सम्पादकीय
देशको भाग्य र नेताहरूको कर्म
आजको सम्पादकीयको आरम्भ र अन्त्य युवालाई सम्बोधनबाट गरिन्छ ।
युवा साथीहरू ! तपाईं नेपालमा वा नेपाली भएर जन्मिनुमा तपाईंको आफ्नो रोजाइ त पक्कै होइन तर यहीँ जन्मिसकेपछि बिस्तारै यही नै रोजाइ जस्तो बन्छ । आफू जुन देशमा उभिइन्छ, त्यो देशको हिजो कस्तो थियो ? आज कस्तो छ ? भोलि कस्तो बनाउने ? देशका समस्या के–के हुन् ? समाजको बनोट कस्तो छ ? यस्ता विषयमा सामान्य चासो हामीले राख्नैपर्छ ।
युवाहरू भविष्यका कर्णधार मात्र हैनन्, वर्तमानका साझेदार पनि हुन्, त्यसैले साझेदारहरू साझा समस्या र समाधानतिर घोत्लिनुपर्छ ।
युवाहरू ! तपाईं हामीले अक्सर सुन्दै आएका र भन्दै पनि आएका कुरा यस्तै यस्तै हुन्— नेताहरूले देश बर्बादै पारे । नेताहरूले देश लुटे । नेताहरू भ्रष्ट भए । नेताहरू लोभी–पापी भए । राजनीति फोहोरी खेल मात्र भयो । नेपाल अब कहिल्यै बन्दैन । यो देश छिटोभन्दा छिटो छाड्नु जाती छ ।
हामी बिहानदेखि रातिसम्म, चिया पसलदेखि मदिरा पसलसम्म, रिक्सापार्कदेखि रत्नपार्कसम्म यस्तै यस्तै सुन्छौँ–बोल्छौँ । पैदल यात्रादेखि पठाओ–यात्रासम्म, ट्वीटरदेखि टिकटकसम्म, फेसबुकदेखि फैसलालयसम्म, आँखा खुल्दादेखि आँखा चिम्लिँदासम्म, घरदेखि घाटसम्मका हर भेटघाटमा हामी देशको भाग्य र नेताहरूको कर्मबारे चिन्तित हुन्छौँ ।
चिन्ता स्वाभाविक छ किनभने वास्तवमा देशको अवस्था पनि चिन्ताजनक नै छ । तर, अब यस्तो चिन्तालाई चिन्तनमा ढालेर सही विचार, आदर्श र कर्म बोकेर युवा आफैँ एकबद्ध हुन जरुरी छ । राजनीति बिग्रियो, नेता बिग्रिए मात्र भनेर अब पार पाइन्न । देश र राजनीति किन बिग्रियो त ? कसरी सुध्रिन्छ ? यतातिर ध्यान दिनैपर्छ ।
हामी आफू वा परिवारका कोही बिरामी परे रोइकराई मात्र त गर्दैनौँ । तत्काल उपचारतिर लाग्छौँ । अनि भविष्यमा त्यस्ता रोग लाग्न नदिन के–के सावधानी अपनाउनुपर्छ, त्यतातिर पनि लाग्छौँ । ठीक त्यसरी नै देश बिरामी छ । बिरामी देशको उपचार गर्नुपर्छ, न कि रोइकराई मात्र । उपचार सँगसँगै बिरामी हुने कारणको जरो पहिचान गर्नुपर्छ । अनि भविष्यमा निरोगी रहन–राख्न सावधानी अपनाउनुपर्छ ।
युवाहरू ! आफ्नो शक्ति चिन्नुहोस्, शोकबाट मुक्त हुनुहोस् । लोभी र स्वार्थी पार्टी/नेतालाई सत्तामा चढाइरहनु भनेको देशलाई चितामा चढाउनु बराबर हो ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । यस्तो व्यवस्थामा नागरिक शक्तिमान हुन्छन् । प्रत्येक नागरिकले आफ्नो शक्ति बुझ्न जरुरी हुन्छ । हामी आफ्नो शक्ति भुलेर बिरामी, लोभी वा स्वार्थी भइदिँदा देशको ज्वरो सञ्चो हुनुभन्दा अझै बढ्छ ।
युवा मित्रहरू ! आफ्नो असल साथी चिन्ने आपत्मा हो भनेझैँ असल शासक चिन्ने पनि आपत्मै हो । देशलाई, नागरिकलाई दुःख परेका बेला उसले आफ्नो कुर्सी र कलम कतातिर मात्र घुमायो ? उसका निर्णयले हुनेखानेलाई फाइदा भयो कि हुँदाखानेलाई ? यस्ता विषयमा प्रश्न उठाउनुपर्छ युवाले । प्रश्नविहीन त मान्छे नै हुन सक्दैन भने झन् युवा त प्रश्नविहीन हुनै हुन्न ।
एक एक मिलेर लाख बन्ने हो । देशका समस्यालाई लिएर सय युवा मात्र एकजुट भई संगठित भएर आवाज उठाउने हो भने त्यसको संगति–संगीत नै बग्लै बन्न जान्छ ।
आफ्नो गाउँमा भ्युटावर माग्नुभन्दा पुस्तकालय मागौँ । शिक्षा–स्वास्थ्यमा बजेट बढाउन भनौँ । हरेक आयोजनाको हर–हिसाब मागौँ । हिसाब माग्ने अधिकार सबैलाई बराबर छ । समाजमा सामुदायिक–सामाजिक विभेद कस्तो छ, बुझौँ र सशक्त प्रतिकार गरौँ । (सशस्त्र हैन, सशक्त)
विधिमा नटेकी काम गर्ने शासक–प्रशासकहरूलाई पाइलै टेक्न लाज लाग्ने गरी प्रश्न गरौँ । आफूले आस्था राख्ने दल, त्यसको नेताले जतिसुकै खराब गरे पनि राम्रो देख्न छोडौँ । तलबभत्ता खाने तर काम समयमा नगर्नेहरूलाई घेराबन्दी गरेर प्रश्न गरौँ ।
नागरिकको करबाट चल्ने व्यक्ति र संस्थाका हर क्रियाकलापमा आँखा लगाऔँ, औँला तेस्र्याऔँ । जवाफ दिन इन्कार गर्ने शासकलाई जवाफदेहिताको कक्षा अनिवार्य गरौँ । युवाहरू ! तपाईं हाम्रो करबाट तलब खाने कोही जागिरेले कुनै दलको सदस्य लिएको छ भने जागिरबाट राजीनामा मागौँ । कर खाएर दलको, गुटको, नेता विशेषको चाकडी गर्नेलाई स्पष्ट भनौँ—अब हामी तिमीलाई पाल्दैनौँ ।
सत्तामा हुँदा सिन्को पनि नभाँच्ने, सत्ताबाहिर हुँदा चाहिँ ठूल्ठूला कुरा गर्ने नेतालाई ऐना देखाऔँ । ५०/६० वर्षदेखि राजनीतिलाई पेवा बनाएका, पटकपटक मन्त्री, प्रधानमन्त्री भएका स्खलित नेताहरूलाई बाईबाई भनौँ । हरेक ठाउँमा भागबण्डा हैन, लोकसेवा आयोगमार्फत निष्पक्ष नियुक्ति गर भनौँ ।
युवाहरू ! आफ्नो शक्ति चिन्नुहोस्, शोकबाट मुक्त हुनुहोस् । लोभी र स्वार्थी पार्टी/नेतालाई सत्तामा चढाइरहनु भनेको देशलाई चितामा चढाउनु बराबर हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया