सम्पादकीय
‘समाजवादी नेता’ माधव नेपालको अबको यात्रा
कम्युनिस्ट पार्टीहरूमा एउटा भनाइ चर्चित छ, ‘आलोचनात्मक विचारमाथि नोकरशाही दमन, गुटबन्दी, वैचारिक अराजकताले हल गर्न खोजियो भने त्यो विचार गुटको रुपमा संगठित हुन्छ र अन्ततः पार्टी फुट्छ ।’ अन्ततः उनीहरूको यो भनाइ एमाले विभाजनका हकमा ठ्याक्कै लागू भएको छ । जीवनभर कम्युनिस्ट आन्दोलनमा होमिएका र एमाले दरिलो पार्टीका रुपमा स्थापित गर्न खटेका माधवकुमार नेपाललाई अध्यक्ष केपी ओलीले यस्तै गुटबन्दी मोर्चा खडा गरी नोकरशाही दमनकै कारण जन्मिन पुग्यो, ‘नेकपा एकीकृत समाजवादी पार्टी ।'
कुनै पनि राजनीतिक दल वैचारिक चिन्तन, लोकतान्त्रिक प्रतिस्पर्धा, विधि, प्रक्रिया र कानुनद्वारा सञ्चालित हुन्छ । त्यसपछि जनताप्रति गरिएका वाचा र तिनको कार्यान्वयन नै पार्टीको अस्तित्वसँग जोडिएको हुन्छ । एमाले र एकीकृत माओवादी मिलेर बनेको कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीले यी सबै अन्तरवस्तुलाई दम्भ र पाखण्डद्वारा हेप्न खोज्दा अन्ततः कम्युनिस्ट पार्टी र आन्दोलन छिन्नभिन्न हुन पुगेकोमा दुई मत छैन । संसद्मा झन्डै दुई तिहाईको बहुमत आएपछि ओलीमा निरंकुशतावादी सोच र कार्यशैली हाबी हुन पुग्यो ।
उनले पार्टीका समस्त जीवन्त, तर फरक मत राख्ने सदस्यहरूलाई आफ्नो दास ठान्न थाले । अनि आफैँले आफूलाई मालिक घोषणा गरे । यही दम्भ र यस्तो घोषणाले पार्टी मात्र होइन कि आममतदाता, जसले यति धेरै जनमत दिएर पठाएका थिए, तिनको पनि अपमान गरे । दुई तिहाईबाट सत्ताच्यूत हुँदै सडकमा आइपुग्दा पनि दम्भ गलेको छैन । अझै उनी सर्वोच्च अदालतदेखि संवैधानिक निकायहरूलाई लर्कार्दैछन् ।
बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू विभाजित हुनु निश्चय पनि राम्रो कुरा होइन । यसले लोकतन्त्रलाई नै कमजोर मात्र बनाउँदैन कि व्यवस्थाप्रति नै नागरिकको वितृष्णा बढाउँछ । जब दलहरू भित्री रुपमा संगठित हुँदैनन्, उनीहरूले जनताका समस्या समाधान गर्न सक्दैनन् भन्ने ओलीको दुई तिहाइ सरकारले देखायो । ओली एक्लैलाई जनताले दुई तिहाई दिएका थिएनन् ।
त्यसमा माधव नेपाल, एकीकृत माओवादीका नेतालगायत तमाम कार्यकर्ता र शुभचिन्तनकहरूको पनि योगदान थियो । चुनावमा जनताप्रति गरिएका वाचा कार्यान्वयन गर्नु तत्कालीन नेकपाको धर्म थियो । त्यो धर्म निर्वाह गर्ने क्रममा पार्टीले संस्थागत निर्णय गर्नु अनुचित थिएन । तर पार्टीको निर्णय नै नमान्ने ओलीको दम्भले नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पारिदियो ।
आफूले आफू अल्पमत परेपछि बहुमतलाई उपेक्षा गर्ने, पार्टीका निर्णय नमान्ने, बैठक नै नगर्ने, बैठक गरे पनि आउँदै नआउने आए पनि निर्णय नगर्ने, निर्णय गरे पनि पालना नगर्ने ओलीको हुँकारले मुलुकको साढे तीन वर्षको समय व्यर्थै खेर गयो ।
विश्वमै सर्वाधिक पिछडिएको र गरिब देश नेपाल भएकाले यहाँका राजनीतिक दलहरू जनतालाई लोभ्याउन पार्टीको नाममा कम्युनिस्ट राख्ने गर्छन् ।
उता शासकीय रुयमा यो अवधिमा भ्रष्टाचार, आर्थिक अराजकता र ओली गुटको आर्थिक पोषण मात्र भयो । त्यही आर्थिक पोषणले ओली र उनका गुटका सदस्यहरूमा अराजकता हाबी हुन पुग्यो । अन्ततः माधवकुमार नेपालजस्तो कुशल संगठकको अपमान हुन पुग्यो । ओली गुटमा अझै पनि दास मनोवृत्तिका व्यक्तिहरू हाबी छन् । ओलीले गरेका अराजक, असंवैधानिक क्रियाकलापको प्रतिवाद गर्ने, प्रतिरोध गर्ने र वास्तविक निर्णयका तहमा पुर्याउन सक्ने व्यक्तिहरू छैनन् । त्यो सिंगो एमालेको लागि सबैभन्दा दुःखद पक्ष हो ।
विश्वमै सर्वाधिक पिछडिएको र गरिब देश नेपाल भएकाले यहाँका राजनीतिक दलहरू जनतालाई लोभ्याउन पार्टीको नाममा कम्युनिस्ट राख्ने गर्छन् । तर यथार्थ र व्यवहारमा नेपालमा कम्युनिस्ट पार्टी छैन । कम्युनिस्ट पार्टीले राज गरेको मुलुकमा शिक्षा र स्वास्थ्यको व्यापार हुँदैन । जनताको आधारभूत तत्व नै शिक्षा र स्वास्थ्य हो ।
तर, शैक्षिक संघ संस्थान र स्वास्थ्य प्रतिष्ठानमा एमालेकै वर्चस्व छ । गरिब र सर्वसहारा वर्गको प्रतनिधित्व गर्ने भनिएका नेपालका कम्युनिस्टहरू पुँजीवादीमा रुपान्तरण भइसकेका छन् । त्यसैले एमाले कम्युनिस्ट होइन भन्ने उसको कार्यशैली र व्यवहारले नै उजागर गरेको छ ।
त्यही परिवेशबाट आएका माधव नेपालले नयाँ दल दर्ता गरेका छन् । निश्चय पनि नेपाल शालीन र भद्र छन् । राजनीतिमा अलिकति नैतिकता भएका व्यक्ति हुन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा पार्टीले नराम्रो हार खाँदा एकल जिम्मेवारी लिँदै महासचिवबाट राजीनामा गरेका व्यक्ति हुन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला गर्दा पनि राजीनामा नैतिकता त के कानुनी तौरमै राजीनामा नदिने ओली हुन् ।
तर नेपालको यात्रा चुनौतीपूर्ण देखिन्छ । पार्टीलाई भ्रष्टीकरण हुन नदिने, सदस्यहरूलाई अनुशासनमा राख्ने र अब पुनर्गठन हुने सरकारमा स्वच्छ छवि भएका सांसदलाई पठाउने, उनीहरूको क्रियाकलाप अनुगमन गर्ने र हिजो ओलीले गरेका काम नदोहोर्याउने प्रतिबद्धता नेपालले सार्वजनिक गर्नुपर्छ र त्यहीअनुसार कर्म पनि । अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण आगामी दिनमा कुनै पनि दलको बहुमत आउने सम्भावना न्यून छ । त्यसैले जनताको आवश्यकता पूरा गर्न सम्भावना भएका दलहरू ध्रुवीकृत हुन जरुरी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया