विवाह-बन्धन र सम्बन्ध विच्छेद
मानव विकासको इतिहासमा विवाह संस्थाको आविष्कार धेरै पछि मात्र भएको हो । जनावर जसरी बिताउने जंगली जीवनमा यौन अधिकारको भरपुर स्वतन्त्रता थियो । विकासका क्रममा बिस्तारै विवाह एउटा संस्कार बन्यो । बोलीचालीमा हामी कसैलाई ‘विवाह–बन्धनमा बाँधिएकामा बधाइ’ भन्छौँ । के बधाइमै हामीले विवाहलाई बन्धनका रूपमा लिएका हुन्छौँ त ? मनोवैज्ञानिकहरू भन्छन्-भाषामा समाज–सोचको प्रतिविम्ब हुन्छ ।
विवाहलाई जीवनको नयाँ सुरुवात मानिन्छ । तर, अहिले त्यही सुरुवात अदालतमा पुगेर तब अन्त्य हुन्छ, जब सम्बन्ध सकस बन्न थाल्छ । दम्पतीको रोजाइमा स्वतन्त्रता पर्न थाल्छ । पछिल्लो समय वैवाहिक सम्बन्ध कानुनी रूपमा अन्त्य गर्ने परिपाटी बढ्दो छ । आपसी असमझदारीपछि दम्पतीको रोजाइमा सम्झौताभन्दा बढी सम्बन्ध विच्छेद पर्न थालेको छ ।
सतही रूपमा हेर्दा श्रीमान्–श्रीमतीबीचको बेमेल र असमझदारी नै सम्बन्ध विच्छेदको कारण हो । तर, गहिरिएर हेर्दा यससँगै जोडिएर आउँछ- पितृसत्तात्मक सोच, घरेलु हिंसा, कलह, आशंका, अविश्वास, वैदेशिक रोजगारी, परिवारको दबाब आदि । हाम्रो समाजमा एकातिर पितृसत्तात्मक सोच सोचेजस्तो कम भएको छैन भने अर्कोतिर महिलामा कानुनी साक्षरता, चेतना, आत्मविश्वास बढिरहेको छ । पछिल्लो समय महिलाहरू शिक्षित र सचेत मात्रै हुँदै गइरहेका छैनन्, उनीहरू आफ्नै खुट्टामा उभिन सक्ने पनि भएका छन् । योग्यता, आम्दानी र आत्मविश्वास बोकेका उनीहरू आफ्ना आमा–सासू–दिदी पुस्ताले जसरी अन्याय र अत्याचार सहँदैनन् । पितृसत्तात्मक सोच पुरुषमा मात्र हुने सोच होइन, यो पुरुषबाहेकको यौनिकतामा पनि लादिएको हुन्छ । जेहोस् विविध कारणले विवाह स्थायी जागिर होइन, वर्षेनि रिन्यु हुने करारको जागिर जस्तो बनेको छ ।
बेडरुमसम्म सधैँको हिंसा, पीडा, तनाव र झैँ–झगडाभन्दा स्वतन्त्रताका लागि सम्बन्ध विच्छेद विकल्प बनेर दम्पतीका अगाडि आउँछ । पहिला ‘डिभोर्सी’ भन्दा समाजमा अलि लज्जाको विषय हुने, पारिवारिक–कुलघरानाको बेइज्जत हुने त्रास पनि थियो तर अहिले विच्छेदका बढ्दो समाचारले दम्पतीलाई यो निर्णयमा पुग्न सामाजिक दबाब पनि कम हुन थालेको छ । विच्छेदको परिणामबाट तर्सिने अवस्था घट्दो छ । वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय दम्पतीले अरु विकल्प नदेखेपछि नै गर्छन् ।
विवाह त्यति बेला ‘वाह’ हुन्छ जब त्यहाँ बन्धनको अनुभूति हुँदैन । विवाह सम्बन्धमा कोही मालिक, कोही दास जस्तो होइन, शब्दमाझैँ यथार्थमा सहयात्री हुन जरुरी छ । जबसम्म हैकमवादी परम्परावादी सोच–व्यवहारमा परिवर्तन आउँदैन, तबसम्म विवाह–बन्धनबाट जोडीहरू मुक्त भइरहन्छन् ।
मानिस विभिन्न कारणले जसरी व्यक्तिकेन्द्रित हुँदै छ, उसरी नै पारिवारिक तानाबानालाई पनि यदाकदा बोझका रूपमा लिन थालिएको छ । बाहिरबाट हेर्दा उदार र समझदार देखिने व्यक्तिका भित्री पाटो अदालतको उजुरीसम्म नदेखिए पनि उनीहरूको अनुदार स्वभाव असफल सम्बन्धमा देखिन्छ । सम्बन्ध विच्छेद नितान्त व्यक्तिगत रोजाइ हो ।
तर, हाम्रो जस्तो समाजमा सम्बन्ध विच्छेदको सम्बन्ध दम्पतीभित्र मात्रै सीमित हुँदैन । दम्पतीबाट सन्तान–परिवार–नातेदार हुँदै समाजलाई समेत यो चासोको विषय बन्छ । स्वतन्त्रताका लागि कसैले रोजेको सम्बन्ध विच्छेदको निर्णयमाथि समाजको नकारात्मक टीकाटिप्पणी सुरु हुन्छ । उनीहरूप्रति हेर्ने दृष्टिकोण फरक हुन्छ, विशेषगरी महिलाको हकमा । उनको कमीकमजोरी केलाउन थालिन्छ । विभिन्न आक्षेप लगाउन थालिन्छ । घरभँडुवादेखि दयाको पात्रका रूपमा उभ्याइन्छ । यसले उनीहरूमाथि शारीरिक, मानसिक र मनोवैज्ञानिक समस्या थपिदिन्छ । स्वतन्त्र जीवन रोजेकी महिलामाथि चुनौतीको पहाड तेर्सिन्छ । सामाजिक मूल्य र मान्यताको पाठ सिकाउन थालिन्छ । तर, पुरुषको हकमा उनीहरू ससम्मान बाँच्न पाउँछन् । दोस्रो बिहेका लागि पुरुषहरूलाई त्यही समाजबाट स्वीकृति मिल्छ, प्रोत्साहन मिल्छ । सम्बन्ध विच्छेदपछि महिलाले दोस्रो जीवन सुरु गरेका उदाहरण कम छन् । यसबाट पनि महिला विवाह संस्थासँग खुसी नभएको बुझिन्छ । महिलाले दोस्रो विवाह गरे भने यसैका लागि सम्बन्ध विच्छेद गरेकी रहेछ भनेर आरोप लगाइन्छ जब कि पुरुषले दोस्रो जीवन सुरु गर्दा यो कुरा उठ्दैन ।
सम्बन्ध विच्छेदको असर दम्पतीहरूका सन्ततिमा पनि उत्तिकै पर्छ । एकल अभिभावकसँग हुर्किनुपर्दा बालबालिकामाथि मनोवैज्ञानिक असर पर्छ । आमाबाबु दुबैबाट पाउनुपर्ने माया, साथ र सहयोगबाट वञ्चित हुँदा उनीहरूमाथि भावनात्मक चोट पुग्छ । तर, कतिपय बालबालिकाको हकमा भने आमाबुबाको सम्बन्ध विच्छेदको प्रभाव राम्रो पनि हुन्छ । परिवारमा दैनिक हुने झैँ–झगडाबाट उनीहरूले शान्तिको महसुस पनि गर्छन् । तर, समग्रमा बाललिकाकामा सम्बन्ध विच्छेदको प्रभाव राम्रो हुँदैन । मिल्नुपर्छ, झगडा गर्नुहुँदैन भन्ने पाठ घोक्ने बच्चाहरू घरमा आमाबा मिल्न नसकेको देख्दा अवश्य पनि दुःखी हुन्छन् नै ।
कुनै पनि सम्बन्धबाट अलग्गिनु, टुक्रिनु, बिछोडिनु सुखद हुँदैन भने दाम्पत्य सम्बन्धबाट बेग्लिनु पनि सुखद अनुभव पक्कै होइन । तर, सम्बन्धमा समभाव, सम्मान, विश्वासको खडेरी हुँदा यो बाध्यात्मक कदम बनेको छ ।
डिभोर्सीलाई आलोचना गर्नु, सम्बन्ध विच्छेदलाई लिएर धेरै चिन्तित हुनुका साटो यसको कारणका जरामा छिरेर चिन्तन गर्नु आवश्यक छ । नेपालीहरू अहिले देशका सीमाभन्दा बाहिर प्रशस्तै छन्, स्वतन्त्र मान्छेहरू देख्दा उनीहरूलाई पनि स्वभावैले आफ्नो स्वतन्त्रता प्यारो हुन थाल्छ ।
विवाह त्यति बेला ‘वाह’ हुन्छ जब त्यहाँ बन्धनको अनुभूति हुँदैन । विवाह सम्बन्धमा कोही मालिक, कोही दास जस्तो होइन, शब्दमाझैँ यथार्थमा सहयात्री हुन जरुरी छ । जबसम्म हैकमवादी परम्परावादी सोच–व्यवहारमा परिवर्तन आउँदैन, तबसम्म विवाह–बन्धनबाट जोडीहरू मुक्त भइरहन्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया