सम्पादकीय
एकै ड्याङका हुन् कांग्रेस, कम्युनिस्ट !
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ को आमनिर्वाचनमा दिएको अभिव्यक्ति निकै चर्चित बन्यो- ‘कम्युनिस्ट सरकार आयो भने त रुन पनि पाइँदैन ।’ तत्कालीन निर्वाचनमा दुई ठूला कम्युनिस्ट घटकहरू एक हुँदै चुनावमा गएका थिए, निर्वाचन हारिन्छ भन्ने जान्दाजान्दै पनि चुनाव गराउनुपर्ने बाध्यतामा थिए देउवा ।
कम्युनिस्ट पार्टीले समृद्धि, स्थायित्व, विकास, लगानी सुरक्षा, विधिको शासन र संस्था निर्माणका नारा दिएका थिए । मतदाताले पत्याउँदै झण्डै दुई तिहाइ नजिकको बहुमत दिए । शासकीय कुर्सीमा पुगेपछि ठ्याक्कै विपरीत रुपमा प्रस्तुत भए । अनगन्ती घटना हाम्रासामु छँदै छन्, जुन हाम्रो स्मृतिबाट टाढा पुगिसकेको छैन । फलतः उनीहरूकै पार्टीमा भाँडभैलो भएर बीच बाटोमै सरकार पतन भयो ।
उता कम्युनिस्ट बाहुल्य सत्ताले जनताको अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकारलाई सम्मान गर्ने कुरै भएन । देउवाले निर्वाचनका क्रममा जे शंका गरेका थिए, नागरिक स्वतन्त्रता कुण्ठित गर्ने सवालमा करिब-करिब उनीहरू त्यसको नजिक पुगे । आलोचना र फरक मतलाई विरोध मान्ने उनीहरूले कानुनी तवरबाटै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली स्वयं र ‘साइबर सेना’मार्फत तथ्यपरक ढंगले फरक विचार राख्नेमाथि गाली-गलौजका भाकामा आक्रमण र चरित्रहत्याका श्रृंखला जारी राखे । अरुलाई गाली-गलौजको भाका प्रयोग गरिरहँदा ओलीकै चरित्र उदांगो हुन पुग्यो । धेरैले उनीमाथि अभियोग लगाए, ‘ओली जे पनि बोल्छन् ।’ हुन पनि ओलीका बोली सामाजिक सञ्जालमार्फत ‘भाइरल’ भएकै हुन्, आज पनि हेरे हुन्छ ।
त्यहीकारण ओली सत्ताबाट बाहिरिँदा धेरैले राहतको सास फेरेको घटना दुई महिना मात्र पुरानो हो । आधुनिक समाज र नयाँ पुस्तालाई, ‘अरिङ्गाल’, साइबर सेना’ बनाएको मन परेन, तिनैमा प्रयोग हुने पात्रहरूलाई बाहेक । हो, राजनीतिमा सैद्धान्तिक वाद-विवाद हुन्छ । सैद्धान्तिक बहस, वाद-विवादबाटै राम्रो बाटो तय हुने हो । तर गाली-गलौजका भाका-भाषाबाट होइन । राजनीतिमा सिद्धान्त, आदर्श, नैतिकताच्युत बेइमान पात्रहरू मात्र गाली-गलौजका भाका प्रयोग गर्छन् ।
सभ्य समाज निर्माणका निम्ति निम्न-कोटिका गाली-गलौजका दृश्य नदोहोरिऊन् भन्ने चाहना र इच्छा थियो । अनि तत्कालीन समयमा प्रतिपक्षमा रहेका नेपाली कांग्रेसले अरिङ्गाल र साइबर सेनामार्फत भएका ‘वैयक्तिक स्वतन्त्रता’माथिको हस्तक्षेपविरुद्ध आलोचना मात्र होइन कि खुलेर विरोध गर्यो । त्यसो हुँदा कांगे्रेस सत्तारूढ भएसँगै पञ्चायतकालीन ‘मण्डले प्रवृत्ति’ र ओलीकालीन ‘साइबर प्रवृत्ति’ दोहोरिँदैन भन्ने अपेक्षा थियो ।
गृहमन्त्रालयबाट जारी भएको अभिव्यक्ति स्वतन्त्रता विरोधी विज्ञप्ति र ‘साइबर सेना’ गठनले कांग्रेसमा सत्ताको तुजुक चढेको अनुमान गर्न गाह्रो छैन ।
तर, मंगलबार सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले आफ्ना विरोधीहरूको प्रतिवादका लागि भन्दै ‘एनसी विन’ नामको ‘वार रूम’ गठन गरेको समाचारले फेरि झस्काएको छ । अन्ततः सत्तारूढ कांग्रेस पनि ओलीपथमै ? सँगै यो पनि निष्कर्षमा पुग्नुपर्ने देखिएको छ कि शासक/सत्तारूढ दलको नियत अथवा उद्देश्य उस्तै हुने रहेछ, सिंहदरबारको कुर्सीमा पुगेपछि । अनि नागरिकले चाहिँ उही नियति देख्नुपर्ने र भोग्नुपर्ने रहेछ ।
खालि बोलीचालीमा ‘अरिङ्गाल’, ‘साइबर सेना’ शब्द सजिलो थियो, ‘एनसी-विन’ अलि अप्ठ्यारो नाम ‘क्वाइन’ भएछ । फरक यत्ति हो । आखिर नाम जेसुकै दिए पनि मूलतः यो पूववर्ती प्रधानमन्त्री ओलीले देखाएको ‘साइबर सेना’ पथमै हिँड्ने उद्घोष हो । यसमा कसैले द्विविधा नराखे हुन्छ ।
अनि त्यही नेपाली कांग्रेस हो, जसले लोकतन्त्र, विचार र अभिव्यक्तिको स्वतन्त्रता, मानव अधिकार, विधिको शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिकाका निम्ति लडेको, त्यसैलाई मूल सिद्धान्तका रूपमा बुझेको मानिन्थ्यो ।
सबै खाले विचारको सम्मान गर्ने, फरक मतलाई सुन्ने र त्यस्ता फरक विचारलाई संरक्षण दिनु लोकतान्त्रिक दलको धर्म थियो । विचार र सिद्धान्तका हिसाबले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूमा फरक छ भन्ने ठानिन्थ्यो । तर, नेतृत्व वृत्तमा हाबी पात्रहरूमा ‘सत्ता मात्रै’ हाबी भएपछि ती सिद्धान्त पोलिसकेका छन् ।
सरकार गठन भएको ५७ दिन बितिसक्दा मन्त्रिपरिषद्लाई पूर्णतासमेत दिन नसकेको, प्रधानमन्त्रीको सल्लाहकार टिमसमेत निर्माण गर्न नसकेको कांग्रेसले ‘एनसी-विन’ गठन गरेर के सन्देश दिन खोजेको हो ? गत साता गृहमन्त्रालयबाट जारी भएको अभिव्यक्ति स्वतन्त्रता विरोधी विज्ञप्ति र ‘साइबर सेना’ गठनले कांग्रेसमा सत्ताको तुजुक चढेको अनुमान गर्न गाह्रो छैन ।
अब यसले कांग्रेस र कम्युनिस्ट एकै ड्याङमा हुर्केका मूलाजस्ता भए, एक समान । उनीहरूमा तात्विक भिन्नता छैन । काम गरेर जनताको विश्वास जित्ने आँट छैन, कार्यकर्तालाई रचनात्मक बनाउनु छैन । अब फरक मत र विरोधी मत सफाया गर्ने साइबर सेना उत्पादन गर्नुछ । यिनीहरू सबै सस्तो प्रचारका भोका भएका छन् । कोही ‘आइ लभ यू केपी ओली’ त कोही ‘मलाई शेरबहादुर देउवा मनपर्छ...’ भनाउँछन् । यिनीहरूको चरित्र, चिन्तन, वर्गगत प्रवृत्ति समान छ ।
अधिनायकवादी चिन्तन, आत्मप्रचार, सत्ताको दोहन, राजनीतिको दलालीकरण र अपराधीकरणमा दलहरू अभ्यस्त छन् । लोकतन्त्रको आवरणमा लोकतन्त्रलाई खोक्रो बनाउँदैछन् । अनि सार्वजनिक सम्पत्ति र संस्थाहरूको क्षयीकरण मात्रै यिनको ‘लक्ष्य’ बनेको छ । सामाजिक न्याय र विधिको शासन त केवल देखावटी मात्र हो ।
राजनीतिको अपराधीकरण र भ्रष्टीकरण गर्ने दलरूपी दोहनकारी संस्थालाई सर्वाङ्ग नाङ्गो चित्रमा हेर्न रुचाउने दलका समर्थक, अरौटे र भरौटे बन्ने, नेताको तलुवा चाट्ने कार्यकर्तारूपी समाजका धमिराहरूबारे प्रत्येक नेपालीले सोचौँ, कुशासनको जग हाल्नेहरू को-को हुन् ? हेर्नुस् त, कसैकोे सानो लोभ र स्वार्थले सर्वसाधारणमाथि कति अन्याय भएको छ ? अनि देश कति बर्बाद भएको छ ? अनि लोकतन्त्रमा पनि तपाईं-हामी कसको स्वार्थका रक्षाका लागि ‘अरिङ्गाल’, ‘साइबर सेना’ अनि ‘विन’ बन्दा सभ्य समाज कतातिर मोडिन्छ ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया