सम्पादकीय
हास्यव्यंग्यको स्तर
भर्खरै गाईजात्रा पर्व गयो । गाईजात्राका बेला हाँस्ने–हँसाउने चलन बसेको छ । पहिले पहिले यति बेला राजधानी काठमाडौँमा हप्ता–पन्ध्रै दिनसम्म हास्यव्यंग्य कार्यक्रम चल्थे । अहिले कोभिड महामारी भएर मात्र होइन, अलि पहिलेदेखि नै हास्यव्यंग्यमा दर्शक कम भइसकेका थिए । बीसौँ–तीसौँ वर्षदेखि उनै पात्रहरूले हास्यव्यंग्यको मञ्च कब्जा गरेपछि दर्शकलाई चिनी पनि तीतो लाग्न थालेको थियो । जब सोसल मिडियाको उदय भयो अनि नयाँ कलाकारहरू पनि चिनिन थाले ।
यसपालि भौतिक हैन, भर्चुअल प्रहसन भए । प्रत्यक्ष हुँदा दर्शक होलान् कि नहोलान् भन्ने पिर । भर्चुअल गर्दा, सञ्चार माध्यमबाट गर्दा दर्शकको खासै पिर भएन पनि । दर्शकले ताली बजाउलान्, नबजाउलान्, हाँस्देलान् नहाँस्देलान् भन्ने लन्ठा पनि भएन । अहिले त हाँस्न र ताली बजाइदिन मान्छे नभएर के भयो, रोबोट छँदै छ । यसपालिको गाईजात्रै कमेडी भौतिक रूपमा भएको भए सायद पहिलो पल्ट कुनै क्षणमा पनि दर्शक नहाँसेको, ताली नबजाएको रेकर्ड हुन्थ्यो होला । शान्तिपूर्ण कमेडीको ताज पहिरिनबाट यसपालि मनोज गजुरेल टिम वञ्चित भयो । अहिले हाम्रो कमेडी भन्नु नै कलाको सबैभन्दा ठूलो ट्रेजेडी हो ।
हाम्रो लोकजीवन हाँसखेल गर्ने नै हो । हाम्रा पुर्खाहरूले ठट्यौलीमा गर्ने गफको पोयो फुकाउन हामीलाई हैरान नै हुन्छ । हाम्रा पुुर्खाहरूको अभिव्यक्तिको वक्रताको स्तर कतिसम्म माथिल्लो थियो, उक्तिलाई कसरी सूत्रात्मक बनाउँथे, उक्तिलाई कसरी ट्वाक्क बनाउँथे, उक्तिमा कसरी वैचित्र्य थप्थे, यस्ता कुरा हाम्रा उखान–टुक्क्काहरूको अज्ञात आविष्कारबाट पनि पुष्टि हुन्छ । राम्रो व्यंग्यचेत हुनका लागि अहिले त पढ्नु पनि राम्रो नै हो । अझ पहिलेको कुरा गर्दा जो समाजमा राम्ररी भिजेको छ, जसले समाजको नाडी छामेको छ, निरक्षर समाजबाटै यस्ता कला–कमेडी सृजना हुन्थ्यो । हाम्रा लोकगीत, लोकनाटक, लोकगाथा, लोकदोहोरीमा छेडखानी गर्ने, घोचपेच गर्ने अर्थात् हाँस्ने हसाउने तत्व प्रशस्तै पाइन्छ ।
हाम्रो लेखनमा भैरव अर्यालहरूले हास्यव्यंग्यलाई माथिल्लो कोटिमा पुर्याएका छन् । दुर्गा बराल अर्थात् वात्स्यायनहरूले हास्यचित्रहरूलाई उचाइमा पुर्याएका छन् । एक दशक पहिलेसम्मका महजोडीले पञ्चायती–प्रजातान्त्रिक कालमा प्रहसनमार्फत उत्कृष्ट व्यंग्य गर्दै हँसाए । चट्याङगीता लेखेर चट्याङ मास्टरले मुक्तक टाइपका कवितालाई स्वादिलो बनाए । जसै नेताहरूले आफ्नो राजनीतिमा मजाक मिसाए उसै मनोज गजुरेलदेखि सुबोध गौतमसम्मले आफ्नो हास्यमा राजनीति मिसाइरहेका छन् । सन्दिप क्षेत्री मधेसी–मजाकमा विवादित भए पनि उनी सस्तोमस्तो कमेडियन होइनन् । तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोल, सक्किगोनि वा मुन्द्रेको कमेडी क्लबहरूलाई नेपाली समाजको प्रतिनिधि हास्यचेतवाला कार्यक्रम भन्न मिल्दैन । यी औसत दर्शकको चेतना स्तरभन्दा धेरै पछिल्तिर छोडिएका ध्वनि प्रद्रूषणदेखि विविध प्रदूषणका उटपट्याङ मात्र हुन् ।
अहिले कथित हास्य टेलिसिरियलहरूले मान्छे हँसाउन छोडेका छन् । ठूल्ठूलो स्वरमा चिच्याउने, क्यारिकेचर मात्र गर्ने, अभिनयमा होइन अनुहार बंग्याइमा ध्यान दिने यस्ता कार्यक्रम हेरेर हाँस्नु भनेको स्वयं हाँसोको पात्र बन्नु हो । अहिले कार्टुनमा पनि चित्रभन्दा क्लिसे डायलग बढी देखिन थालेको छ । अहिले चित्र बोल्दैन, बोलाउनुपर्छ । कार्टुन हेरेर हाँस्नु पनि आफैँ कार्टुन हुनुजस्तो अवस्था छ ।
यहाँ सन्दर्भ परेर मात्र हास्यव्यंग्यलाई आलोचना गरिएको हो । अन्यथा हाम्रो चित्रकारिता वा चलचित्रकारिता, साहित्यकारिता वा संगीतकारितादेखि हाम्रा यावत् कलाकर्म खिइँदै छन्, टाक्सिँदै छन् । क्षणिक वाहवाह बटुल्ने अनि सेलाउने उपक्रम हाम्रो मूल पहिचान बनेको छ । उसो त गुदी भएका कलाकार नभएका होइनन् तर ती अहिलेको भीडभाडमा एकान्तमा छन्, नेपथ्यमा छन्, एक्लै उदास छन् ।
पुरानो पुस्ता अद्यावधिक छैन । उनीहरूको अभिव्यक्ति र अभिनय अब हाँस्ने भन्दा रुवाउने खालको छ । नेपाली समाज बहुसांस्कृतिक समाज हो । यहाँका सयभन्दा बढी भाषा–जात अनि विविध पहिरन–पर्व, लबज–रिवाजहरू हाम्रो हास्यव्यंग्यमा छैनन् । छन् त, हेयभावले मात्र । अनि अक्सर व्यंग्य शक्तिशाली समूह, शासकीय भाषा र व्यवहारलाई गर्ने हो, कमजोरलाई सशक्तीकरण गर्ने गरी सम्मानजनक तरिकाले प्रस्तुति दिने हो । तर, हाम्रा कमेडियनहरूले नेपाली समाजको विविधता र विभेदता बुझेको देखिएन ।
अहिले जति पनि कमेडियन आएका छन्, तिनमा मौलिकता कम छ । लामो यात्राको लक्ष्य त के रहर नै छैन । ती आउँछन्, जान्छन् । यति धेरै विषय छन् हाम्रो समाजमा, उनीहरूलाई कन्टेन्टको अभाव छ । जस्तो : कमेडी च्याम्पियनमा आउने अतिथि प्रस्तोतादेखि सहभागीसम्मले रोस्ट गर्दा सायद ९९ प्रतिशतले उही वाक्य दोहोर्याएका दोहोर्यायै छन्- सन्तोष पन्त राजा र रक्सी, मनोज गजुरेलको डिभोर्स, प्रदीप भट्टराईको बाइक आदि । यीबाहेक उनीहरूले यी तीनलाई व्यंग्य गर्ने अर्काे विषय भेटेका छैनन् । निर्देशक भएर पुरानो बाइक चढ्नु उपहास मात्रै हुनु अनि ‘सादा जीवन’को सन्देश कोही कसैले कहिल्यै नदिनु ?
अनि उनै निर्णायकले पनि जहिल्यै उस्तै कुरा बोलिरहेको देखिन्छ । प्रतियोगीले पस्केको कुरा के थियो, त्यसमा समीक्षा गरिदिनुको साटो, जे छैन त्यो किन भएन भन्छन् । यो त ‘यहाँ चाउमिन मात्र पाइन्छ’ भनेर बोर्डमा टाँसेको पसलेलेलाई किन मःम नबेचेको, अनि मःम मात्र पाइन्छ भनेर बोर्ड टाँसेको पसलेलाई चाउमिन किन नबेचेको भनेर गाली गरे जस्तो पो भयो । जे बेच्छु भनेको छ, जे खाइन्छ त्यसको पो कुरा गर्ने त । खान बाँकी, भन्न बाँकी कुरा त दुनियाँमा कति हुन्छन् हुन्छन् । हाम्रो समालोचना, समीक्षाचेत पनि उदेकलाग्दै छ ।
हर अभिव्यक्तिको अर्थका अभिधा, लक्षणा, व्यञ्जनाजस्ता तह हुन्छन् । लक्षणा र व्यञ्जनाको झनै बढी प्रयोग हुने कमेडीमा अब अपवादबोहक अभिधा मात्र बाँचेको छ । हाम्रा धेरैजसो कमेडियनहरू दर्शकको चेतनालाई कम आँक्छन्, दर्शक बुझ्दैनन् भन्छन् । यथार्थमा नबुझ्ने स्वयं कमेडियन नै हुन् ।
नयाँ पुस्ता आशलाग्दो भएर आएको पनि छ । तर, धेरैको सूचनाको स्रोत अहिले सोसल मिडिया, मिडिया मात्र भएको हुँदा त्यो छिपछिपे छ । भैरव अर्यालका पुस्तकहरू वा वात्स्यायनको कार्टुनका किताब वा महकै पुराना व्यंग्य अहिले लोप भएका छन् । अनि जातीय, लैंगिक, भाषिक, क्षेत्रीय, शारीरिक विभेद बढाउने, यस्तो सोच प्रवद्र्धन गर्ने कार्यक्रम कमेडी हैन, ट्रेजेडी हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया