सम्पादकीय

सम्पादकीय

कांग्रेसलाई शुभकामना : लोकतन्त्रको लय र समाजवादको सुर अब तालमा होस्

इकागज |
मंसिर २४, २०७८ शुक्रबार ७:४३ बजे

मुलुक संघीयतामा प्रवेश गरेपछि पुरानो पार्टी नेपाली कांग्रेस आजदेखि चौधौँ महाधिवेशनमा होमिएको छ । देशभरबाट नेतृत्वकांक्षी नेताहरू काठमाडौंमा भेला भएका छन् । सहर कांग्रेसका झण्डाले रंगिएका छन् । महाधिवेशन थलो भृकुटीमण्डप उम्मेदवारका ब्यानरले भरिएका छन् । सामाजिक सञ्जाल पनि नेतृत्वकांक्षीहरूले भरिने नै भए । 

धेरैले भन्‍ने गर्छन् कि कांग्रेस अरु बेला अलि सुस्त देखिन्छ, तर चुनावका बेला चाहिँ अतिरिक्त सक्रिय हुन्छ । कांग्रेसको सक्रियता सधैँभरि यसरी नै देखिने हो भने पार्टीले अर्कै रूप लिने थियो । अरु बेला कांग्रेस हिउँदको दुबो झैँ शुष्क देखिन्छ, अधिवेशन-महाधिवेशनमा चाहिँ वर्षायामकै दुबोभझैँ मौलाउँछ । चुनाव महाधिवेशनको होस् कि संसदीय या प्रदेश-स्थानीय तह कांग्रेसीजनले राम्रै माहौल ल्याउने गर्छन् । 


अनि वास्तवमा यतिखेर कांग्रेसको आन्तरिक प्रतिस्पर्धामै धेरैले अनुभूति गर्दैछन्, चुनाव कांग्रेसको हो कि आमनिर्वाचनकाे ? हुन पनि कांग्रेसमा वडा तहदेखि नै नेतृत्व चयन रोचक हुँदै प्रदेशसम्मका गुटगत प्रतिस्पर्धा पनि आमनिर्वाचनकै भान दिने गुटगत शैली देखापर्‍यो । महाधिवेशन-अधिवेशन भनेको पार्टीका नीति-सिद्धान्त, लक्ष्य र आगामी बाटो तय गर्ने थलो हो । तर कांग्रेस नेता चयनमै बढी रुमल्लिएको आभास दिलाएको छ । 

अब आजदेखि सुरु महाधिवेशनमा पनि पार्टीको भावी यात्राको रेखा कोर्ने भन्दा भावी नेताहरू चयनतिरै केन्द्रित हुने निश्चित छ । झन् यसपालि ह्वात्तै पदीय संख्या थपिएपछि आकांक्षीहरूको भीड लाग्ने नै भयो । सीमित पदाधिकारी र सीमित केन्द्रीय सदस्य पद्धतिबाट फड्को मार्दै पदाधिकारी र केन्द्रीय सदस्य ठूलै संख्यामा निर्वाचित हुँदैछन् । अघिल्लो चोटि कांग्रेसमा ६४ पदमा निर्वाचन भएकामा यसपालि पदाधिकारी र सदस्य गरी १ सय ३४ पदका उम्मेदवार खडा हुँदा माहौल अर्कै बन्‍नेछ ।

कांग्रेस ‘यथास्थितिवाद’को भुंग्रोमा परेको आवाज चर्कैसँगै आएको छ । अनि हरेकजसो कांग्रेस नेता/कार्यकर्ता पार्टी गुट/उपगुटले थिलथिलो भएकामा चिन्ता पनि व्यक्त गर्छन् । महाधिवेशनका बेला प्रतिनिधिहरूलाई गुटवादी नेता र यथास्थितिवादी नेता, निष्क्रिय नेताहरूलाई ‘तह’ लगाउने या पन्छाउने ‘मौका’ मिलेको छ । सधैँभरि नेताहरूलाई ‘धारे हात’ लगाइरहनुपर्ने बाध्यताबाट फुत्किन आउँदो महाधिवेशनमा एउटा ठीक ‘चिनो’ तल-माथि गर्नेबित्तिकै फरक स्थिति पैदा हुन सक्छ । 

महाधिवेशनकै बेला हो, पार्टीको भावी यात्राको रणनीति तय गर्ने । तर दुर्भाग्य महाधिवेशनमा त्यसरी पार्टीको सिद्धान्त, नीति, व्यवहारबारे बहस हुने छाँटकाँट देखिन्‍न ।

यही महाधिवेशनमा किन त्यसरी बदला नलिने ? यो महाधिवेशनमा प्रतिनिधिहरूले त्यो मौका चुकाएको खण्डमा फेरि चार-पाँच वर्ष ‘धारे लगाउँदै’ समय व्यतित गर्नुपर्छ । त्यसो हुँदा भावावेश, आवेश र स्वार्थमा आधारित हुँदै नेतृत्व चयन गर्ने होइन कि पार्टीका निम्ति लडेका, खटेका र खट्न सक्ने व्यक्तिहरू खोज्‍न सकेको खण्डमा मात्र पार्टी जीवन्त हुन्छ । अनि पार्टीमा थाकेका, पाकेकाहरूलाई किनारा लगाउने अवसर महाधिवेशन नै हो । कांग्रेसका युवा नेता गगनकुमार थापाले भनेझैँ ‘यसैपालि पार्टी पुनर्जागरण र रूपान्तरण नगरे कहिले गर्ने ?’

अर्को त, महाधिवेशनकै बेला हो, पार्टीको भावी यात्राको रणनीति तय गर्ने । तर दुर्भाग्य महाधिवेशनमा त्यसरी पार्टीको सिद्धान्त, नीति, व्यवहारबारे बहस हुने छाँटकाँट देखिन्‍न । यद्यपि केही नेताहरूले व्यक्तिगत तहमा अवधारणापत्र सार्वजनिक गर्ने क्रम पनि बढाएका छन् ।

मुलुकको पुरानो र नेतृत्वदायी पार्टीका हैसियतमा रहेको कांग्रेसले मुलुकले सामना गर्नुपरेको समस्या, द्विविधा, खलबलिएका राज्य संरचना, संस्थाहरूको क्षयीकरणका विषयमा महाधिवेशनमै गहन छलफल गरी ठोस निर्णय लिनुपर्ने थियो । लोकतन्त्रका हिमायती पार्टी भएपछि लोकतन्त्रविरुद्ध हरेक खाले चलखेल चिर्न अपनाउनुपर्ने रणनीतिमा घोत्लिनुपर्ने हो । दुई वर्षयता संसद्, संसदीय अभ्यास छिन्‍नभिन्‍न अवस्थामा छ । संसद्ले जीवन्त हुँदै काम नगर्ने हो न लोकतन्त्र संस्थागत हुन्छ, न संघीयता, न संविधान, न गणतन्त्र नै । 

झन् यतिखेर अतिवादी धार अनेक रूप-आवरण र भावभंगीमा उदाउन खोज्दैछन् । तिनीहरूले ‘अतिवादी’ बाटो लिँदा त्यसले लोकतन्त्र र संविधानमाथि प्रहार गर्छ । लोकतन्त्र धरापमा पर्‍यो भने त्यसको मार कांग्रेसले पनि खान्छ नै । अनि इतिहासमा सबैभन्दा धेरै मार खाने र बेहोर्ने भुक्तभोगी पार्टी पनि कांग्रेस नै हो । मुलुकको राजनीति, शासकीय यात्रा असंगतिबीचमा छ ।

कांग्रेसको महाधिवेशनले नेतृत्व मात्र होइन कि असंगतिमा संगति खोज्दै सहज यात्राका निम्ति खाका कोर्नुपर्छ । कांग्रेस महाधिवेशनले राजनीतिमा आशावादी माहौल सिर्जना गरोस्, हाम्रो शुभकामना ।


Author

थप समाचार
x