सम्पादकीय
माधव नेपाल पनि उही ‘एमाले प्रवृत्ति’मै ?
धेरैलाई लागेको थियो, माधवकुमार नेपाल नवगठित नेकपा (एकीकृत समाजवादी)को ‘अध्यक्ष मात्र’ बन्नेछन् । उनकै अग्रसरता र नेतृत्वमा पार्टी बनेपछि अध्यक्ष अस्वभाविक होइन, जुन स्वभाविक राजनीतिक कर्म नै मानिन्थ्यो । त्यसमा कतैबाट वा कसैबाट प्रश्न उब्जिने सवाल पनि रहेन ।
अनि आइतबार संसदीय दलको पहिलो बैठकमै नेपाल स्वयं भन्दै थिए, ‘एमाले प्रवृत्ति दोहोरिँदैन ।’ त्यसरी ‘एमाले प्रवृत्ति’ नै नयाँ शब्द ‘क्वाइन’ गरेपछि झन् एकै व्यक्ति दुई जिम्मेवारीमा रहन्छन् भन्ने कल्पना गर्ने स्थिति पनि रहेन । नवगठित संसदीय दलको पहिलो बैठक सकिएपछि निर्णय आयो, ‘संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।’ अर्थात्, पार्टी अध्यक्ष र संसदीय दलका नेता एकै व्यक्ति भए, ‘एक व्यक्ति दुई जिम्मेवारी ।’ त्यतिमात्र होइन कि सरकारमा सामेल हुने मन्त्रीको सूची तय गर्ने ‘एकलौटी जिम्मेवारी’ पनि उनैलाई मिल्यो । सँगै विस्तारै नेपाल पनि ओली जत्तिकै ‘एकल-सर्वेसर्वा’ राजनीतिक यात्रामा हिँड्ने संकेत देखापर्यो नै ।
नेपाल, ‘एक व्यक्ति एक जिम्मेवारी’ को राम्रेसँग वकालत गर्नेमात्र होइन कि संस्थागत रुपमै उक्त पद्धतिको विकास गर्नुपर्छ भनी अडान राख्ने राजनीतिक व्यक्ति हुन् । उनले यो अवधारणा ‘नेकपा’ मा हुँदाका बखत दह्रै ढंगले उठाएका हुन् । जतिबेला ‘नेकपा’का अध्यक्ष, संसदीय दलका नेतासहित प्रधानमन्त्री केपी शर्मा ओली थिए । सर्वोच्च अदालतबाट ‘नेकपा’ अस्वीकृत भएपछि एमाले र माओवादी दुई बने । त्यसपछि एमालेतिरै जबर्जस्त रहेका नेपाल ‘एक व्यक्ति एक जिम्मेवारी’ कै वकालतमा थिए । तर, प्रधानमन्त्रीबाट बर्हिगमनसँगै ओली दुई पदको जिम्मेवारीमा रहे, पार्टी अध्यक्ष र संसदीय दलको नेता । त्यसमा नेपालले ओली समान अध्यक्षको माग अघि सारेका थिए, जुन माग पूरा नभएपछि नयाँ पार्टी खोल्न पुगेका हुन् ।
त्यसो हुँदा नेपालले आफू अध्यक्ष भएपछि कम्तीमा संसदीय दलको नेता अर्कै व्यक्तिलाई घोषित गराउने वातावरण निर्माण गरेको भए उनले विगतमा प्रस्तुत अवधारणाले ‘दृढ रुप’ पाउन सक्थ्यो । उनले त्यसरी पदीय रुपमा ‘उदारवादी रुप’ देखाएको भए अरु दलका निम्ति ‘उदाहरण’ बन्थ्यो ।
दुर्भाग्य भन्नै भन्नैपर्छ, पार्टी र सरकार दुवैमा कार्यकारी पदमा रहनेहरूको ‘अवकाश या राजनीतिक सन्यास नीति’ बन्न सकेन । एकै व्यक्ति, धेरैतिर, अनि निर्वाध रुपमा सधैँभरि भोग्नु परेको छ, मुलुकले । कुनै पनि राजनीतिक नेता ‘सन्यास’ लिएको घोषणा गर्दैनन्, जतिसुकै वृद्ध किन नहुन् ?
सँगै हरेक दलमा पार्टी अध्यक्ष र संसदीय दलका नेता फरक गर्नुपर्ने वातावरण बन्न सक्थ्यो । संसदीय दलको नेतासँगै नयाँ नेताको ‘ग्रुमिङ’ (विकास) हुन सक्थ्यो । हालकै प्रधानमन्त्री शेरबहादुर देउवा पनि २०५१ मा कांग्रेस संसदीय दलको बनेसँगै नेपाली कांग्रेसको शीर्ष नेतृत्व निम्ति ‘ग्रुमिङ’ हुन पाएका हुन् । जतिखेर देउवा कांग्रेसमा केन्द्रीय सदस्य मात्र थिए ।
त्यसअतिरिक्त राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अध्यक्ष र संसदीय दलका फरक-फरक बनाउँदै संसदीय अभ्यास गरिसकेकै हो । अरु पार्टीले यस्ता प्रयोग नगरेका होइनन् । उमेरको हिसाबले पनि सात दशक टेक्न लागेका नेपालले नयाँ पार्टीमा नयाँ व्यक्तिको उदय गराउन युवा पुस्ताबाट संसदीय दलको नेता चयन गरेको भए, उनले विगतमा वकालत गरेको राजनीतिक पद्धतिले सार्थकता पाउने थियो ।
हामी कहाँ राजनीतिक नेतृत्वमाथि ‘आर्यघाट नपुग्दा’सम्म ‘कुर्सी’ छाड्दैनन् भन्ने जुन अभियोग लागिरहेको थियो । अनि छ पनि । त्यसबाट केही हदसम्म ‘उदाहरण’ दिन काम लाग्थ्यो । दुर्भाग्य नै भन्नुपर्छ, ‘एक व्यक्ति एक जिम्मेवारी’को वकालतकर्ताबाट पनि त्यस्तो अभ्यास गरेको दृश्य देख्न र भोग्न पाइएन ।
उता एकीकृत समाजवादी संसदीय दलका नेता नेपालबाट बोलिएको ‘एमाले प्रवृत्ति दोहोरिन नदिने’ शब्दावली पनि विवादित बन्न पुगेको छ । किनभने ‘प्रवृत्ति’ शब्दले धेरैखाले सवाल बोक्ने गर्छ । नेपालको कथनअनुरुप ‘एमाले प्रवृत्ति’भित्र एकल हस्तक्षेप र फरक विचार उपेक्षा हुनु हो । तर, ‘एक व्यक्ति अनेक जिम्मेवारी’ को सन्दर्भचाहिँ आएन । अर्थात्, आफूले दुई जिम्मेवारी लिने अवस्थामा आएपछि त्यो शब्द प्रयोग नभएको हुन सक्छ ।
दुर्भाग्य भन्नै भन्नैपर्छ, पार्टी र सरकार दुवैमा कार्यकारी पदमा रहनेहरूको ‘अवकाश या राजनीतिक सन्यास नीति’ बन्न सकेन । एकै व्यक्ति, धेरैतिर, अनि निर्वाध रुपमा सधैँभरि भोग्नु परेको छ, मुलुकले । कुनै पनि राजनीतिक नेता ‘सन्यास’ लिएको घोषणा गर्दैनन्, जतिसुकै वृद्ध किन नहुन् ?
अझ उनीहरू कुर्सीमा रहिरहन अनेकन षड्यन्त्र गर्छन् । प्रतिस्पर्धामा आउन सक्ने सम्भावित पात्रहरूलाई अस्वस्थ तरिकाले भिडाउँछन् । अनि कुर्सीमा रहन अथाह धन संकलन गर्ने होडबाजीमा उत्रिन्छन् । तिनको तिनै दुस्कर्मका कारण मुलुकमा कुव्यवस्था र भ्रष्टाचारको रजाईँ चलेको हो । सँगै दलीय व्यवस्था चिराचिरा-छियाछिया बनेको छ । यो दृश्य त्यतिबेलासम्म कायम रहन्छ, जबसम्म एकै व्यक्ति अनेक जिम्मेवारीमा र त्यो पनि सधैँभरि आसिन रहन्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया