सम्पादकीय
सेनामा नयाँ नेतृत्व : अपेक्षा र समीक्षा
राजनीतिक अस्थिरता र चरम दलीय-शासकीय स्वार्थी नेतृत्वसँगै भू-राजनीतिक चक्रव्यूहमा मुलुक पर्ने त्रासदी छाएको छ । सँगै अस्थिरतामा फाइदा लुट्न खोज्ने तत्वहरू पनि अनेक आवरणमा छन् नै । तिनीहरू मुलुकमा भद्रगोल सिर्जना गरी लाभ लिन खोज्दैछन्, तिनका निम्ति दलीय नेतृत्व वृत्तको अराजक क्रियाकलाप खेल्ने मैदान मिलेको छ ।
साना विषय अर्थात् ‘तिललाई पहाड’ बनाउने खेलभित्र देशी-विदेशी सक्रिय छन् । अनि दुई छिमेकीले प्रतिस्पर्धाको चेपुवामा पार्ने र आफू अनुकूल हिँडाउन प्रयत्नरत छन् नै । तर, राजनीतिक नेतृत्व चक्रव्यूह तोड्नेभन्दा पनि दरिलो पार्दै आफ्नै दुनो सोझ्याउन मात्र व्यस्त छन् । अर्थात्, तिनीहरू पनि आफ्नो अनुकूल वातावरण बनाइराख्ने दाउपेचमै छन् ।
यिनै अन्यौल, अलमल र द्विविधाबीच मुलुकको स्थिर र सबैभन्दा ठूलो सैनिक संगठनमा नयाँ प्रधानसेनापतिले ‘कमान्ड’ गर्दैछन् । हिजो प्रभुराम शर्मा नेपालको ४४ औँ प्रधानसेनापति बनेका छन् । सैन्य वृत्तमा फरक समुदायबाट पहिलो पटक प्रधानसेनापति बनेका शर्माले संगठनलाई कसरी हिँडाउँछन् भन्ने चासोपूर्वक हेरिएको छ । नयाँ नेतृत्वले सरकारसँग नेतृत्वको तालमेल कस्तो हुन्छ, त्यसले पनि कूटनीतिक गतिविधिलाई स्पष्ट पार्छ । नेपालको कूटनीतिक असहजका बेला ‘बौराउने काम’ नेपाली सेनाले नै गर्दै आएको छ ।
उनले झण्डै एक लाखको संख्यामा रहेका नेपाली सेनाको नेतृत्व गर्दै अन्य सुरक्षा निकायको मुख्य समन्वयकर्ताको भूमिका पनि निर्वाह गर्नेछन् । विश्वकै पुरानो र एसियाको सबैभन्दा पुरानोमध्येको नेपाली सेनाको आफ्नै गौरवगाथा छ । पुरानो युद्धमात्र होइन, विश्व शान्तिमा भूमिका निर्वाह गर्ने विश्वको दोस्रो सेनाका रूपमा नेपाली सेना दरिएको छ ।
तर २०८१ भदौ २३ सम्म सेनाको कमान्ड गर्ने शर्माका निम्ति यात्रा पनि सहज छैन । पूर्ववर्ती सेनापति पूर्णचन्द्र थापाले पाएको वाहवाही कायम राख्दै त्यो भन्दा महत्वपूर्ण कार्य गर्नपर्ने हुन्छ । थापाका कार्यकालमा भएका कतिपय निर्णयलाई कार्यान्वयनमा लैजानुपर्ने चुनौती उनीमाझ छ । थापा कार्यकालका कतिपय निर्णय र विषयमा उनको असहमतिको संकेत गरेको संगठनभित्र चर्चा चलिरहँदा पूर्ववर्ती निर्णयमा शर्माको भूमिका कस्तो होला र कसरी अघि बढ्ला भन्ने कौतूहल छ ।
यद्यपि उनी थापापछि वरियतामै रहेर काम गरेका व्यक्ति हुन् । थापाले गरेका काममा चित्त नबुझे त्यसलाई फरक ढंगले सम्बोधन गर्ने र आफ्नो फरक निर्णय गर्ने अवसर पनि शर्मालाई छ । यद्यपि शर्माले आफ्ना पूर्ववर्तीले अघि बढाएका संगठन सुधारका कार्यलाई निरन्तरता दिइने बताइसकेका छन् ।
शालीन र भद्र मात्र नभई संगठनमा ‘एक्सन म्यान’ले चिनिएका शर्माले सामूहिक नेतृत्वलाई जोड दिने, सैनिकलाई आधुनिकीकरण गर्दै लैजाने, प्रशिक्षित गर्ने जस्ता काममा लाग्ने बताएका छन् । उनले पनि भ्रष्टाचार अनियमितताका पाटामा छूट नदिने र पारदर्शितामै जोड दिने प्रतिबद्धता जनाएका छन् । थापाले एकै प्रधानमन्त्रीसँग लामो समय काम गर्न पाए, शेरबहादुर देउवा त अवकाशका दिन नजिँकिदै गर्दा आइपुगेका हुन् ।
उनको संलग्नतामा अघि बढेको नयाँ सैनिक संरचना ‘थ्री प्लस वान’ कार्यान्वयनका साथै भावी नेतृत्व, बलाध्यक्ष र बलाधिकृतको चयन, आफ्नो सचिवालयमा राखिने व्यक्ति लगातयको भूमिकाले पनि उनलाई सहजीकरण गरेको हुन्छ । नेपालकै सबैभन्दा बलियो र स्थिर संस्था मानिने सैनिक संगठनलाई नयाँ संरचना र अन्तर्राष्ट्रिय ढाँचामा रूपान्तरण गर्ने योजना आलोचनाबीच अघि बढाउनु शर्मालाई चुनौतीपूर्ण छ । तर यो योजना अघि बढिसक्यो, पछि हट्न सक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय ढाँचामा रूपान्तरण हुँदै त्यसलाई फरक ढंगले अघि बढाउन सके शर्मालाई सेनाको इतिहासकै कुशल नेतृत्वकर्तामध्येको एकका रूपमा दर्ज गराउनेछ ।
अनि सैनिक अदालतभित्रको काम र अदालतसँग बाझिने कार्यलाई स्पष्ट पार्नुपर्ने अवस्था छ । मिति सच्याउने, नक्कली सर्टिफिकेटदेखि हुक गरी ‘माथि’ पुग्ने बाटो पहिल्याउने हकमा शर्माको पालामा पनि स्पष्ट हुनु आवश्यक देखिन्छ ।
खरिद प्रक्रियामा पारदर्शिताको विषय सधैँ उठ्ने हुनाले सेनाभित्र नभई यसलाई सरकारसमक्ष लैजानुपर्ने पाटो स्पष्ट हुन जरुरी छ । द्रुत-मार्गको उनकै कार्यकाल सकिनुपर्ने अवस्था छ । यो सबै कार्यमा उनले सन्तुलन मिलाएर अघि बढ्न सक्नुपर्नेछ ।
सुरक्षा र प्रतिरक्षा नीति/रणनीतिसँगै सैन्य अभ्यास, कूटनीतिक सम्बन्ध, राष्ट्रिय सुरक्षामा सही सल्लाह र सुझावलगायतका काम प्रधानसेनापतिले गर्ने हुनाले त्यसमा ध्यान दिएर प्रधानसेनापति अघि बढेमा विकसित भू-राजनीतिक परिवेशमा नेपाली सेना खरो उत्रन सक्नेछ । कोभिड-१९ ले बिथोलेका कार्य अघि बढाउनुपर्ने, सैन्य अभ्यास लगायतका विषयमा सन्तुलन मिलाउने कार्यसूची उनीसामु छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया