सम्पादकीय
व्यक्ति हत्या बन्द गर
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले मंगलबार बिहान मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको अपहरण गरी हत्या गर्यो । यो हत्याको उक्त पार्टीले जिम्मा पनि लिइसकेको छ । चन्द नेतृत्वको नेकपा व्यक्ति हत्यामा उत्रेर मुलकलाई फेरि संकटतिर डोर्याउँदै छ । जुनसुकै राजनीतिक वाद र विचारमा हत्या बर्जित हुन्छ ।
मान्छेको बाँच्न पाउने हक र अधिकारलाई संविधानले मात्रै ग्यारेन्टी गरेको छैन, नेपाल पक्ष भएर गरिएका राष्ट्रसंघीय अभिसन्धिहरुले पनि हत्यालाई निषेध गरेको छ । तसर्थ श्रेष्ठको हत्या घोर निन्दनीय मात्र होइन, जघन्य अपराध पनि हो । सरकारले तत्काल अपराधीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनु जरुरी छ । एक व्यक्ति मारेर अरुलाई तर्साउने विगतमा माओवादीद्वारा अख्तियार क्रियाकलापलाई चन्द नेतृत्वको नेकपाले निरन्तरता दिन चाहेको देखिन्छ । बम विस्फोट, चन्दा आतंक, नागरिकको हत्याजस्ता क्रियाकलाप कुनै हालतमा सह्य हुँदैन ।
हिजो प्रहरीले चन्दका कार्यकर्तालाई पक्राउ गरी इन्काउन्टर गर्दा त्यसको सर्वत्र विरोध भएको थियो । विद्रोही वा राज्य कुनै पनि पक्षलाई व्यक्ति हत्या गर्ने अधिकार छैन । त्यो सधैं निन्दनीय, घृणायोग्य र दण्डनीय हुन्छ । चन्दका कार्यकर्तालाई पक्राउ गर्दै हत्या गर्दै आएको सरकारले राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन पालना गरेन । यसले गर्दा दुवै पक्ष हत्यामा उत्रिएको प्रस्ट छ । राज्यले अपराध गर्नु अझ बढी डरलाग्दो र जघन्य हो ।
माओवादीको ‘कथित जनयुद्ध’मा १७ हजार नेपालीको ज्यान गयो । आखिर माओवादी कुन अवस्थामा स्खलित भए, सबैमा जाहेरै छ । हिजो झापामा टाउको काटेर फौजदारी अभियोगमा सजाय पाएकाहरु सत्तामा छन् । २०२८ सालदेखि व्यक्ति हत्याको यो श्रृंखला एक्काइसौं शताब्दीमा पनि जारी हुनु आम नेपाली नागरिकका लागि बडो खेदजनक कुरा हो ।
अब व्यक्ति हत्याको श्रृंखलामा पूर्ण विराम लगाउनैपर्छ । सरकारले बेपत्ता पारेका चन्दका कार्यकर्तालाई तत्काल सार्वजनिक गरी ऊसँग वार्ता गर्नुको विकल्प छैन ।
लोकतन्त्रमा आफ्ना विचार, मत अभिव्यक्त गर्न पाइन्छ । सरकारका नीति, क्रियाकलाप, कर्म र व्यवहारको आलोचना गर्न र प्रश्न उठाउन सकिन्छ । तर त्यो हत्या र हिंसाको आडमा होइन । लोकतन्त्र मान्दिनँ पनि भन्न पाइन्छ, तर मान्छे मार्न चाहिँ पाइँदैन ।
जुनसुकै राजनीतिक व्यवस्था वा वादमा सर्वप्रथम जनता सबैभन्दा महत्वपूर्ण पक्ष हुन् । जनताले साथ दिएको खण्डमा जस्तोसुकै राजनीतिक क्रान्ति सम्भव हुन्छ भन्ने मुलुकमै भएका पटक-पटकका जनआन्दोलनद्वारा स्थपित तथ्य हुन् । जनताका छोराछोरी शहिद हुने, अंगभंग भई प्रताडित जीवन व्यतित गर्नुपर्ने, आमाहरुका कोख रित्याउनुपर्ने, सिन्दुर पुछिनुपर्ने अनि यसरी सत्तामा पुर्याइएका नेताहरु मोजमस्ती गर्ने, चार पुस्तालाई पुग्ने गरी धन थुपार्ने र संस्थागत तवरमा भ्रष्टाचार गर्ने कृत्य हुँदै आइरहेको छ । आखिर कसका लागि जनताले पटक-पटक सहादत प्राप्त गरिरहनुपर्ने ?
कथित जनयुद्धकालीन माओवादीले गरेका व्यक्ति हत्या, बेपत्ता पारेका श्रृंखला, अपहरण, सम्पत्ति जफत जस्ता विषयलाई राजनीतिक दलहरुले आँखा चिम्लेर दिएको एकप्रकारको ‘क्षमा’को प्रभाव हो चन्द नेतृत्व नेकपाको व्यक्तिहत्या श्रृंखला । बेपत्ता परिवारलाई न्याय दिने, व्यक्ति हत्याका आरोपितलाई कानुनी कठघरमा पुर्याउनेजस्ता हिजो जनतासँग गरिएका वाचा आज कहाँ र कुन अवस्थामा छन् ? हत्याका आरोप लागेकाहरु मजाले सत्तामा बस्ने जस्ता विचलन सत्तारुढ नेकपामा नभएका होइनन् । पहिले आफ्नो अनुहार पनि हेर्नुपर्यो के यिनीहरुले कानुनको धज्जी उडाएका छैनन् ?
अब व्यक्ति हत्याको श्रृंखलामा पूर्ण विराम लगाउनैपर्छ । सरकारले बेपत्ता पारेका चन्दका कार्यकर्तालाई तत्काल सार्वजनिक गरी ऊसँग वार्ता गर्नुको विकल्प छैन । व्यक्ति हत्यामा संलग्नलाई कानुनी कारबाही गरी जनताको बाँच्न पाउने अधिकारको सम्मान दुवै पक्षले गर्नुपर्छ । यतिखेर नागरिक असंगठित छन् र तत्काल केही गर्न सक्दैनन् भन्ने सोच राखेर दुवै पक्ष दमन र हत्यामा उत्रने हो भने त्यो तिनका निम्ति प्रत्युत्पादक हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया