सम्पादकीय
सोचको शल्यक्रिया
हामी सोच्छौँ किनभने हामी मान्छे हौँ । हामी मान्छे हौँ किनभने हामी सोच्छौँ । तर खास कुरा के हो भने, हामी सोच्छौँ भन्ने कुरा सुनाउँछौँ । सोच्ने शक्ति हामीसित छ भनेर हामी प्रचार गर्छौँ । जसले प्रचार गर्दैनन् वा प्रचार गर्न चाहँदैनन् वा आफ्ना सोचाइ साझा गर्न सक्दैनन्, ती सबै नसोच्ने वाला पक्कै होइनन् ।
उसो भए हामी किन सोच्छौँ ? यतातिर नसोचौँ । के विषयमा सोच्छौँ ? हाम्रा सोच केबाट प्रेरित हुन्छन् ? हामी सोच्छौँ भन्नेबारे कति सोच्छौँ ? हाम्रा सोचाइ कति स्थायी, कति अस्थायी हुन्छन् ? हामी नचाहिने विषयमा बढी र चाहिने विषयमा कम सोचिरहेका त छैनौँ ?
मान्छेका सोच उसको परिवारदेखि उसको पर्यावरणसम्मबाट निर्देशित हुन्छन् । अक्सर उसको सोच इन्द्रियहरूको वशमा हुन्छ । हामी जुन देश, जुन जात, जुन धर्म, जुन लिंग, जुन वर्ग, जुन क्षेत्र, जुन वर्ण, जुन पेसा, जुन शिक्षा, जुन उमेर अर्थात् जुन सामाजिक-राजनीतिक संरचनामा रहन्छौँ, हाम्रा सोच त्यस्तै त्यस्तै हुन्छन् । हामी कोही पनि जन्मजात जन्मजातीय हुँदैनाँै । हामी जन्मजात पात पनि हुँदैनौँ । उम्रिँदै-हुर्किंदै जाँदा मात्र पात पलाउँछौँ ।
हामी बाँचेको समाज र समयले हाम्रो सोचको स्टेरिङ अँठ्याएको हुन्छ । हामी साइकल हौँ भने समाज र समय हाम्रो साइकलका दुई चक्का । सोचले समाज बनाउने भन्दा पनि समाजले सोच बढी बनाउँछ । तर, यसो भन्दैमा हामी समाज-समय निरपेक्ष सोच बोक्नै नसक्ने होइन । तर समग्रमा व्यवहार (समाज) ले जति सजिलै सोच बदलिदिन्छ, सोचले त्यति सजिलै व्यवहार बदलिदिन भने सक्दैन ।
एकछिनलाई हामी आफू अभिएको लोकसेन साटेर अर्कै लोकसेनमा उभिऔँ त- हाम्रो चस्मा अर्कै हुन्छ । चस्मा अर्कै हुँदा हाम्रा यावत् सोच अर्कै हुन्छन् । तर, हामी अक्सर हाम्रा सापेक्षित सोच-विचारलाई सार्वकालिक, सार्वजनिन, सर्वव्यापी, सर्वग्राही भन्ठान्छौँ । एकछिनलाई मानौँ, तपाईं केटा हुनुहुन्छ भने केटी अथवा अर्कै यौनिकता सोच्नुस्, तपाईंको सोच अर्कै हुन्छ । धनी हुनुहुन्छ ? आफूलाई गरिब भएर सोच्नुस्, तपाईंको दुनियाँ यहीँ अर्कै हुन्छ ।
बाहुन-क्षत्री-ठकुरी हुनुहुन्छ ? सँगै स्कुल पढेको कुनै दलित सहपाठी भएर सोच्नुस्, तपाईंको सोच यहीँ ठाउँका ठाउँ अर्कै हुन्छ । त्यसो भए हामी आफ्ना सोचलाई किन महान्, किन निरपेक्ष, किन स्थायी, किन अपरिवर्तनीय, किन असंशोधनीय ठान्छौँ ? टाढा जानै पर्दैन, आफ्नै परिवारका पाँच वर्षदेखि पचासी वर्षसम्मका सदस्यको ठाउँमा आफूलाई पालैपालो राखिहेरौँ त, आफ्नै घर-परिवार पनि औतारी देखिन्छ ।
हाम्रा आँखा अगाडि छन् । हामी अघिल्तिर मात्र हेर्छौँ । हामी वरिपरि हेर्दैनौँ । हामी पछाडि छुटेका कुरा हेर्दैनौँ ।
हामीलाई आफ्नै समस्या ठूलो लाग्छ । हामीलाई आफ्नै बुझाइ अन्तिम लाग्छ । यस्तो किन लाग्छ भने हाम्रा आँखा अगाडि छन् । हामी अघिल्तिर मात्र हेर्छौँ । हामी वरिपरि हेर्दैनौँ । हामी पछाडि छुटेका कुरा हेर्दैनौँ । हामी जे आफूसँग छैन, त्यही मात्र हेर्छौँ । हामी दाँजिन्छौँ । हामी दाँजिँदा आफूभन्दा ठूलासित मात्र दाँजियौँ भने दुःखी हुन्छौँ । सानासित पनि दाँजियौँ भने हामी समभावी हुन्छौँ, संवेदनशील हुन्छौँ, समतामयी र ममतामयी हुन्छौँ ।
हाम्रा सोच निर्देशित गर्न अहिलेको युगमा मिडिया-सोसल मिडिया मुख्य भएर आएका छन् । यिनैका आधारमा हामी धारणा बनाउँछौँ तर यिनका पनि सीमितता छन् भन्ने धेरै बुझ्दैनौँ । हामी यिनैका आधारमा नजाने गाउँको बाटोबारे बढी सोचिबस्छौँ । आफू वरिपरिका समस्या हामी प्रधान भन्ठान्दैनौँ । मिडियामा आएका गसिपले हाम्रो दिल-दिमाग खाइदिन्छ, हामी आफ्ना गाउँ-ठाउँका गुनासा र गौरव देख्दैनौँ । हामी भाइरल गीत-संगीतमा रम्छौँ, आफू वरिपरिका संगीतको भव्यता बुझ्दैनौँ । हामी पैसा कमाएकै आधारमा कसैलाई महान् र पैसा नकमाएकै आधारमा कोही सोझो मेहनती गरिबलाई अपमान गर्छौँ ।
हामी काबुलको चिन्ता गर्छौँ, गर्नु पनि पर्छ तर महिनौँसम्म काठमाडौँको फोहोर देखिरहेका हुँदैनौँ । हामी एमसीसीका विषयमा चियापसलमा चार घण्टा बहस गर्छौँ, गर्नु पनि पर्छ तर पिइरहेको चियाका चिनी उद्योगी किसान र गाईपालक किसान ठगिएको विषयमा बेखबर हुन्छौँ । हामी सोसल मिडियामा छाएका ननइस्यु पनि इस्यु बनाउँछौँ, मिडियामा छैन भने गाउँ-ठाउँको मुख्य सरोकार पनि हामी इस्यु हुनसक्छ, यस्तो भन्ठान्दैनौँ ।
प्रियंकाको गर्भबारे लामै आलोचना-बहस गर्छौँ तर सुत्केरी हुन नसकी वर्षेनि मर्ने सयौँ आमाबारे केही सोच्दैनौँ । हामी अमेरिकामा मारिएका काला जातिबारे जति सहानुभूतिशील हुन्छाँै, आफूअघि मारिएका दलित युवाबारे केही सोच्दैनौँ ।
हामी जेमा पनि पतरपतर बोल्ने भनेर केपी शर्मा ओलीको आलोचना यसरी गर्छौँ कि हामी साथीभाइबीच वा परिवारमा अरुलाई त बोल्न नै दिन्नौँ । हामी हाम्रा सोचमा कुनै सीमितता छैन, यस्तै भन्ठान्छौँ । हामी हाम्रा सोच भ्रमपूर्ण पनि छन् कि ? हामी हाम्रा सोच अमानवीय पनि छन् कि ? हामी हाम्रा सोच विभेदकारी पनि छन् कि ? हामी हाम्रा सोच छिपछिपे पनि छन् कि ? हामी हाम्रा सोच वाहियात पनि छन् कि ? हामी हाम्रा सोचको ल्याबटेस्ट गर्नेबारे सोच्दैनौँ ।
हामीलाई आफ्नै जातका, पार्टीका, धर्मका, लिंगका, उमेरका, स्थानका सोचलाई मात्र सोच देख्छौँ ? हामीलाई यही प्यारो छ, यही मात्र सोच प्रगतिशील छ । हामी आफूले मात्र आलोचनात्मक सोच राख्छौँ पो भन्ठान्छौँ कि ? हामी विनाशलाई विकास, हामी निरंकुशतालाई अनुशासन, हामी स्वतन्त्रतालाई छाडापन, हामी शिक्षा-स्वास्थ्यको व्यापारलाई समाजवाद, हामी असामान्य विभेदलाई सामान्य विविधता, हामी भ्रष्ट नेतालाई भाग्यविधाता देउता देख्ने सोचमा पो छौँ कि ?
हामी लामो समयदेखि शासन गरिरहेको कुनै जात, कुनै थर, कुनै धर्म, कुनै लिंग, कुनै क्षेत्र, कुनै कुल, कुनै पेसालाई मात्र महान् देखिरहेछौँ भने लाज नमानी हामी हाम्रो सोचको सद्गत गरौँ । सेवकहरू शासक हुँदै शोषक भइसक्दा पनि हामी स्वाभाविक ठानिरहेछौँ भने हाम्रो सोच बिरामी छ ।
बाँचेको समय र समाजका गुजुल्टातिर सकभर झण्डा र झुण्ड निरपेक्ष रही सोच बनाऔँ । तर्क, वितर्क, कुतर्क जसरी पनि आफ्ना कुुरा माथि पार्नैपर्ने, मनले हो भने पनि मुखले खण्डन गर्नैपर्ने गरी हामी जिन्दगीभर वादविवाद प्रतियोगी नै बनिरहने ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया