सम्पादकीय
कांग्रेसको ‘कुम्भ-मेला’ले नेतृत्वमा जुझारू पुस्ता छानोस्
सधैँभरि किचलो हेर्नुपर्छ, अनि गुनासा सुन्नुपर्छ ‘नेपाली कांग्रेसमा बुढा पुस्ताले छाडेनन् ।’ हो, गुट दरिलो पारेर हुन्छ कि ‘सेटिङ’ मिलाउँदै तिनै पुरानै पुस्ता हाबी हुन्छन्, अधिवेशन-महाधिवेशनका बेला पनि । अनि सधैँभरि गुनासाका पोका बोक्ने- पोख्ने जुझारू युवाहरू चाहिँ अधिवेशन-महाधिवेशनका बेला तिनै बुढाहरूको छत्रछाँया खोज्न पुग्छन्, आफ्नो पनि पदीय सुरक्षाका लागि । अनि महाधिवेशन सकिएपछि फेरि त्यही रडाकोयुक्त बोलीले बजार तताउन खोज्छन्, बुढाहरूले नै खाए । कांग्रेसमा यो ‘रीत’ निरन्तर छ ।
साँच्चै कांग्रेसमा सक्रिय-जुझारू युवा पुस्ताले संस्थागत रूपमा हाबी हुन चाहेको हो भने आजदेखि मौका मिलेको छ, वडादेखि केन्द्रसम्म नै युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्ने । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आजदेखि विधिवत् सुरुवात भएको छ-गाउँ/नगर वडा अधिवेशनमार्फत् । भदौ १८ देखि सुरु भएर मंसिर ९ देखि १३ गतेसम्म कांग्रेसको केन्द्रीय महाधिवेशन तय भएको छ ।
नेतृत्व चयन निम्ति संघीय विधानअनुसार सात तहमा नेतृत्व छनौट हुनेछ । नयाँ विधानअनुसार यो पहिलो महाधिवेशन हो । साढे आठ लाखभन्दा क्रियाशील सदस्य रहेको नेपाली कांग्रेसमा वडाबाट छानिएर आउने क्षेत्रीय प्रतिनिधिले नै गाउँ/नगर, जिल्ला, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, सात प्रदेश र केन्द्रीय समिति सबैतिर मतदान गर्ने/मतदान गर्ने प्रतिनिधि छान्नेछन् ।
विधानअनुसार महाधिवेशन गर्नुपर्ने समय डेढ वर्ष कटाएर मुलुकको सबैभन्दा पुरानो, लोकतान्त्रिक पार्टीको महाधिवेशन हुँदैछ भन्ने बित्तिकै कांग्रेस कसरी चलिरहेको भन्ने प्रष्ट हुन्छ । वडा अधिवेशन सुरु गर्ने चरणमा पुगिसक्दा पनि हालसम्म ५६ जिल्लाको मात्र क्रियाशील सदस्यको अन्तिम सूची सार्वजनिक भएको छ ।
अधिवेशन-महाधिवेशनका बेला अनेकन वाचा गरिन्छन्, पार्टीलाई संस्थागत, अनि संगठन सुदृढ तुल्याउँछु र लोकतान्त्रिक विधिअनुरूप पार्टीलाई चलाउँछु भन्ने भाषण सुन्नुपर्छ । तर, दुर्भाग्य नै भन्नुपर्छ विधानअनुरूप केन्द्रीय तहमै पार्टीका विभागहरूलाई कार्यकालभरि पूर्णता नदिएको दृश्य सबैले देखेकै छन्, भोगेकै छन् ।
कम्तीमा ती विभागले पूर्णता पाएको भए, थुप्रै पाका र युवा पुस्ताका नेताले काम पाउँथे । अनि ‘ग्रुमिङ’ पनि हुन्थे, नेतृत्वको विकास हुन्थ्यो । तर पार्टी विभाग मात्र होइन, भ्रातृ संगठनहरू भद्रगोल राख्नु, क्रियाशील सदस्यता वितरणमा समेत आफ्ना मान्छे खोजी गरी अकन्टक नेतृत्व कब्जा गर्ने मानसिकताले नेतृत्व ग्रस्त हुँदा कांग्रेस जीवन्त देखिन नसकेको हो ।
हरेक पार्टीभित्र शुद्धीकरण गर्ने भनेको अधिवेशन-महाधिवेशनको समयमा नै हो । जब पार्टीहरूले आन्तरिक प्रतिस्पर्धाबाट सही नेतालाई चुन्छन्, तब मात्र देशले असल र भरोसायोग्य नेतृत्व पाउँछ ।
सांगठनिक सुदृढीकरण र पार्टीको गतिशीलताका लागि संगठनमा योगदान गर्नेहरूलाई पन्छाउँदै नेतृत्व निकटका चाकडीदार तथा चाप्लुसीबाज अनि दलाल र विचौलिया वृत्तिसँग पार्टी नेतृत्वको सम्मोहित देखिन्छ । पार्टी प्रवेशका नाममा इमान्दार नेता र कार्यकर्तालाई पाखा लगाउँदै ‘चैते’हरूलाई अस्वाभाविक ठाउँ दिइन्छ ।
अझ कुन तहको नेता र तिनका कार्यकर्तालाई कसरी समायोजन गर्ने भन्ने स्पष्ट मापदण्ड छैन । पार्टी प्रवेश गराएको नाममा क्रियाशील सदस्यता बाँडेर हुन्छ कि पार्टीमा लामो समयदेखि योगदान गरेका कार्यकर्तालाई पन्छाउने जस्तो अस्वस्थ खेलमा नेतृत्व वृत्त लागेकै छ । कसैगरी पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नै हुँदैन भन्ने गलत सोचको सिकार भएको छ- कांग्रेसको नेतृत्व । त्यसैकारणले पनि युवा पुस्ताको चुनौतिपूर्ण हस्तक्षेप यो अधिवेशन- महाधिवेशनमा हुनुपर्छ ।
ढिलै भएपनि १४औँ महाधिवेशन सुरु भएको छ । यसले कांग्रेसको नीतिअनुसारको नेतृत्व छानोस् । विचार र सिद्धान्तप्रति प्रतिवद्ध अनि निष्ठावान् नेतृत्व निर्माण गर्न सबैभन्दा पहिले त कार्यकर्ताको भूमिका हुन्छ । कार्यकर्ताले सही व्यक्तिलाई जिताएर पार्टीभित्र कार्यकर्ताको अभिमतअनुसार चल्ने र कांग्रेसलाई न्याय गर्न सक्ने र जीवन्तता दिन सक्ने नेतृत्व चयन गर्नुपर्छ ।
नेतृत्वमा जुझारु, विचारशील, तर्कशील, सिर्जनाात्मक नेताहरू पुर्याउने मौका पनि यही हो । यदि यो मौकाको उपयोग नगर्ने हो भने महाधिवेशन सकिएपछि ‘बुढा-युवा पुस्ता’ भन्ने किचलो झिक्नुको कुनै तूक हुन्न । त्यो किचलो भनेको केवल झुलबाहिर लामखुट्टे कराए जस्तै हुन्छ । नेतृत्व वृत्तलाई झुलबाहिर कराउने लामखुट्टेले टोक्ने होइन, तिनका निम्ति केवल ‘भुनभुन’ मात्र हो ।
त्यसकारण अधिवेशन-महाधिवेशनसँगै यतिखेर ह्वात्तै झुल खुलेको छ । अनि संस्थागत रूपमै नेतृत्वलाई चुनौति दिने अवसर पनि आएको छ, वडादेखि केन्द्रसम्मै । लोकतन्त्रमा प्रतिस्पर्धाबाटै खराब नेतृत्वलाई किनारा लगाउने हो भने हारेपछि अनुचित दबाब वा भागबण्डा खोज्ने होइन । त्यसकारण जे-जे निर्णय लिनुछ या विचार पोख्नुछ भने अधिवेशन-महाधिवेशनकै मौका प्रयोग गरौँ ।
हरेक पार्टीभित्र शुद्धीकरण गर्ने भनेको अधिवेशन-महाधिवेशनको समयमा नै हो । जब पार्टीहरूले आन्तरिक प्रतिस्पर्धाबाट सही नेतालाई चुन्छन्, तब मात्र देशले असल र भरोसायोग्य नेतृत्व पाउँछ । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको सुरु हुँदै गरेको ‘कुम्भ’ले यसको सुरुवात गरोस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया