सम्पादकीय
‘प्यान्डोरा पेपर्स’माथि अनुसन्धान जरूरी
कर उन्मुक्ति दिने मुलुकहरूमा शेल (कागजी) कम्पनी खडा गरी अफशोर लगानीमा संलग्न १६ जना नेपालीको सम्बन्धमा ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आइसीआइजे)’सँगको सहकार्यमा खोज पत्रकारिता केन्द्रले खोजमूलक रिपोर्ट सार्वजनिक गरेको छ । विगतमा पनि पनामा पेपर्स लिक, प्याराडाइज पेपर्स, फिनसेल फाइल्समार्फत् यस्ता विवरण सार्वजनिक भएका थिए । नेपालको हकमा त्यसको परिस्कृत संस्करण खोज पत्रकारिता केन्द्रमार्फत् सार्वजनिक भएको छ ।
मूलतः व्यापारिक पृष्ठभूमिका व्यक्तिहरू यसमा लाञ्छित गरिएका छन् । राजनीतिक भ्रष्टाचार, कर छली, आयातमा अधिक विजकीकरण, फिरौतीलगायत पारदर्शी रूपमा देखाउन नमिल्ने धन विभिन्न माध्यमबाट विदेशमा पुर्याइएकोमा खोज पत्रकारहरूको यो अनुसन्धान केन्द्रित छ ।
यसरी सार्वजनिक भएका विवरणले राज्यलाई थप खोज, अनुसन्धान र तहकिकातका लागि मद्दत गर्छ, तर इच्छाशक्ति भएको खण्डमा । विगतमा यस्ता सूचना सार्वजनिक हुँदा पनि खोज्न सरकारले तदारूकता देखाएको थिएन । ‘प्यान्डोरा पेपर्स’ ले राज्यको ढुकुटीमा पुग्नुपर्ने कर, नेपालमा भित्रनुपर्ने रेमिट्यान्स, आयातको अधिक विजकीकरणमार्फत् रकम विदेश पुर्याउने व्यापारीको चक्करका कारण देशभित्र उपभोक्ताले चुकाउनुपर्ने मूल्यका सम्बन्धमा अनुसन्धान हुनुपर्छ ।
अर्कोतर्फ जे जति व्यक्तिहरू यसमा मुछिएका छन्, तिनले पनि अनुसन्धानलाई सघाउनुपर्छ । विगतमा खोज पत्रकारिता केन्द्रले गरेको अनुसन्धानमा गलत सूचनाका कारण पीडित हुनुपरेको भनेर केही व्यापारीले सत्यतथ्य अनुसन्धान गरिदिन सरकारलाई आग्रह पनि गरेका थिए ।
नेपालजस्तो सानो अर्थतन्त्रमा किसानले प्राप्त गर्नुपर्ने लाभ समेत चुसेर कसैले पैसा विदेश पुर्याउँछ भने त्यो दण्डनीय हो । यसरी लगिएको पैसा फेरि नेपाल फर्काउन चाहनेको चासो र स्वार्थलाई सम्बोधन गर्दै बजेटमा नै ‘पूर्वाधारमा गरिएको लगानीको स्रोत नखोज्ने’ व्यवस्थाका रूपमा आउँछ ।
ट्याक्स हेभन मुलुकहरूमा नाम मात्रका बोक्रे कम्पनी खडा गरी शेयर खरिद-बिक्री, कारोबार र गोप्य तरिकाले लगानी गरी अवैध धनलाई वैध तुल्याउने प्रयत्नलाई उल्टै सरकारले सघाएको देखिन्छ । अफशोर खातामा रकम जम्मा गर्ने र शेल कम्पनीमार्फत कारोबार गर्नुको मुख्य उद्देश्य अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेल भएको आइसीआइजेको टिप्पणी छ ।
त्यस्तो अन्तर्राष्ट्रिय अवैध कर्मको जालोमा नेपालका कारोबारीको नाम पर्नु भनेको मुलुक खोक्रिनु हो । वर्षेनि त्यस्तो संख्या बढ्दै छ । राज्यको ढुकुटीमा पुग्नुपर्ने धन छलिँदै बाहिरिएपछि मुलुकलाई खोक्रो बनाउनेछ ।
अन्तर्राष्ट्रिय जालोभित्र रमाउन पुगेका अवैध कारोबारीको घाँटी अठ्याउन नसक्ने हो मुलुकले अझ दुर्गति खेप्नुपर्नेछ । अनेकन खुलासाभित्र नेपाली व्यापारीको नाम पर्नु र तिनीहरूमाथि सामान्य निगरानीसमेत बढाइएन भने वर्षेनि यसरी नाम आउँदै हराउँदै जानेछ । त्यही नियतिको मार यसपालि पनि खेप्नु नपरोस् ।
नेपालको कुनै सम्बन्ध नभएको पनामा, ब्रिटिश भर्जिन आइल्यान्ड, साइप्रस, सेसल्स जस्ता साना मुलुकको नाम नेपाली जनजिब्रोसम्म आइरहेका छन् । नेपालको खासै कूटनीतिक सम्बन्ध नभएको र कारोबारसमेत नभएका मुलुक ब्रिटिश भर्जिन आइल्यान्डमा कम्पनी खोल्दै कारोबार गर्नेहरू बाक्लिनु भनेको गरीब मुलुकको धन पलायन हुनु हो ।
अझ केही वर्षअघि अवैध कारोबारीलाई सहयोग गर्ने पनामा भन्ने मुलुकको ‘मोस्याक फोन्सेका’ कम्पनी नेपालमा बहसमा आइपुग्यो । जसमा नेपाली कारोबारी व्यापारी जोडिन पुगे । सँगै धेरैलाई लागेको थियो, तिनीहरूको ‘सम्पत्ति’माथि छानबिन हुनेछ ।
तर, तिनीहरूमाथि हाम्रा राज्य संयन्त्रले सामान्य छानबिनको ‘औपचारिकता’ पूरा नगरेको तितो पृष्ठभूमि हाम्रा सामु छन् । बरु त्यस्ता तथ्यांक तोडमोड मात्र भएनन् कि कारोबारीले शासन-संयन्त्रसँग घाँटी जोडिरहेको दृश्य झन्-झन् बढ्यो ।
यसरी नै स्वीस लिक्स, पनामा लिक्स आउँदा बेलाबखत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रियता प्रदर्शन खोजेको देखाँउछ । उसले बैंकिङ अपचलन, हुण्डी र कर छलीमा संलग्न शंकास्पद व्यापारीमाथि अनुसन्धान बढाएको सूचना चुहाउने गर्छ । तर, उसले निस्कर्षसम्म पुगेर कारबाही गरेको चाहिँ भेट्याउन सकिँदैन ।
अब पनि शंकास्पद कारोबारी-व्यवसायी र कम्पनीको कारोबारमा निगरानी नबढाउने मुलुक आर्थिक रुपले खोक्रो मात्रै होइन कि अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धुमिल हुनेछ । त्यतिमात्र होइन, विश्वभर अवैध सम्पत्ति शुद्धीकरण गर्नेहरूविरुद्ध अनुसन्धान गर्न गठित फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ‘कालो सूची’मा राख्न सक्छ ।
हामीसँग अवैध र अनुचित धनमाथि निगरानी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभााग जस्ता कानुनी रुपमा शत्तिशाली निकाय छन् । तर तिनीहरू ‘साना माछा’ समाउँदै रोमाञ्चित हुन्छन्, ‘ठूला माछा’तिर खास पन्जाको फन्दा पुर्याउन सकिरहेको पाइँदैन ।
अन्तर्राष्ट्रिय जालोभित्र रमाउन पुगेका अवैध कारोबारीको घाँटी अठ्याउन नसक्ने हो मुलुकले अझ दुर्गति खेप्नुपर्नेछ । अनेकन खुलासाभित्र नेपाली व्यापारीको नाम पर्नु र तिनीहरूमाथि सामान्य निगरानीसमेत बढाइएन भने वर्षेनि यसरी नाम आउँदै हराउँदै जानेछ । त्यही नियतिको मार यसपालि पनि खेप्नु नपरोस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया