सम्पादकीय
फोहोरलाई बनाऔँ मोहर
हरेक वर्षायाममा उपत्यकाको फोहोर व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ । विशेष गरेर वर्षात्ले पहिरो ल्याउने र सडक बिग्रने भएकाले उपत्यकावासी फोहोरको दुर्गन्धमा बस्न बाध्य छन् ।
त्यसमाथि नुवाकोटको सिसडोल पनि भरिँदैछ भने विकल्पको रुपमा अघि सारिएको नजिककै बञ्चरेडाँडाको काम पूरा भइसकेको छैन । पूरा भए पनि वर्षायाममा सडक बिग्रिरहने नियति छ । दुई साताभन्दा बढी समयदेखि उपत्यकावासी फोहोरको डुंगुर र दुर्गन्धित वातावरणमा बस्न बाध्य छन् । अब पानी पर्ने क्रम नरोकिएसम्म केही गर्न सकिँदैन भन्दै काठमाडौँ महानगरपालिकाले हात उठाइसकेको छ ।
उपत्यकाको जनसंख्या ६० लाखभन्दा बढी भएको अनुमान गरिन्छ । संघीय राजधानी काठमाडौंमै आधारभूत भौतिक सुविधाहरूको चरम अभाव छ । सडक खाल्डाखुल्टी परेका छन् । एउटा घरमा धारामा पानी आउन १० दिन लाग्छ । पानी नपर्दा सडक हिलाम्य हुन्छ । सार्वजनिक यातायात गतिलो छैन ।
यी कष्ट झेल्न विवश उपत्यकावासीलाई अब अर्को आपत् आइलागेको छ- फोहोर । झन् वर्षायाममा संक्रामक रोग फैलने उत्तिकै डर हुन्छ । स्वास्थ्यमा सजगता अपनाउनुपर्ने बेलामा जताततै फोहोरै फोहोर व्याप्त भएपछि यसको जनस्वास्थ्यमा कति असर पुर्याइरहेको होला ? सहजै अनुमान गर्न सकिन्छ । फोहोरमाथि झिंगा बस्ने र त्यसले फोहोरको संवाहन त गर्छ नै, त्यसमाथि बगेको पानी घर-घरमा पुग्छ, विभिन्न माध्यमबाट ।
उपत्यकामा बस्नेहरूको आनीबानीले पनि अनावश्यक फोहोर उत्पन्न गराइरहेको छ । अहिलेको करिब ७० प्रतिशत फोहोर घरमै व्यवस्थापन गर्न सकिन्छ । तुरुन्त नष्ट हुने खालका फोहोरलाई पनि सडकमा ल्याएर ओइर्याउने गरिन्छ । जबकि त्यस प्रकृतिका फोहोर घरमा कम्पोष्ट मल बनाई करेसाबारीमा उपयोग गर्न सकिन्छ । जसले कैसी खेती वा करेसामा लगाइने तरकारी तथा फलफूललाई पोषक पुग्न सक्छ । जैविक फोहोर बाहिर ननिकाली घरमै उपयोग गर्न घरधनीलाई समस्या हुँदैन । डेरावाल र घरधनीबीच उचित समन्वय भयो भने डेरामा बस्ने व्यक्तिहरूले उत्सर्जन गर्ने फोहोर पनि घरमै व्यवस्थापन गर्न सकिन्छ ।
व्यवस्थापन गर्न सके फोहोर फोहोर होइन, कच्चा पदार्थ हो । यसको उपयोगमा स्पष्ट राष्ट्रिय नीति बनाउन आवश्यक छ ।
कतिपय फोहोर कवाडीमा बिक्री हुने प्रकृतिका हुन्छन् । त्यसलाई पनि सडकमै ल्याउने गरिएको छ । हामीकहाँ होटल, रेष्टुरेन्ट र घरमा मिल्काइएका खाना बढी हुन्छन् । जसले फोहोरको परिमाणमा अनावश्यक वृद्धि गराएको छ । अस्पताल र स्वास्थ्य निकायबाट उत्सर्जन हुने फोहोरलाई मात्र उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । तसर्थ, सबै उपत्यकावासीमा आन्तरिक फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने जनचेतनाको खाँचो देखिएको छ ।
जान्नेलाई फोहोर होइन मोहेर हो । तर हामीकहाँ फोहोरलाई फेरि प्रयोग गर्ने (रिसाइकल) गरिंदैन । यस प्रकृतिका उद्योग पनि छैनन् । बियर र जाँडका सिसीधरि सडकमा मिल्काइनुले यो अवस्था उजागर गर्छ । अझ फोहोरबाट बिजुली पनि उत्पादन हुन्छ भन्ने महानगरपालिकालाई ‘ज्ञान’ नभएरै होला, उसले अहिलेसम्म यसबारे ‘सोच’सम्म बनाएको छैन । सिसडोल भरियो । बञ्चरे डाँडा पनि भरिन्छ । तर फोहोरको स्रोत नै कम बनाउनेतिर लाग्ने हो भने वातावरण जोगाउन मद्दत पुग्छ ।
यो फोहोर संघीय राजधानी काठमाडौंको मात्र सबाल होइन । यसको उचित व्यवथापन नहुँदा अर्ध शहरी प्रकृतिका ग्रामीण क्षेत्रमा पनि वातावरण प्रदूषणको प्रमुख कारणमध्येमा पर्न थालिसकेको छ । अन्य महानगरपालिका तथा उपमहानगरपालिकाहरू पनि दिनदिनै प्रदूषित बन्दै गइरहेका छन् । यी र यसप्रकारले व्यवस्थापन गर्न सके फोहोर फोहोर होइन, कच्चा पदार्थ हो । यसको उपयोगमा स्पष्ट राष्ट्रिय नीति बनाउन आवश्यक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया