स्थिति कहाँ पुग्छ ? भन्न सकिने अवस्था छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया