प्रकाशकीय–सम्पादकीय
संविधान र संसद्वादको पक्षमा लड्नमै बितेको एक वर्ष
कोभिड–१९ महामारीको सन्त्रासबीच शुभारम्भ भएको ‘इकागज डटकम’को पत्रकारिता–यात्रा एक वर्ष पूरा भएको छ । एक वर्षे अनुभवसहित आजबाट ‘इकागज डटकम’ दोस्रो वर्षमा प्रवेश गरेको छ ।
एक वर्षअघि यात्रा सुरु गर्दा हामीले वाचा गरेको थियौँ–हाम्रो उद्देश्य र लक्ष्य भनेको लोकतन्त्र, संविधान–संसद्वाद, सुशासन, सामाजिक न्यायलाई प्राथमिकता दिनु हो । हामीले एक वर्षसम्म अविचलित ढंगले यी वाचा पूरा गर्ने प्रयत्न गरिरह्यौँ । अनि हाम्रा समाचार, विचार, विश्लेषण, टिप्पणी र सम्पादकीय यिनै विषयको वरिपरि केन्द्रित रहे । यो क्रममा हामीले समाचार मात्र होइन कि सन्तुलित विचारलाई पनि प्राथमिकता दियौँ । अबका वर्षमा पनि ‘इकागज डटकम’ को यात्रा यही ‘लिक’मा अगाडि बढ्नेछ ।
कोभिड–१९को कहरसँगै प्रिन्ट संस्करण साँघुरिँदै गयो भने अनलाइन खोल्ने लहर चल्यो । त्यही लहरबीच हामी पनि इ–पत्रकारितामा प्रवेश गरेका थियौँ । इकागजमा संलग्न हामी धेरैजसो ‘प्रिन्ट मिडिया’का अनुभवी सञ्चारकर्मीहरूका निम्ति एक वर्ष ‘इ–पत्रकारिता’ सिकाइकै रूपमा रह्यो । हाम्रो माध्यम मात्र परिवर्तन भएको छैन कि बद्लिँदो परिवेशअनुरुप विषयबस्तु पनि परिवर्तन भएका छन् । यसको लय समाउन हामीले थप मेहनत गर्नुपर्ने महसुस गरेका छौँ ।
जबसम्म संसदीय पद्धतिले जरा गाड्दैन, तबसम्म लोकतान्त्रिक गणतन्त्र र संविधान सुरक्षित हुन सक्दैन भन्ने हाम्रो मान्यता हो ।
जतिखेर हामीले इकागज सुरु गर्यौँ, तत्कालीन अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चरम विग्रहको अवस्थामा थियो । तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका केही नेता व्यवस्थापन गर्न नसकी प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको विग्रहले संविधान र संसद् दुवैमा प्रहार शुरु भयो । प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले एकपटक होइन, दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि मुलुक अस्थिरताको दुष्चक्रमा फस्यो ।
विश्वमा एकै प्रधानमन्त्रीले एउटा प्रतिनिधि सभालाई दुई पटक विघटन गरेको सायदै अर्को उदाहरण भेटिएला । उनको कदमलाई सर्वाेच्च अदालतले दुई पटक नै ‘असंवैधानिक’ ठहर गर्यो ।
दुर्भाग्य नै भन्नुपर्छ कि यसरी पटक पटक संविधान उल्लंघन गर्ने व्यक्ति सामान्य सजायका भागीदारसमेत भएनन् । उल्टै निर्लज्ज ढङ्गले आफ्नो असंवैधानिक कामको बचाऊ गर्ने छुट पाइरहे । अब दल र संसदीय पद्धति दुवैविरुद्ध उभिने पात्रहरूलाई आउँदो चुनावमा मतदाताले बदला लिनुपर्छ । किनभने तिनलाई फेरि चुन्नु भनेको संसदीय पद्धतिलाई फेरि पनि अस्तव्यस्त पार्न निम्ता गर्नु हो । जबसम्म संसदीय पद्धतिले जरा गाड्दैन, तबसम्म लोकतान्त्रिक गणतन्त्र र संविधान सुरक्षित हुन सक्दैन भन्ने हाम्रो मान्यता हो ।
जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधि सभाविहीन अवस्थामा अध्यादेशको राज चल्यो र संवैधानिक अंगहरूलाई भर्तीकेन्द्र बनाइयो । संवैधानिक नियुक्ति होइन कि ‘अवैधानिक भर्ती’कै कारण संवैधानिक अंगका पदाधिकारीहरू सन्देहकै घेरामा छन् । यद्यपि तिनका निम्ति राज्यको ढुकुटीबाट सुविधामा ठूलै रकम खर्च गरिरहनु परेको छ । ती कर्म ‘अवैधानिक’ भएको निष्कर्षसहित हामीले सच्याउन हामीले निरन्तर दबाब दिइरह्यौँ ।
हामीले अनलाइन पत्रकारिता पनि विश्वसनीय र भरपर्दाे हुनुपर्छ भन्ने उद्देश्य राखेका छौं । त्यस निम्ति हामीले भरमग्दूर प्रयास पनि गरिरहेका छौं । हामीले शनिबार र ठूला चाडपर्वबाहेक नियमित सम्पादकीय तपाईंहरू सामु पस्किदै आएका छौंँ । हामीले सम्पादकीयमार्फत् समसामयिक विषय र घटनामा आफ्नो स्पष्ट दृष्टिकोण–अडान तपाईंहरू सामु राख्दै आयौँ । अनि हामीले ‘क्लिक–बेट’ शैलीबाट मुक्त रहने प्रयास पनि जारी राख्यौं ।
खासमा संविधानविरोधी र गैरकानुनी अपराधमा संलग्न पात्रहरूमाथि छानबिन गरी सजाय दिलाउने हो भने शासकीय वृत्तका धेरैजसो पात्रहरू जेलको चिसो खोरमा पुग्थे र पुग्छन् पनि । दुर्भाग्य नै भन्नुपर्छ, त्यस्ता शासकीय ‘खलनायक’ लाई बेलामै कारबाही नभएपछि कालान्तरमा अनौठो तरिकाले ‘नायक’ भएको खेल प्रदर्शन गर्छन् । अनि नागरिकहरू तिनै ‘खलनायक’लाई ‘नायक’ ठानी मत दिन्छन् । यस्तै दुर्भाग्यपूर्ण चक्रका कारण बारम्बार अक्षम व्यक्ति सत्तामा पुग्छन् र तिनले मुलुकलाई यथास्थिति वा त्योभन्दा गएगुज्रेको हालतमा पुर्याउँछन् ।
नेकपा विभाजन मात्र होइन कि पूर्व एमालेलाई समेत सग्लो राख्न नसक्नु ओली असफलताको पराकाष्ठा हो । ओलीले आफ्नो दलमात्र होइन, अन्य दलहरूलाई पनि फुटाउन खोज्ने तथा कमजोर बनाउने अनेकौं छलछाम, तिकडम र प्रपञ्च गरिरहे । प्रतिनिधि सभा विघटनका कारण झण्डै सात महिनासम्म मुलुकलाई अस्थिरताको भूमरीमा होमे । अस्थिरताबीच अनायास कांग्रेसको गठबन्धनमा सरकार बन्न पुग्यो । एमालेबाट एउटा समूह नचोटिएको भए सायद शेरबहादुर देउवालाई पाँचौँ पटक प्रधानमन्त्री हुने अवसर जुट्ने थिएन । तर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न नै ८८ दिन लाग्यो । यसले हाम्रा शासकहरूको प्राथमिकताको दुःखान्त तस्बिर प्रस्तुत गर्छ ।
उता सत्ताबाट बाहिरिएको झोँकमा एमालेलाई जसरी पनि यो प्रतिनिधि सभा ‘असफल’ गराएर छाड्नुछ । उसले अनेकन बहानामा प्रतिनिधि सभा चल्न दिएको छैन । जसले मूठभेडको राजनीति निरन्तर रहने खतरा नटरेको संकेत गर्छ ।
हामीले निरन्तर लेखिरह्यौँ कि अस्थिरता निम्तिनुमा व्यवस्थाको दोष होइन, दोष त राज्य–सञ्चालनको मौका पाएका पात्रहरूको खराब क्रियाकलाप हो । तिनले आफ्नो चरम अक्षमता र तुजुक ढाकछोप गर्न व्यवस्थालाई नै दोषी देखाएका हुन्, ‘नाँच्न जान्दैन आँगन टेढो’को शैलीमा ।
तिनीहरू व्यवस्थामा खोट देखाउँदै भ्रष्ट, असंवैधानिक र गैरकानुनी क्रियाकलाप खुलेआम ढाकछोप गर्ने प्रयत्न गरिरहन्छन् । तर पछिल्लो समय उनीहरूका यस्ता क्रियाकलापको ऐना देखाउने वा विरोध गर्नेहरूलाई राज्यकै संयन्त्र प्रयोग गरी दबाउनेदेखि दलीय कार्यकर्ता प्रयोग गरी निरुत्साहित गर्नेसम्मका काम गर्न थालेका छन् । पञ्चायतमा मण्डलेले ठ्याक्कै यस्तै चरित्र प्रदर्शन गर्ने गरेका थिए । अब त्यो मण्डले रूप सत्तारुढ दलले मात्र नभई हरेक दलले संस्थागत गर्ने होडबाजी चलाइरहेका छन् ।
एक वर्षे यात्राका क्रममा हामी आमनागरिकका आत्मा जोडिएको र राज्य संयन्त्रलाई ‘ट्रयाक’मा हिँडाउने प्रतिनिधि सभा पुनर्स्थापना र क्रियाशीलताका पक्षमा निरन्तर उभिइरह्यौँ । अझ प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा त हामी ‘मिसन पत्रकारिता’कै शैली अंगाल्न बाध्य भयौँ । त्यसरी प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा उभिँदा हामीविरुद्ध सत्तारुढ दल र तिनका कार्यकर्ताबाट सामाजिक सञ्जालदेखि आमसभाबाटै धम्की दिने कामसमेत भए, जुन अर्काइभमै सुरक्षित छन् । अझै पनि बेलाबखत हामीले त्यस्ता आक्रमण झेल्नु परिरहेकै छ ।
हरेक मुलुक इतिहासको जगमा अडिएको हुन्छ । अनि तिनै इतिहास लिपिबद्ध गर्दै खराब अभ्यास–कर्म दोहोरिन नदिने भूमिकामा पत्रकारिता क्षेत्रबाट खेल्नुपर्छ भन्ने मान्यतामा रहेर हामीले ‘इकागज डटकम’ सुरु गरेका थियौँ । खराब इतिहास दोहोरियो भने विध्वंश मात्र होइन कि मुलुक नै क्षतविक्षत हुने सम्भावना रहन्छ ।
हामी कहाँ आफ्नो स्वार्थपूर्तिका निम्ति हरेक किसिमका चर्का हत्कन्डा प्रयोग हुन्छन् अनि नागरिक पनि त्यस्ता भूमिगत र असंवैधानिक गतिविधि नै वास्तविक हुन् कि भन्ने भ्रममा पर्छन् । त्यहीकारण नेपालमा ‘वास्तविकता’को होइन कि ‘हल्ला’को जगजगी चल्दै आएको छ ।
अर्कोतर्फ, सामाजिक सञ्जालको दुरुपयोगले समाजमा बहसको स्तर पनि गिर्दै गएको छ । यसको सकारात्मक र रचनात्मक प्रयोगभन्दा पनि घृणा र अफवाह फैलाउने काममा प्रयोग गराउने काम नेतृत्व वर्गबाट नै हुँदै आएको छ, त्यो मुलुक र सामाजिकका निम्ति घातक छ ।
हामीले विगत सम्झाउन पञ्चायती व्यवस्थाका निरंकुश क्रियाकर्म, बहुदलीय व्यवस्था हुँदै लोकतन्त्रमा गणतन्त्रसम्मसम्मका तथ्यपरक विश्लेषण विज्ञ, भुक्तभोगी, अनुभवीहरूबाटै संकलन गरी सुरुकै दिनदेखि ‘३०–३०’ शीर्षकमा संष्लेषणात्मक खुराक पस्किने क्रम सुरु गरेका थियौँ । त्यो क्रम निरन्तर रहने विश्वास दिलाउँछौँ ।
विगतका अनुहार देखाएर शासन, प्रशासन, कूटनीति, अर्थतन्त्र, समाज सच्याउने हाम्रो प्रयत्नले केही न केही प्रतिफल देला भन्ने पनि हामीले विश्वास लिएका छौं । हामी कहाँ विगत बिर्सेर ओभानो बन्ने जुन किसिमको शैली देखिएको छ, त्यसले कतिपय सवाललाई विषयान्तर गरी मुलुकलाई संकटमा पार्ने प्रयत्न गरिँदैछ । यी विषयमा पनि हाम्रो खबरदारी जारी रहनेछ ।
हामीले अनलाइन पत्रकारिता पनि विश्वसनीय र भरपर्दाे हुनुपर्छ भन्ने उद्देश्य राखेका छौं । त्यस निम्ति हामीले भरमग्दूर प्रयास पनि गरिरहेका छौं । हामीले शनिबार र ठूला चाडपर्वबाहेक नियमित सम्पादकीय तपाईंहरू सामु पस्किदै आएका छौंँ । हामीले सम्पादकीयमार्फत् समसामयिक विषय र घटनामा आफ्नो स्पष्ट दृष्टिकोण–अडान तपाईंहरू सामु राख्दै आयौँ । अनि हामीले ‘क्लिक–बेट’ शैलीबाट मुक्त रहने प्रयास पनि जारी राख्यौं । अर्काे त, राज्यको स्रोत दोहोनविरुद्ध पनि प्रश्न उठाउने, राज्यका अंग र संयन्त्रभित्रका खराब कर्म ‘एक्सपोज’ गर्न पनि पनि कुनै कसर बाँकी राखेका छैनौं ।
हामीले एक वर्षका बीचमा जसरी पाठक, स्रोता, दर्शक, विज्ञापनदाताबाट अपार स्नेह र प्रेरणा पाएका छौँ, यसलाई हामीले उर्जाको रूपमा लिएका छौँ । यो उर्जा हामी अझ खँदिला विषय प्रस्तुत गर्न खर्चने वाचा पनि गर्दछौँ ।
यसबीचमा हामीबाट पनि असल नियतसाथ काम गर्दा गर्दै पनि भूलचूक भएका हुन सक्छन् । र, भएका पनि छन् । पाठकहरूले त्यस्ता गल्ती औंल्याइदिनु भएको छ, यसका लागि हामी पाठकप्रति आभारी छौँ । अबका दिनमा पनि ‘भूलचुक लिने–दिने’ क्रम हामीबीच चलिरहोस् भन्ने कामना पनि गर्दछौँ ।
अन्त्यमा, हामीलाई एक वर्षमा न्यायिक, प्रशासनिक र राजनीतिकलगायत समाजका गन्यमान्य लेखक–बुद्धिजीवीबाट आलेख, विचार उपलब्ध गराई सहयोग गर्नु भएकोमा यहाँहरूप्रति पनि आभार प्रकट गर्न चाहन्छौं । अब पनि तपाईंहरूको विचारसहितको सक्रिय सहभागिताबाट नै हामी अघि बढ्नेछौँ । अबका दिनमा पनि पाठक, स्रोता, दर्शक, विज्ञापनदाताहरूबाट अझ बढी सद्भाव प्राप्त हुने विश्वास लिएका छौं ।
अध्यक्ष : विनाज गुरुवाचार्य प्रधान सम्पादक : हरिबहादुर थापा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया