सम्पादकीय
विवेकशील-साझा किन उम्रिँदै तीन पाते भइदियो ?
दल विभाजनको रोग-लहरबाट अन्ततः विवेकशील साझा दल पनि प्रभावित मात्र होइन कि छिन्नभिन्न हुने स्थितिमै पुगेको छ । अर्थात्, उनीहरू यतिखेर ‘शीतयुद्ध’मा छन् । हालैको राजनीतिक दलसम्बन्धी अध्यादेशले त दलहरूलाई फुट्न सजिलो तुल्याएको छ नै ।
केही समयअघि पार्टी अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन ः विचारभन्दा माथि देश’को अवधारणा आयो । उक्त दस्तावेज पार्टीभित्र संस्थागत शैलीमा छलफल नगराई एकाएक सार्वजनिक भएपछि असन्तुष्टिको मात्रा बढेको हो । मिश्र स्वयंले निजी विचारका घोषित दस्तावेज पार्टीको मान्यताभन्दा पृथक् भएपछि तरंग ल्याउनु अस्वाभाविक होइन । किनभने पार्टी अध्यक्षको विचार निजीभन्दा पनि संस्थागत रूपमै लिने चलन छ ।
सँगै पार्टीका संयोजक मिलन पाण्डेसहितको समूहले मिश्रलाई अवधारणामा चुनौती दिँदै ‘वैकल्पिक राजनीतिको मूल-बाटो’को मोटो दस्तावेज ल्याए । दस्तावेज हेर्ने हो भने मिश्र र पाण्डे दुवैको बाटो नै नितान्त अलग थियो नै, जहाँ सैद्धान्तिक दर्शनका हिसाबले तालमेल हुन सक्ने सम्भावना कम थियो र छ । दुवैका फरक बाटोमा हिँड्ने शैलीको दस्तावेज हेर्दा यी दुई दल सँगै रहन सक्ने सम्भावना कम थियो नै ।
एकपछि अर्को दस्तावेजसँगै उनीहरूबीच जारी शीतयुद्धबीच भर्खरै मिश्रले पाण्डे समूहलाई जानकारी नदिइकन पार्टी बैठक डाकेसँगै किचलो बढेको छ, त्यो किचलोले पार्टी सग्लो रहने सम्भावना पनि न्यून हुँदै गएको छ । अब ‘वैकल्पिक राजनीति’बाट मूलधारमा स्थापित हुने सपना बोकेका युवाहरू फेरि निराश र खिन्न हुँदैछन् ।
मिश्रले संघीयता खारेज, धर्म निरपेक्षताबारे जनमत संग्रह, गणतन्त्रमाथि प्रश्न उब्जाएपछि अर्काे पक्षले ‘बेमौसमे बाजा’को संज्ञा दिँदै झन् ठूलो दस्तावेज ल्याए । विवेकशील पक्षधरहरू गणतन्त्र सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा, सुधारसहितको संघीयता हुँदै संविधानसभा निर्मित संविधानकै पक्षमा उभिएका छन् । सँगै ‘मार्ग परिवर्तन’ र ‘मूल बाटो’बीच आधारभूत राजनीतिक दर्शनमै आमूल फरक देखियो ।
उनीहरूबीच विभाजन भएमा ‘वैकल्पिक राजनीतिक धार’ फेरि धरापमा पर्ने निश्चित छ । मुलुकका स्थापित ठूला दलहरू नेतृत्व वृत्तमात्र होइन कि चारैतिर पाका-वृद्ध पुस्ताले भरिँदै गएसँगै युवाहरूको आकर्षण बनेको थियो, विवेकशील दल ।
राजनीतिक दलमा लोकतान्त्रिक प्रतिस्पर्धाको अभावले पुरानै पात्रहरू निरन्तर हाबी छन्, हरेक दलमा । ती दलमा ठाउँ नपाएपछि वा नदिने रणनीति बुझेपछि भड्किएका या भौँतारिएका युवाहरूलाई विवेकशीलले आकर्षित गर्दै थियो । तिनै युवा जोस-जाँगर, उत्साहले भरिएका युवाहरूको वर्चश्वमा दल खुलेपछि स्वाभाविक रूपमा आकर्षण खिच्ने नै भयो, खिच्यो पनि ।
नयाँ दल, नयाँ जोसमा शासकीय वृत्तका भ्रष्टाचार, आर्थिक अनियमितता, बेथिति लगायतका तमाम विषयमा सिर्जनात्मक विरोधका स्वर-शैलीले छिट्टै जनमानसमा भिज्न पुगेका थिए ।
विवेकशीलको लक्ष्य लोकतान्त्रिक व्यवस्था र संविधानका आधारभूत मान्यतामा चुनौती दिने होइन कि व्यवस्थालाई सुदुढ र सुशासनयुक्त बनाउने भन्ने थियो । उनीहरू त्यसैका निम्ति खटेका थिए । खासगरी त्यहाँ उदार-लोकतन्त्र, खुलापनमा विश्वास गर्नेहरू पनि हाबी थिए । उनीहरूको चाहना गणतन्त्रकै सुदृढीकरण थियो न कि गणतन्त्रको भविष्यमाथि प्रश्न उठाउने नियत त उनीहरूले कहिल्यै देखाएका थिएनन् ।
साझा दलतिर केही पाका पात्रहरूले पञ्चायती दमनकारी शासन देखेकै थिए, हुन सक्छ, केहीले दमन भोगेका पनि थिए होलान् । अर्थात्, तिनले पञ्चायत देखेका, भोगेका पात्रहरू थिए । अर्थात् पाको उमेर टेकेका र टेक्ने तर्खरका पात्रहरू बढी थिए ।
हुन पनि दलमा पञ्चायती दिनमा जेलनेल नखाएका, शारीरिक यातना नभोगेकाहरूको बाहुल्य थियो । अर्थात्, उनीहरू बहुदलपछिका उत्पादन थिए । अनि तिनमा ‘अतिवादी दक्षिणपन्थी’ सोच भएन, त्यता मोडिने तिनको लक्ष्य र योजना देखिएको थिएन । अर्थात्, तिनीहरूको ‘नवउदारवादी’ दृष्टिकोणसँगै युवा वर्गलाई तान्न सफल भएका थिए ।
उता साझा दलतिर केही पाका पात्रहरूले पञ्चायती दमनकारी शासन देखेकै थिए, हुन सक्छ, केहीले दमन भोगेका पनि थिए होलान् । अर्थात्, तिनले पञ्चायत देखेका, भोगेका पात्रहरू थिए । अर्थात् पाको उमेर टेकेका र टेक्ने तर्खरका पात्रहरू बढी थिए ।
खासमा विवेकशील र साझाबीच ‘वर्ग-चरित्र, वैचारिक चरित्र’ मिलेकै थिएन । तिनीहरू वर्ग-चरित्र भन्दा पनि चुनावी परिदृश्यलाई अर्जुनदृष्टि लगाउँदै अलि चाँडै ‘लाभ’ योजनाअनुरूप एकीकृत भएका हुन् । वर्गीय चरित्र-दृष्टिकोण फरक भएपछि सानै दल भए पनि गुटीय प्रथाले प्रश्रय पाउँछ । साझा-विवेकशीलमा पनि भएको त्यही हो ।
दुई वर्षसम्म वैकल्पिक राजनीतिको बहस चलाउँदै विवेकशील २०७१ मा राजनीतिक दलकै उदाएको थियो । तीन वर्षपछि नयाँ दलको रूपमा साझा पार्टी देखापरेको हो । दुवैले २०७४ वैशाखमा स्थानीय चुनाव एक्ला-एक्लै लडे । तिनीहरूले चुनाव जित्न नसके पनि दुवैले माहौल राम्रै देखाए ।
चुनावका बेला चाहिँ तिनका नारा-विचार लगभग उस्तै-उस्तै हो कि भन्ने ठानिएपछि एकीकृत हुँदा राम्रै ‘लाभ’ लिन चाहे । उनीहरू एकीकृत हुँदै साझा-विवेकशील दलका रूपमा राजनीतिक वृत्तमा देखापरे । सँगै चुनावी माहौल सिर्जना गर्दै जनमत आफ्नो पक्षमा ल्याउने योजनामा गए । एकीकृत भएसँगै संसदीय चुनावका बेला काठमाडौँ र आसपासमा भेगमा उनीहरूको पक्षमा माहौल नदेखिएको होइन । तर, उनीहरूको एकीकृत यात्रा लामो रहेन, फेरि विभाजनमा गए । तर, विभाजनले राम्रो लहर आउन नसक्ने देखेपछि फेरि एकीकृत भएका थिए ।
तर उनीहरू विचारका हिसाबले ‘उत्तर-दक्षिण’का रहेछन् भन्ने चाहिँ भर्खरैको दस्तावेजले दर्शायो । अनि उनीहरूबीच यसअघिका एकता र विभाजनबाटै धेरैलाई लागेकै थियो, यिनीहरू पनि त्यही ड्याङ्का मुला हुन् ।
अर्थात्, कांग्रेस, कम्युनिस्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसवादी दलको फुटले वाक्क थिए । नयाँ पार्टी झन् युवा बहुल साझा-विवेकशीलमा उही हबिगत देखेपछि तिनीहरूमाथि पनि विश्वास टुट्नु अस्वाभाविक होइन । जे भए पनि दल फुट्नु लोकतन्त्रका निम्ति हितकर होइन । तर, समग्र दोष व्यवस्थामाथि थुपारेर लोकतन्त्रविरुद्धकै हाउगुजीलाई मन्त्र बनाउनु न त वैकल्पिक सोच हो, न त विवेकशील कदम, न त साझा सवाल ।
लोकतन्त्रविरुद्ध उभिने, संविधानविरुद्ध उभिने, लोकतान्त्रिक मान्यताविरुद्ध उभिनेलाई कारबाही गर्न सक्ने गरी पार्टीमा माहोल बन्नुपर्ने हो, तर त्यसो नभई बेग्लिने अवस्था आउनु पनि स्वाभाविक नै छ । किनभने, अहिलेको यो विभाजन अरु परम्परागत पार्टी विभाजनको उद्देश्यभन्दा फरक भने छ, यसमा विचारको आधारभूत तत्व नै फरक देखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया